मर्निङवाकमा हिडेका महिलाहरुको सुनका गरगहना लुटपाट गर्दै आएको गिरोह पक्राउ



काठमाडौ ।

राजधानीमा ऋंखलावद्ध रुपमा चोरी गर्दै आएको एउटा समूहलाई प्रहरीले  पक्राउ गरी सार्वजनिक गरेको छ ।

सो समूहले विशेष गरी मर्निङवाकमा हिडेका महिलाहरुको सुनका गरगहना लुटपाट गर्दै आएको गिरोहलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
महाशाखाको टोलीले उक्त लुटपाटमा संलग्न रहेको अभियोगमा रविन दमाई, उमेश क्षत्री, रविन विक र राहुल माझी रहेका छन । राजधानीमा असारको पहिलो सातादेखि एउटै प्रकृतीको चोरीका घटना बढेको भन्दै गुनासो आएपछि महाशाखाले अनुसन्धान शुरु गरेको थियो ।

असार १ देखि २० गते सम्म भएका ८ वटा लुटपाटका घटना एउटै प्रकृतीको भएको पाइएपछि यसलाई सुष्म रुपले अनुसन्धान गर्दा चोरीका घटनामा संलग्न रहेकाहरु पक्राउ परेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

सो गिरोहले असार १ गते कपुरधारमा मर्निङवकामा निस्कनु भएकी रमा पाण्डेको सिक्री लुटेका थिए । सो सिक्री लुटपाटमा २ जनाको संलग्नता रहेको थियो ।

उनीहरुले ८ वटा घटनामा एउटै मोटरवाईक प्रयोग गरेको पनि पत्ता लागेको महाशाखाले जानकारी दिएको छ । महाशाखाले मोटरसाइकलमा आएका लुटेराले लुटपाट गरेको पत्ता लागेपछि सिसिटिभीको सहायताले चोरीमा संलग्न रहेकाहरु पक्राउ परेको पनि महाशाखाले जानकारी दिएको छ ।

सोही दिन गिरोहमा संलग्न रहेका अन्य दुई जनाले ग्राण्डी अस्पताल नजिकै कपुरधाराकै शैलीबाट लुटपाट भएको पनि महाशाखाले पत्ता लगाएपछि चोरीमा संलग्न रहेको गिरोहको खोजीलाई तीव्र बनाएको थियो ।

सो समुहले असार ३ गते पनि दुई दिन अघि कै शैलीमा नागार्जुन नागरपालिका–३ बुद्धचोकमा एक महिलाको सिक्रि लुटपाट गरेका थिए ।

प्रहरीले राजधानीमा भएका लगातारको लुटपाटका घटनाको प्रकृती एउटै र मोटरसाईकल पनि एउटै भएको पत्ता लागेपछि उनीहरुको हुलिया पहिचान गर्ने तर्फ अग्रसर भएको थियो ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान जारी गरिरहेकै बेला सो समुहले असार १३ गते टोखामा नै अर्को लुटपाटको घटना गराउन सफल भएको थियो ।

सो समूहले टोखाकी मंगली डंगोलको घाटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको थियो । प्रहरीले सो टोलीको खोजीलाई तीव्र बनाएको भएपनि सो समुहले असार १९ गते टोखामा नै मनिङवाकमा निस्कनु भएकी गंगा मगरको घांटीको सिक्री लुटेर भएका थिए ।

सो गिरोहले ललितपुरको वंगलामुखीमा कान्छी श्रेष्ठको सुनका गहना लुटपाट गरेका थिए । सोही गिरोहले असार २० गते टोखामा नै शेर्पा पेट्रोल नजिकबाट रिता श्रेष्ठलाई मोटरसाइकलमा आएका दुई युवाले घांटीमा लगाएको सुनको सिक्री लुटपाट गरेर फरार भएका थिए ।

प्रहरीको खोजीको सूचीमा परेको सो समुहले सोही दिन चागल डल्लुमा सरस्वती डंगोललाई लुटपाट गरेको थियो । सबै घटना एउटै प्रकृतीको तर लुटेरा समुह पक्राउ नपर्दा प्रहरीको टाउको दुखाई बनेको थियो ।

प्रहरीले लुटपाट भएको क्षेत्रको सिसिटिभी फुटेजलाई बिश्लेषण गर्ने क्रममा लुटपाटमा संलग्न रहेका मध्ये एक जनाको अनुहार पहिचान भएपछि प्रहरीले लुटपाटमा संलग्न रहेका मध्ये रविन दमाइलाई पक्राउ गर्न सफल भएपछि दमाइकै बयानको आधारमा अन्य लुटेलाई पक्राउ गर्न सकिएको एसएसपी केसीले जानकारी दिनुभयो ।

प्रहरीले ८ ठाउंमा नै लुटपाट भएको सुनका गरगहना फिर्ता ल्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्