कक्षा ११ को छात्रवृत्ति परीक्षाको परीक्षाफल आज



 काठमाडौँ ।

 काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११को छात्रवृत्ति परीक्षाको परीक्षाफल भोली आइतबार बिहानैसम्म प्रकाशित हुनेछ । कामपा शिक्षा विभागले उच्च प्रविधिमा आधारित परीक्षण गरेकोले शनिबार मध्यरात वा आइतबारभित्र परीक्षाफल प्रकाशित भइसक्ने कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले बताए ।

 उनका अनुसार कम्प्युटर प्रबिधिबाटै उत्तरपुस्तिका परीक्षण गर्दा रातीसम्ममा परीक्षाफल प्रकाशित भैसक्नेछ । विभागले भोली आइतबार परीक्षाफलप्रति चित्त नबुझेमा निवेदन दिने र पुनर्योग गर्ने, सोमबार म्याचिङ गरी भर्ना गर्न विद्यालयको लिष्ट सार्बजनिक गर्ने,सोहीदिन मेरिटको आधारमा भर्नाहुन चाहेका विद्यार्थीले विद्यालय छनौट गर्ने र बुधबारभित्र भर्ना गरिसक्नेगरी तयारी थालेको छ । आज १५ परीक्षा केन्द्रमा परीक्षा भएको थियो ।

  परीक्षामा ६ हजार १७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार जतिले परीक्षा दिएको अनुमान छ । आवेदन दिनेमा सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १ सय ५५ जना छन् । व्यवस्थापनमा १ हजार ४ सय ८४ जना र प्राविधिक विषयमा २ सय ४५ जनाले आवेदन दिएका थिए  ।

 विभागका अनुसार सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जनाले मात्र आवेदन दिएका थिए । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थीले आवेदन दिएको विभाग प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएको शिक्षा विभागले जानकारी दियो । परीक्षामा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नहुने महानगरले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस्