चिनियाँ जनमुक्ति सेनाको तर्फबाट वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन प्रदान



काठमाडौँ।

छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा अत्याधुनिक एमआरआई (म्याग्नेटिक रिसोनेन्स इमेजिन) मेशिन जडान भएको छ । एमआरआई मेशिन जनबादी गणतन्त्र चीन सरकारबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको हो।

उक्त्त मेशिन औपचारिक रुपमा हस्तान्तरणका लागि आयोजित समारोहमा नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङ र प्रधान सेनापति प्रभुराम शर्माले एमआरआई मेशिन जडित कक्षको संयुक्त रुपमा उद्‍घाटन गर्नुभयो ।

यसबाट नेपाली सेनामा प्रविधिमा आधारित स्वास्थ्य उपचार सुविधाको विस्तारमा ठूलो उपलब्धि हासिल भएको नेपाली सेनाले जनाएको छ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्‍याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्नुभयो । नेपाली जनता तथा चिनियाँ जनताहरुबीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्नुहुँदै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भूकम्प पश्चातको उद्धार तथा पुन:निर्माण प्रयासहरुका साथै कोभिड-१९ महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने बताउनुभयो ।

सोही आवसरमा आफ्नो मन्तव्य राख्‍नुहुँदै चिनियाँ राजदूत चेन सोङले नेपाल चीनको एक असल छिमेकीका रुपमा रही आएको बताउदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्‍नता व्यक्त गर्नुभयो । उहाँले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।

वीरेन्द्र अस्पतालमा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्