संसद्मा हुने निरर्थक गफबारे मेरो संक्षिप्त विचार



प्रधानमन्त्री चारदिने अति महत्वपूर्ण, संवेदनशील एवम् बहुचर्चित विदेश (भारत) भ्रमण सकेर संसद्मा आएका छन् ।

यस्तोमा संसद्भित्र प्रमको भ्रमणको उपलब्धि के ? के–कस्ता सन्धि, सम्झौता र सहमतिहरू भए ? देशको उद्योग, व्यापार र पर्यटनमा टेवा पुग्ने के–के कुराहरू गरिए ? नदी-बाढी नियन्त्रणमा के–कस्ता छलफल र सहमति भए ? सीमा, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषिजस्ता स्वाभिमान एवम् विकासमुखी विषयहरूमा के–कस्ता उपलब्धिका सम्भावनाहरू पहिल्याइए ? त्यसबारे चर्चा र विवेचना हुनुको सट्टा भ्रमणका क्रममा कसले के लुगा लगाए ? कहाँ पुजा गरे ? कसलाई कहाँ उभ्याए ? प्रोटोकलमा कहाँ के बिराए ? कहाँ के नाच देखाए ? यस्ता–यस्ता गसिपमा संसद्को सत्र खर्चिन्छन् हाम्रा सांसद र वरिष्ठ नेताहरू ! कोही सिङ न पुच्छरको कुरामा पनि उधुम उफ्रेर आफूलाई खुंखार क्रान्तिकारी एवम् राष्ट्रवादी राष्ट्रचिन्तक साबित गर्न हतारिन्छन् ।

यो सब देख्दा कहिलेकाहीँ उदेक लागेर आउँछ, संसदमा यस्तै हुने हो भने यस्तो संसद् चाहिन्छ र ? यति सांसद चाहिन्छ र ? यी सांसदहरूले खाने राष्ट्रको नुनको सोझो गर्ने गरेका छन् र ? संसद्भित्र र बाहिरका यस्तै गतिविधि र खिसिट्याउरीले गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्ने गरेका छन् ।

काम छैन भने बरु आ–आफ्नो निर्वाचन क्षेत्रतिर जानुस्, जनताका पिरमर्का सुन्नुस्, दीर्घकालीन महत्वका विकास निर्माणका सम्भावनाहरूबारे छलफल गर्नुस् । तर गरिब नेपालीले तिरेका करबाट तलबभत्ता र सुविधा खाएर खिसिटिउरी र ख्यालठट्टामा समय नगुमाउनुस् ।
– सी.एन. खड्गा, लोसपा नेपाल ।

प्रतिक्रिया दिनुहोस्