मनाङ एयर दुर्घटना : पाँच जना विदेशीसहित ६ जनाकै मृत्यु



काठमाडौँ।

सोलुखुम्बुको लामजुरा क्षेत्रमा मंगलबार मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना मेक्सिन नागरिक र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको सोलु प्रहरीले जनाएको छ ।

मंगलबार बिहान १० बजेर ५ मिनेटमा खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्के हेलिप्याडबाट काठमाडौँतर्फ उडेको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ को सीमावर्ती लिखुपिके गाउँपालिका–५ लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनास्थलमा शवहरू यत्रतत्र छरिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगिसकेको त्यहाँ शव संकलनको कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टरमा मेक्सिकन नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस सवार रहेका थिए । उनीहरू मध्ये एक जनाको शव पहिचान गर्नै नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मंगलबार दुर्घटनामा परेका पाँचै जना मेक्सिकन आइतबार मात्रै भारतको इन्दिरागान्धी विमानस्थल ट्रान्जिट भएर काठमाडौं आएका थिए ।

उनीहरु नेपाल घुम्न १५ दिनको भिजिट भिसामा आएका थिए । एयर इन्डियामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको हो । आइतबार काठमाडौंमा बसेर उनीहरु सोमबार मनाङ एयरको हेलिकोप्टरमार्फत सोलुखुम्बुको लुक्ला पुगेका थिए। उनीहरु माउन्टेन फ्लाइटका लागि लुक्ला गएका थिए । सोमबार लुक्लामै बसेका उनीहरु मंगलबार काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्