पर्वत । जिल्लाको कुश्मा नगपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिकभ भवनको निर्माणकार्य थालेको चार वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । उक्त भवन निर्माणका लागि छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माण कार्यमा ढिलाइ भएको हो ।
ज्येष्ठ नागरिकहरू एक ठाउँमा भेला भएर मनका सुख, दुःख साट्न सकून् भन्ने उद्देश्यले भवन निर्माण गर्न लागेको ज्येष्ठ नागरिक मिलन समाजको भनाइ छ । चार करोड ३४ लाख ९० हजार रुपियाँको लागतमा निर्माणाधीन भवनको एक तलामात्रै निर्माण भएको छ ।
‘पहिलो वर्ष एक करोड ४० लाख रकम विनियोजन भएकोमा काम ८२ लाखको भयो । त्यसपछिको आर्थिक वर्षमा सोही भवन निमार्णका लागि बजेट विनियोजन गरिएन । गत आर्थिक वर्षमा भने बजेट विनियोजन भएको थियो ।
सो बजेट भवन निर्माणका अलवा अन्य कार्यमा खर्च गरेको हुनसक्ने उक्त समाजका कोषाध्यष डिल्लीराम शर्माले बताए । उनी भन्छन्, ‘गत आवमा विनियोजन भएको बजेट भवन निर्माणमा खर्च गरेको भए निर्माणले गति लिनसक्थ्यो । तर, उहाँको चरम लापर्बाहीले भवन आलु आवसम्म आईपुग्दा अलपत्र छ ।’
जेष्ठ नागरिक भवन निर्माणका लागि यो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरिएको छ । बजेट विनियोजन भएर पनि टेन्डर पनि भइसकेको छ । टेन्डर आह्वान पश्चात् नयाँ ठेकेदारले पनि काममा ढिलासुस्ती गरे भवन निर्माण हुन नसक्ने देखिन्छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारको विशेष अनुदान १ करोड ६६ लाख बजेटमा बोलपत्रदाता मल्ल कन्ट्रक्सनले ३३.८२ प्रतिशत कम कबोल गरी १ करोड १५ लाख ७३ हजार ४ सय २६ रुपियाँमा कुश्मा नगरपालिकासँग सम्झौता गरेका थियो ।
‘मल्ल कन्ट्रक्सनले सम्झौता अनुसारको काम गर्न सकेन । निर्माण समितिबाट पनि गुनासो आयो । धेरै उहाँहरु डेलिगेसनमा पनि आउनु भएको थियो ।’, नगरपालिकाका इञ्जिनियर शिवराज बरालले भने, ‘२०७९ कात्तिक मसान्तसम्ममा मल्ल कन्स्ट्रक्सनलाई ३४ लाख २४ हजार ८ सयको रनिङ विल भुक्तानी ग¥यौँ ।’
दुई तलाको ३ सय २७ वर्ग फिटमा निर्माणाधीन भवनको काम सम्पन्न नहुनुमा कुश्मा नगरपालिका पनि दोषी रहेको वडा–३ का पूर्व वडाध्यक्ष सुवास पौडेलले बताए । ‘चालु आर्थिक वर्षमा नयाँ बजेट पनि आइसकेको अवस्थामा कुश्मा नगरपालिकाले अहिले फागुनमा आएर टेन्डर निकालेको छ । गत वर्षको काम कात्तिक मसान्तमा सम्पन्न भएपछि मंसिर मसान्तभित्रै नयाँ टेन्डर निकालेको भए काम अघि बढी सक्थ्यो ।’, उनले भने, ‘अब असार आइपुग्न चार महिना छ । यस अवधिमा के नै काम होला र ? यसपालि पनि बजेट फ्रिज जाने निश्चित छ ।’
नेपाल सरकारले भवन निर्माणका लागि यस वर्ष पनि १ करोड ८० लाख रुपियाँको बजेट छुट्याएको छ । टेन्डर आह्वानका काम सकेर ठेक्का पनि लागिसकेको कुश्मा नगरपालिकाका सूचना अधिकारी धुब्रराज पौडेलले बताए ।











प्रतिक्रिया