नीलकण्ठ बहुमुखी क्याम्पसमा दोस्रो पटक तालाबन्दी



धादिङ । 

चैत ५ गते हुन लागेको स्ववियू निर्वाचनमा नेबिसंघ सँग मिलेर नीलकण्ठ क्याम्पस प्रशासनले मनोमानी गरेको भन्दै तीन विद्यार्थी संगठनले नीलकण्ठ क्याम्पसमा बिहीबार दोस्रो पटक तालाबन्दी गरेका छन् ।
नीलकण्ठ बहुमुखी क्याम्पस प्रशासनले स्ववियू निर्वाचनको मनोनयन पत्र आफूखुसी फेरबदल गराएको तीन विद्यार्थी संगठनले संयुक्त रुपमा बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रत्यक्ष तर्फ उम्मेदवार भएका व्यक्तिले समानुपातिक तर्फ उम्मेदवार हुन पाइने छैन भन्ने त्रिविको निर्वाचन निर्देशिकामा उल्लेख भएको तर नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका तीन जना नेपाल विद्यार्थी संघको समानुपातिक लिष्टमा पनि नाम भएको पाइएपछि विवाद उत्पन्न भएकोमा क्याम्पस प्रशासनले सो विषयमा सुनुवाइ नगरेपछि दास्रो पटक तालाबन्दी गर्नुपरेको   अनेरास्ववियु (क्रान्तिकारी ) नीलकण्ठ क्याम्पसका अध्यक्ष ईश्वरी प्रसाद आचार्यले बताउनुभयो ।

अनेरास्ववियूका नीलकण्ठ क्याम्पस अध्यक्ष आमोश थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी)का नीलकण्ठ क्याम्पस अध्यक्ष ईश्वरी प्रसाद आचार्य र प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष रोमिका तामाङले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा समस्या समाधान नगरिए भविष्यमा हुन सक्ने कुनै पनि घटनाको जिम्मेवार क्याम्पस प्रशासन स्वयं हुनुपर्ने उल्लेख छ ।

घटनाका सम्बन्धमा नीलकण्ठ क्याम्पस प्रमुख नवराज शर्माले समस्या समाधान गर्न लाग्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्