कांग्रेसको नेतृत्वमाथि चुनौती- युवा नेताहरूद्वारा विशेष महाधिवेशनको माग



काठमाडौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेका युवा नेताहरूले नेतृत्वमाथि चुनौती दिँदै विशेष महाधिवेशनको माग गरेका छन् । पार्टी संगठनको जिम्मेवारीभन्दा बाहिर रहेका युवा नेताहरूले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको मागसहित ‘रूपान्तरित कांग्रेस’ अभियान प्रारम्भ गरेका हुन् ।

तेस्रो तहका नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे, रञ्जित कर्ण, सुवास पोखरेल, भुपेन्द्रजंग शाहीलयायत नेताहरूले यो अभियानको नेतृत्व गर्दै देशव्यापी रूपमा लैजाने बताएका छन् । उनीहरूले अभियानलाई वडादेखि डायस्पोरा (अन्तर्राष्ट्रिय सञ्जाल) सम्म लैजाने घोषणा गर्दै विशेष महाधिवेशनमार्फत् ‘चाल, चरित्र र चेहरा’ परिवर्तन गर्नुपर्ने उद्घोष गरेका छन् ।

कांग्रेसमा महाधिवेशन भएको १७ महिना पुगिसक्दा पनि विधान अधिवेशन हुन सकेको छैन । महाधिवेशन भएको ६ महिनामा गर्नुपर्ने विभाग गठन भएको छैन भने प्रत्येक २ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठकसमेत नियमित भएको छैन । पदाधिकारी र कार्यसम्पादन समितिको बैठकबाटै पार्टीले गर्नुपर्ने महत्वपूर्ण निर्णयहरू ग्रिरहेको छ । केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार केन्द्रीय समितिको बैठक नबसेको ९ महिना पुग्न लागेको छ । सभापति शेरबहादुर देउवानिकट मानिएका महरले पार्टी पदाधिकारी र कार्यसम्पादनको बैठकबाट भएका निर्णयहरू अवैधानिक भएको टिप्पणी गर्दै उक्त निर्णयले पार्टीलाई थप क्षति पुगेको गुनासो गर्दै आउनुभएको छ ।

त्यस्तै, तीन–तीन वर्षमा नियमित अधिवेशन गरी नयाँ नेतृत्व हस्तान्तरण गर्दै नेता जन्माउने पार्टीका भ्रातृसंगठनहरू १० वर्षभन्दा बढी समयदेखि अधिवेशन हुन नसक्दा गुमनाम छन् । पार्टीको ‘नर्सरी’ र ‘पिल्लर’का रूपमा परिचित नेविसंघ र तरुणदल वर्षांैदेखि तदर्थवादमा चलेका छन् । पार्टी नेतृत्वले यी संगठनहरूलाई कब्जामा लिएर राखेको नेताहरूको गुनासो छ ।

कांग्रेसलाई जनताको भरोशायोग्य बनाउन सभापति शेरबहादुर देउवा मात्रै नभएर युवा नेताका रूपमा पहिचान बनाएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेतले भूमिका खेल्न नसकेको अभियानका एक नेता भुपेन्द्रजंग शाहीले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले पार्टीका जिम्मेवार तहमा बसेका सबै नेताहरूलाई च्यालेन्ज दिँदै अभियान तय गरेका युवा नेताहरूले वडा तहसम्म पुगेर सुझाव लिने र सोही सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।

अभियानअन्तर्गत यही जेठ ११ गतेदेखि प्रदेशस्तरीय बृहत् भेला तथा अन्र्तक्रिया आयोजना गरिने कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिनुभयो । ‘कांग्रेस रूपान्तरणको अभियानअन्र्तगत हामीले सातै प्रदेशस्तरीय र डायस्पोरा भेला तय गरेका छौं’, उहाँले भन्नुभयो ‘यो अभियानबाटै रूपान्तरिक कांग्रेसको सपना देखेका छौं ।’ अभियानअन्तर्गतको जेठ ११ मा मधेस प्रदेशको राजधानी जनकपुरमा, जेठ १६ मा वागमती प्रदेशको काठमाडौंमा, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय बृहत् भेला तथा अन्तक्र्रिया कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यस्तै, जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोसी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुनेछ भने जेठ ३१ गते जुममार्फत डायस्पोराको भेला हुने बताइएको छ । उक्त भेला र अन्तक्रियाबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम तय गरिने भएकाले यो अभियानबाटै कांग्रेसको रूपान्तरण सम्भव हुने कोसी प्रदेशका संयोजकसमेत रहेका अभियानका नेता गुरुराज घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेसलाई व्यक्ति केन्द्रित नभई लोकतान्त्रिक अभियानका रूपमा विकास गर्दै लैजानुपर्ने हो । तर, सधैं व्यक्ति वरिपरि पार्टी घुमिरहने प्रवृतिको अन्त्य भएन । त्यसैले कांग्रेसमा समयअनुकूल नीति, नीतिअनुरूप रणनीति तय गर्न, संरचनागत सुधार गर्न, भ्रातृ संस्थाहरूलाई पुनर्जीवन दिन, क्षमताको परीक्षण र अवसरको समानताका लागि दबाब दिन बृहत् अभियान चलाउने पार्टीभित्रकै अभियन्ताहरूले सामूहिक निर्णय गरेका हौं ।’

निर्वाचन पाखुरा र पैसाको घेराभित्र थिचिँदै आएको टिप्पणी गर्दै उहाँले पार्टी रूपान्तरणसँगै वर्तमान निर्वाचन प्रणालीलाई समेत परिवर्तन गर्नुपर्ने बताउनुभयो । पार्टीलाई रूपान्तरण गर्ने विषयमा बाहिरबाट केन्द्रीय समिति र केन्द्रीय समितिबाट उहाँले नेतृत्वलाई पटकपटक ध्यानाकर्षण गर्दा पनि सुधारको संकेत नदेखिएकाले कांग्रेस सुधारको देशव्यापी अभियान प्रारम्भ गरेको बताउनुभयो । अभियानका अर्का नेतृत्वकर्ता देवराज चालिसेले पटकपटक नेतृत्वमा पुगेका नेताहरूलाई सम्मानजनक बिदाइ र विधानअनुसार पार्टीलाई अघि लैजाने कुरामा संघर्ष नगर्दा कांग्रेस खाल्टोमा खस्ने देखेर इमान्दार कार्यकर्ताको हैसियतले यो अभियानमा जोडिएको बताउनुभयो । पार्टी र मुलुकको समृद्धिको हकदार पार्टीमा लागेका सबै व्यक्तिहरू हुने भएकाले व्यक्ति केन्द्रित राजनीतिबाट माथि उठेर कांग्रेस निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ ।

जनताको कांग्रेस, लोकप्रिय कांग्रेस र सबै गुटहरू भत्काएर रूपान्तरित कांग्रेस बनाउने अभियानमा पार्टी सभापतिको समेतको सहयोग प्राप्त हुने रूपान्तरिक कांग्रेस अभियानमा सहभागी नेताहरूले बताएका छन् । यसका लागि जिल्ला जिल्लाबाट कार्यकर्ताहरू स्वस्फूर्त अभियानमा लाग्न थालेको बताइएको छ । उनीहरूले सात प्रदेश र डायस्पोरा समेत गरी आठ नेतालाई सम्बन्धित तहको संयोजकसमेत तोकेका छन् । जसअनुसार कोसी प्रदेशमा गुरुराज घिमिरे, मधेस प्रदेशमा रञ्जित कर्ण, वागमतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा डा. गोविन्दराज पोखरेल, कर्णलीमा भुपेन्द्रजंग शाही, सुदूरपश्चिममा भरत खड्का र डायस्पोरामा सुवास लोहनीलाई कार्यक्रमको संयोजक तोकिएको अभियानका नेता रञ्जित कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्