मन्त्री हुन् तीर्थ जस्तो विपक्षीबाट समेत कार्यशैलीको प्रशंसा



काठमाडौँ। 

बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको कार्यशैलीको प्रशंसा भएको छ । बजेट माथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलका सांसदले समेत न्यायपूर्वक बजेट विनियोजन गरेको भन्दै उहाँको प्रशंसा गरेका हुन् ।

नेकपा एमालेको तर्फबाट अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रहनुभएका केशवप्रसाद पोखरेलले विपक्षीका योजना मागेरै समेटेको भन्दै प्रशंसा गनुभएको हो । ‘खानेपानी मन्त्रीको सचिवालयले तपाईका प्राथकिताका केही योजना दिनुस् भनेर आफै माग्नुभयो, केही परेका छन्, क्रमागत योजना केही छुटेका छन्,’ उहाँले भन्नुभयो, ‘कम्तीमा उहाँहरुले त्यति गर्नुभएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

अघिल्लो कार्यकालमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति रहेकी एकीकृत समाजवादीका सांसद रमा आलेमगरले व्यक्तिगत रुपमा समन्वय गरेर बजेट विनियोजन गरेको भन्दै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा र मन्त्रालयलाई धन्यवाद दिनुभयो । अन्य मन्त्री र मन्त्रालयले समविकासमा ध्यान नदिएको भन्दै त्यसले अर्थ नदिने प्रतिक्रिया दिनुभयो ।

सिन्धुलीकी एमाले सांसद सुकुमाया तामाङले अन्य मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट लगभग ‘शून्य’ भएपनि खानेपानी मन्त्री र उहाँको सचिवालयले सोधेरै योजनामा बजेट विनियोजन गरेको भन्दै प्रशंसा गर्नुभयो । एमाले भक्तपुरकी सांसद सकुन्तला श्रेष्ठले विपक्षीबाट बधाई खाने मन्त्री तीर्थ लामालााई मनैदेखि धन्यवाद दिएको बताउनुभयो । ‘मैले ६ वटा मन्त्रालयमा योजना पेस गरेको थिए, खानेपानी मन्त्रालय बाहेक अरु कुनै मन्त्रालयमा योजना परेन’ उहाँले भन्नुभयो, ‘मैले पेस गरेका २ वटै योजना सम्बोधन गरिदिनु भएकोमा मन्त्रीलाई धन्यवाद ।’ एमाले सिन्धुपाल्चोककी सांसद माइली तामाङले ६ वटा योजना पेस गरेकोमा खानेपानी मन्त्रीले ६ नै वटा योजना समावेश गरिदिएको भन्दै प्रशंसा गर्नुभयो ।

दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मोनिका श्रेष्ठले मन्त्रीहरुमध्ये खानेपानी मन्त्रीले योजना समावेश गरिदिएको भन्दै धन्यवादको पात्र भएको बताउनुभयो । कांग्रेसबाट निर्वाचित धादिङका मधुकुमार श्रेष्ठ, उर्मिला नेपाल लगायतले बजेट विनियोजन गर्ने मन्त्रीको शैलीको प्रशंसा गरेका थिए ।

नेपाली कांग्रेस काभ्रेका सभापति रहनुभएका प्रदेश सभा सदस्य  लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा  काभ्रे क्षेत्र नं १ मा काँग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित हुनुभएको उहाँ संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भूमिका निर्वाह गरिसक्नुभएको । कम्युनिस्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उहाँ काँग्रेसको पहिलो उम्मेदवार हुनुहुन्छ । २०६४ सालको निर्वाचनमा काँग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उहाँ १२ हजार भन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्