काठमाडौं । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा मंसिर ४ को मूल निर्वाचनमा पराजितहरू नै उम्मेदवार बनेका छन् । कुनै पनि हालतमा संसद्मा छिर्ने मानसिकताका साथ पराजितहरूले निर्वाचन क्षेत्र र राजनीतिक दलसमेत फेरेर उपनिर्वाचनमा भिड्न उम्मेदवारी दिएका छन् ।
मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका सर्वेन्द्र खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव क्षेत्र फेरेर उम्मेदवार बनेका छन् भने रमेश खरेल र शिवचन्द्र कुसवाहा राजनीतिक दल नै फेरेर उम्मेदवार बनेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल चुनाव लड्नैका लागि आफ्नो दललाई रास्वपामा समाहित गर्ने गरी टिकट लिएर बारा जानुभयो । नेकपा माओवादी पार्टीबाट बारा–२ मै चुनाव लडेर हारेका कुशवाहा पार्टी अध्यक्ष प्रचण्डले जसपाका नेता उपेन्द्र यादवलाई सहयोग गर्ने सुइँको पाएपछि उपनिर्वाचनमा जनमत पार्टी प्रवेश गरेर टिकट लिनुभएको हो ।
राजनीतिक दलहरूले समेत उनीहरूलाई नै नै संसद्मा नपु¥याई संसद् नै नचल्ने र स्थानीय नेताहरूसमेत नभएजस्तो गरी जनताबाट एकपटक तिरस्कृतहरूलाई क्षेत्र फेरेर सोही कार्यकालका लागि पुनः उम्मेदवार बनाएका छन् । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका एमालेका सर्वेन्द्र खनाल काठमाडौं क्षेत्रनम्बर ६ बाट रास्वपाका नेता शिशिर खनालसँग पराजित हुनुभएको थियो । उहाँ उपनिर्वाचनमा तनहुँ–१ बाट एमालेको उम्मेदवार बन्नुभएको छ । एमाले अध्यक्ष केपी ओली निकट रहेका खनाललाई संसद्मा नभित्र्याई नहुनेजस्तै गरी टिकट दिएर पठाए पनि तनहुँको भूगोलमा खनाललाई चुनाव जित्न सहज नदेखिएको एमालेकै स्थानीय एक नेताले बताए । भूगोलमा रहेर काम गरिरहेका धेरै साथीहरू हुँदाहुँदै काठमाडांैमा हारेकालाई प्राथमिकता दिनु उपयुक्त नभएको उनको भनाइ छ । केपी शर्मा ओली भन्दा अरु व्यक्ति कोही पनि राष्ट्रवादी नभएको भन्दै एमाले प्रवेश गरेलगत्तै टिकट पाउने खनाल भाग्यमानी व्यक्तिका रूपमा चिनिनुहुन्छ ।
तत्कालीन नेपाल सुशासन पार्टीका अध्यक्ष काठमाडौं–१ बाट पराजित रमेश खरेल पनि बारा–२ मै उपनिर्वाचनका उम्मेदवार बन्नुभएको छ । खरेलले गत शनिबार रास्वपामा समाहित हुँदै उम्मेदवार बन्नुभयो । नेपाल प्रहरीका पूर्वडीआईजी खरेल पनि सर्वेन्द्र खनालसँगैका डीआईजी हुनुहुन्थ्यो । आईजीपीकै दाबेदार खरेललाई तत्कालीन सरकारले पछि पार्दै खनाललाई महानिरीक्षक बनाएपछि खरेल डीआईजीबाटै अवकाश हुनुभएको थियो । एउटै ब्याचका खनाल आईजीपी हुँदै सांसदको टिकट दोहो¥याएर पाउने भएपछि खरेल पनि आफैंले बनाएको पार्टीलाई रास्वपामा बिलय गराउने सर्तसहित रास्वपाको टिकट लिएर बारा जानुभएको हो ।
त्यस्तै, गत निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका नेता सिके राउतसँग पराजित जसपाका अध्यक्ष यादव उपनिर्वाचनमा बारा क्षेत्रनम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएको छ । यादवलाई नेपाली कांग्रेस, माओवादी, नेकपा एस र लोसपाको समेत समर्थन छ । त्यस्तै, मंसिर ४ मा माओवादी केन्द्रबाट बारा–२ बाटै उम्मेदवार बनेका शिवचन्द्र कुसवाहा यसपटक पार्टी परिवर्तन गरेर जनमतबाट उम्मेदवार बन्नुभएको छ ।
यसरी जनताबाट आम निर्वाचनमा तिरस्कृत नेताहरू जसरी पनि संसद्मा छिर्नुपर्ने मान्यतासहित वैशाख १० को उपनिर्वाचनमा जानु राजनीतिक इमानदारिता नभएको राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भर्खर मात्रै जनताबाट पराजित नेताहरूले कम्तीमा एक कार्यकालको निर्वाचनसम्म पनि पर्खन नसक्नु राजनीतिक इमानदारिता होइन । दलहरूले पनि फेरि तिनै पराजितहरूलाई नल्याई नहुनेजस्तो गरी टिकट दिनु भूगोलमा वर्षौं खटिएका इमानदार कार्यकर्ताप्रतिको अपमान हो ।’
मूल निर्वाचनमा पराजय व्यहोरेकाहरूले उपनिर्वाचनमार्फत् संसद्मा प्रवेश गर्ने चोर बाटो पहिल्याएको कतिपयको टिप्पणी छ । उनीहरू चुनाव लडेको एक कार्यकाल पर्खिएर संगठन निर्माण गर्दै अर्को पटकलाई भूगोलमा पहिचान बनाउनभन्दा पनि जस्तोसुकै कदम चालेर पनि संसद्मा छिर्नैपर्ने नीति अवलम्बन गर्नु जनहितकारी नहुने आम बुझाइ छ । मंसिर ४ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका रास्वपाका सभापति रवि लामिछानेसमेत पुनः सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन भिड्दै हुनुहुन्छ । उहाँलाई अमेरिकी पीआरसँगै नेपाली नागरिकता लिएर नागरिकता दुरुपयोग कसुर गरेको अभियोगमा मुद्दा परेपछि सर्वोच्च अदालतले नेपाली नागरिकता खारेजसँगै सांसद र मन्त्री दलसमेत खारेज गरेपछि उक्त क्षेत्र खाली भएको थियो । सोही क्षेत्रमा पुनः निर्वाचित भएर संसद् छिर्ने योजनाका साथ लामिछाने पुनः उपनिर्वाचनमा भाग लिनुभएको हो । उहाँसँग नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने भिड्दै छन् । त्यस्तै तनहँु–१ मा भर्खरै कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई प्रतिस्पर्धामा छन् । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको बारा–२ र रवि लामिछानेको सांसद पद खारेज भएपछि खाली भएको चितवन–२ मा उपनिर्वाचन हुने भएपछि सोमबार यसअघि पराजित भएका उम्मेदवारले पुनः उम्मेदवारी दिएर चुनावी अभियानलाई तीव्र पारेका छन् ।
निर्वाचन क्षेत्र फेरेर उपनिर्वाचन लड्नेहरू
– मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट रास्वपाका नेता शिशिर खनालसँग पराजित एमाले उम्मेदवार सर्वेन्द्र खनाल उपनिर्वाचनमा नतहुँ क्षेत्रनम्बर १ बाट उपनिर्वाचन भिड्दै
– सप्तरी–२ बाट जनमत पार्टीका नेता सिके राउतसँग पराजित जसपाका अध्यक्ष यादव उपनिर्वाचनमा बारा क्षेत्रनम्बर २ बाट सत्ता गठबन्धनको तर्फबाट उपनिर्वाचन लड्दै
– काठमाडौं–१ बाट पराजित नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल आफैंले दर्ता गरेको दल रास्वपामा बिलय गराउँदै बारा–२ मा रास्वपाको उम्मेदवार बनेर उपनिर्वाचन लड्दै
– मंसिर ४ मा माओवादी केन्द्रबाट बारा–२ बाटै उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा यसपटक पार्टी परिवर्तन गरेर जनमतबाट उम्मेदवार बनी उपनिर्वाचन लड्दै











प्रतिक्रिया