हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न



काठमाडौँ।

नेपाली सैनिक वार कलेजमा २०७९ चैत्र १ देखि संचालन हुँदै आएको सि.सं.११ हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले आज (सोमबार) एक कार्यक्रमकाबीच सो तालिमको समापन गर्नु भएको हो ।

समापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधान सेनापति शर्माले सफलतापूर्वक तालिम सम्पन्न गर्नु भएकोमा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाइ दिनु भयो । उहाँले यस तालिमले शिक्षार्थीहरुलाई थप व्यवसायिक एवम् परिष्कृत बनाउनुका साथै अपरेशनल तहको कमाण्डर तथा स्टाफको हैसियतले रणनैतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्ने र तल्लो तहका कमाण्डरहरुलाई उक्त मार्गमा डोर्‍याउने गहन जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सक्षम तुल्याउने बताउनु भयो ।

प्रधान सेनापतिले शिक्षार्थी अधिकृतहरुले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरुमा आफ्नो वृत्तिविकास र संस्थागत हितको लागि सामुहिक भावनाका साथ सदुपयोग गर्ने विश्‍वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको समापन कार्यक्रममा कलेजका शिक्षाधिकृत उपरथी श्री सहदेव खड्‍काले स्वागत मन्तव्य राख्‍नु हुँदै तालिमको बारेमा जानकारी गराउनु भएको थियो ।

महिला-१ र पुरुष-३२ गरी जम्मा ३३ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको यस तालिममा समग्रमा महा सेनानी वसन्त बहादुर गौतम प्रथम (बेस्ट स्टुडेन्ड अफिसर)) हुनु भएको छ । त्यस्तै, व्यक्तिगत शोधपत्र ( इन्डिभिज्युअल रिसर्च पेपर) तर्फ महा सेनानी सुवास के.सी. र महा सेनानी बसन्त बहादुर गौतम संयुक्त रुपमा प्रथम हुनु भएको छ ।

हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि संचालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा संचालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा ३०५ जना अधिकृत प्रशिक्षित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्