स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन



काठमाडौं । रोल्पामा जेल्वाङस्थित स्वास्थ्यचौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो ।

सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियान्ता खटाइएको छ ।

हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्यचौकी अव्यस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरुले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका वालकुमार पुनले बताए ।

विकासमा जनताको सहभागिता भए अपनत्व पनि बढ्ने भएकाले अभियान दीर्घकालीन सोचका साथ अघि सारिएकोे पुनको भनाइ छ ।

भवन निर्माणका लागि जग्गा खरिद र अन्य व्यवस्थापनका लागि रु १३ लाख ५० हजार खर्च भएकाले उक्त सहयोग अभियान थालिएको अभियानका संयोजक आशबहादुर पुनमगरले जानकारी दिए । सो गाउँले यसअघि रोल्वाङ मावि जेल्वाङको लागि पनि १६ लाखभन्दा बढी रकम चन्दा सङ्कलन गरेको थियो ।

उक्त स्वास्थ्यचौकीबाट पाँच १० परिवारले नियमति सेवा लिने गरेका छन् । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु एक करोड ४० लाख विनियोजन गरेका छन् । सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन् । -रासस

प्रतिक्रिया दिनुहोस्