बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाइते



बैतडी ।

बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका-७ स्वाखानी पिपलको रुख नजिक दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पञ्चेश्वर नगरपालिका-६ रनपोलीका अन्दाजी २८ वर्षीय उमेश भण्डारीको उपचारका क्रममा केशरपुर प्राथमिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये २६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

उनीहरूलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ। बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। प्रहरीका अनुसार बस अनियन्त्रित भइ सडकबाट झन्डै चार सय मिटर तल खसेको हो।

चालकको अवस्था मध्यम छ। दुर्घटनाका घाइतेहरूको विवरण संकलनको काम भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्