खडक वारियर्सलाई लिग उपाधि



राजविराज । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रो पटक लिग उपाधि जितेको हो । पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा कन्चनरुप राइनोजलाई खडकले ६ विकेटले हराएको हो । कन्चनरुपले दिएको १ सय ४६ रनको लक्ष्य ३ बल बाँकी राखी खडकले पाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले शानदार ब्याटिङ देखाए । सुश्लिंगले अविजित ४६ रन बनाएर टोलीको उपाधि सुनिश्चित गरेका थिए । उनले ३३ बलमा ४ चौका र २ छक्का प्रहार समेत गरे । साथै उनी पाँचौ विकेटको लागि बिबेक यादवसंग ३० रन, छैठौं विकेटको लागि दिनेश अधिकारीसंग ३६ रन तथा सातौँ विकेटको लागि अनिल यादवसंग अविजित २२ रनको साझेदारीमा भागीदारी बने ।

रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा ८ बलमा जित्न २० रन आवस्यक थियो । सो अवस्थामा राशिद खानले गरेको १९ औं ओभरको अन्तिम २ बलमा अनिलले लगातार २ चौका प्रहार गरे । अन्तिम ओभरमा १२ रन आवस्यक रहंदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

खडक वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए । कन्चनरुपको बलिंगमा चित्र बिस्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १÷१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुपले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए ।

खडक वारियर्सको बलिंगमा कप्तान बिबेक यादवले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए । गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १÷१ विकेट लिए ।

खडक वारियर्सले तिन लाख रुपैयाँ हात पारेको छ । उपविजेता कन्चनरुपले एक लाख पचास हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित कन्चनरुपका राशिद घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृस्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृस्ट बलर खडक वारियर्सका दिनेश अधिकारी घोषित भए । उनीहरुले समान १५ हजार रुपैयाँ पाए । यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्