चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवस आज



काठमाडौं।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज २२ औँ स्थापना दिवस  मनाउँदै छ। प्रतिष्ठानले २२ वर्षमा एमडी,एमएस र डिएम,एमसीएचसहित विभिन्न विषयका ३ हजार २ सय ४६ दक्ष जनशक्ति उत्पादन गरेको छ।

चिकित्सा विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान गर्ने उद्देश्यले वि.सं. २०५९ सालमा नेपाल सरकारले वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति गरी शैक्षिक कार्यक्रम सुरु गरेको हो।

न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार हाल न्याम्समा १९ ओटा विषयमा एमडी/एमएस/एमडीएस अध्यापन हुने गरेको, डिएम/एमसीएचमा १५ ओटा विषयका कार्यक्रमहरू रहेका छन्। त्यसै गरी नर्सिङमा तीनओटा स्नातक लेभलका कार्यक्रमहरू रहेका छन् भने विएस्सी एमआईटी, एमएस्सी एमआईटी तथा अप्टोमेट्रिक र एनेस्थेसिया असिस्टेन्ट जस्ता ६८ ओटा विभिन्न विषयमा शैक्षिक तथा फेलोसिप कार्यक्रम सञ्चालन भइरहेको छ।

न्याम्सको स्थापना पछि स्नातकोत्तर लेभल एमडी/एमएस/एमडीएसमा १४ सय २१ जनाले अध्ययन गरिसकेका छन् भने १४ सय १९ जना नर्सिङबाट पास आउट भएका छन्। त्यसै गरी डिएम/एमसीएचका १२१ जनाले अध्ययन गरिसकेका छन्। त्यसै गरी अन्य सर्टिफिकेट कोर्समा १ सय ८५ र अलाइड साइन्समा ६५  गरी ३ हजार २ सय ४६ क्वालिफाईड जनशक्ति उत्पादन भइसकेको उनले जानकारी दिए। त्यसै गरी १ सय ३६ जना विदेशी विद्यार्थीहरुले समेत न्याम्सबाट अध्ययन गरिसकेका छन्।

त्यसै गरी न्याम्सले यसै वर्ष देखि एमबीबीएसका कार्यक्रम समेत सुरु गर्ने लक्ष्य लिएको छ। सो कार्यक्रम सञ्चालन गर्न आवश्यक अस्पताल, बिरामी र शिक्षक वीरमा नै रहेको भन्दै त्यसका लागि थप बेसिक साइन्सका केही शिक्षक र बेसिक साइन्सको भवन बनाएर अगाडि बढ्ने योजना बनाएको उपकुलपति डा बस्नेतले बताए।

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठुलो अस्पताल मध्येको एक हो। वि.सं. १९४७ (सन् १८८९) श्रावण १२ गते वीर शम्शेरको पहलमा १५ शैयाबाट सुरु गरिएको अस्पतालबाट सन् १९३३ मा नेपाल कै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको सुरुवात गरी ड्रेसर र कम्पाउन्डरको तालिम सुरु गरिएको थियो।

पछि नर्सिङ शिक्षाको अध्यापन पनि सुरु गरिएको थियो। अस्पताललाई सन् १९८७ मा बेलायतको रोयल कलेजले एफआरसीएस, एमआरसीपी/एमआरसीओजी शिक्षाका लागि दक्षिण एसियाको केन्द्रको रूपमा मान्यता दिएको थियो। त्यस्तै सन् १९९४ मा पोस्ट ग्राजुयसन मेडिकल एजुकेसन कोअर्डिनेसन कमिटी (पीजीएमईसीसी) मार्फत पोस्ट ग्राजुयसन एजुकेसन एमडी/एमएसको अध्ययन पनि सुरु भएको थियो।

यसरी प्रतिष्ठानको रूपमा कार्यरत वीर अस्पताललाई वि.स. २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रमहरू (एमडी/एमएस) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ।

न्याम्सले वीरसहित मुलुकका ठुला अस्पतालहरुलाई समेत साथमा लिएर एमडी/एमएसका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जसमा बाल रोगको लागि कान्ति अस्पताल, स्त्रीरोगको परोपकार प्रसूति अस्पताल, मानसिकको लागि पाटन अस्पताल, सिभिल अस्पताल, मुटु रोगको लागि गङ्गालाल सहित उपत्यका बाहिरका विभिन्न अस्पतालहरूमा समेत शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्। त्यसै गरी आँखा रोगका स्नातकोत्तर कार्यक्रमहरू त्रिपुरेश्वर आँखा अस्पताल, तिलगंगा, भैरहवाको रणअंबिका र भरतपुरमा समेत कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्