ललितानिवास प्रकरणमा थप ३ पक्राउ



काठमाडौं ।

ललितानिवास जग्गा घोटाला प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसहित ३ जनालाई पक्राउ गरेको छ ।

ब्युरोले आइतबार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको हो ।

राउत माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृतको रूपमा कार्यरत रहनुभएको थियो । राउतले समरजंग कम्पनीका नाममा रहेको जग्गा मोही र बिचौलियालाई दिने निर्णय गराएको पाइपछि ब्युरोले पक्राउ गरेको हो ।

सचिव राउतलाई काठमाडौंबाट विराटनगर जान लागेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

ब्युरोले सचिव राउतको पक्राउको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्य सचिवलाई समेत जानकारी गराएको छ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरी उनीहरूलाई पक्राउ शुरू गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने काममा संलग्न रहेको भन्दै ब्युरोले सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पनि पक्राउ पुर्जी गरेको छ ।

११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दानम्बर २४ मा २०९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसै गरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको ब्युरोले दाबी गरेको छ ।२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्