दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क बनाइन्छ : स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताउनुभएको छ।

सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ । अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”

मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उहाँले यसबाट हजाराँै सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको छ भन्नुभयो ।

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा स्वास्थ्योपचारलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । व्यवहारमा त्यो छैन, अहिले पनि धेरै मानिसलाई अस्पताल पुग्न चुनौती छ, उपचार महँगो छ, औषधी पाइन्न । पाए पनि किन्न सकिन्न । पैसा नभएर उपचार नगरी घर फर्कनुपर्ने बाध्यता पनि छ ।”

नशा र जोर्नीसम्बन्धी उपचारमा थेरापी पद्धतिलाई गाउँ–गाउँमा पुर्याए औषधि नै प्रयोग गर्नपर्ने अवस्था भए विजेन नेपाल धेरैको भाग्यविधाता बन्न सक्ने बताउँदै उहाँले प्रत्येक व्यक्तिलाई स्वास्थ्य हुन एक घन्टा शारीरिक व्यायाम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।