स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो



काठमाडौँ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो स्थानमा कृत्रिम फोक्सो राखेको हो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले वायु प्रदूषणका कारणले फोक्सोलाई कति असर गर्दछ भन्ने जानकारी गराउन र सचेतना फैलाउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखिएको बताए । उनले दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युका कारणमध्ये एक रहेको र यसबाट लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणले हुने गरेको जनाउँदै वायु गुणस्तर खस्कँदै गएकाले वायु प्रदूषण कम गर्न चेतना फैलाउन कृत्रिम फोक्सो राखिएको बताए ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले वायु प्रदुषणसँगसम्बन्धी कानुनलाई कडाइका साथ पालना गरेर उपत्यकाको वायु प्रदूषण घटाउनुपर्ने बताए ।

उपत्यकामा चल्ने पुराना गाडी र इँटाभट्टाले धेरै नै वायु प्रदूषण गराउने उनको भनाइ थियो । कार्यक्रम विश्वस्वास्थ्य सङ्गठन नेपालका प्रमुख राजेश पाण्डवले वायु प्रदूषणले फोक्सोमा असर गरिरहेकाले त्यसबारे जानकारी गराउन कृत्रिम फोक्सो राखिएको बताए ।

कार्यक्रममा एफएचआइ तीन सय ६० नेपालका प्रमुख भगवान श्रेष्ठले वायु प्रदुषणले स्वास्थ्यमा ठूलो समस्या आएकाले सचेतना फैलाउन आवश्यक रहेको बताए ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो दैनिक वायु प्रदूषणले कति खराब हुन्छ भन्ने देखाउने बताए ।

उनले कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणका समयमा सकेसम्म घर बाहिर ननिस्कनेलगायत सचेतना फैलाइने जानकारी दिए ।

मन्त्रालयको मूलद्वारमा एकातिर रातो रङ्ग स्वस्थ फोक्सो र अर्काेतिर सेता रङ्गको कृत्रिम फोक्सो राखिएको छ । दैनिक वायु प्रदूषणले सेता कृत्रिम फोक्सोलाई कसरी असर पर्दछ भन्ने देखाइनेछ । “तीस दिनको अवधिमा मन्त्रालयको मूलद्वारमा राखिएको जोडी फोक्सोेको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउने छ”, उनले भने, “उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।”

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मन्त्रालयमा कृत्रिम फोक्सो राख्नुका साथै सरकारले वायु प्रदूषणलाई सम्बोधन गर्नका लागि चालेका कदम र वायु प्रदूषणको असरलाई कम गर्न हरेक व्यक्तिले के गर्न सक्छन् भन्नेबारेमा पनि जनचेतना फैलाइने बताए ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्