विद्यालय बन्द गरेर संचालकको नातिको व्रतबन्ध

प्रधानध्यापकको स्वीकृतमा नियम विपरीत बिदा



पोखरामा निजी विद्यालय संचालकले विद्यालय बन्द गरेर नातिको व्रतबन्ध गरेका छन् । पोखरा महानगरपालिका १ विन्ध्यवासिनी नजिकै रहेको विन्धेयश्वरी बोर्डिङ स्कुलका संचालक शम्भुलाल कार्कीले प्रक्रिया पुरा नगरी मनोमानी ढंगले विद्यालय बन्द गरेर नातिको व्रतबन्ध गराएका हुन् । संचालक कार्कीले आफूले केही गलत नगरेको बताए । उनले आफ्नो जग्गामा विद्यालय रहेको र विद्यालयको स्पेस धेरै भएकाले व्रतबन्ध गरिएको सुनाए । ‘यहाँ ठाउँ ठूलो छ । विद्यालय मेरै जग्गामा छ । त्यसैले यहाँ गरेको हुँ’ उनले भने,‘एक दिन बिदा गरेर केही विग्रिदैन जस्तो मलाई लाग्छ । त्यसका लागि शनिबार विद्यालय संचालन गर्नेर्छौ ।’

पोखरा महानगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भण्डारीले विद्यालयले गलत गरेको बताए । विद्यालय बन्दपछि अनुगमन गर्न पुगेका भण्डारीले प्रक्रिया नपुर्‍याइ विद्यालय बन्द गरेको सुनाए । उनले निजी जग्गा भएपनि विद्यालय सबैको साझा रहेका सुनाए । ‘विद्यालय सार्वजनिक नै हुन्छ निजी जग्गा भयो भन्दैमा हुँदैन । अनुगमनको क्रममा प्रक्रिया नपुर्‍याइ बिदा गरेको भेटियो’ उनले भने,‘यो गलत हो । हामीले त्यहाँ पुगी विद्यालय व्यवस्थापनको बैठकले स्वीकृत गरेको हो की होइन भनेर बुझ्दा त्यो भेटेनौ । अझ त्यस विद्यालयमा वि.व्य.स नै नरहेछ । त्यो पनि गलत हो ।’

विद्यालयका प्रधानध्यापक कृष्ण श्रेष्ठले वि.व्य.सको बैठक विनै बिदा दिएको बताए । उनले आफूहरूले गल्ती गरेको स्वीकार गर्दै विद्यालयको संस्थापकको परिवारको जन्म सोही स्थानमा भएको र सोही स्थानमै व्रतबन्ध गर्नु परेको सुनाए । उनले विद्यालयमा व्रतबन्ध बाहेक होम लगाउने काम समेत भएको सुनाए । ‘विद्यालय व्यवस्थापन समितिको बैठकबाट भएको होइन् । घरवेटीकै परिवारको धार्मिक पूजा भएका कारणले दिएका हौँ । हामीले आजै शनिबार मनायौँ’ उनले भने,‘आजको पढाई हामीले शनिबार गराउने छौँ । त्यसैले सबैले यो बिदालाई शनिबार सोच्नु होला ।’

उनले हरेक परिवारलाई विदाबारेमा जानकारी गराएको समेत सुनाए । तर एक अभिभावकले भने आफूलाई कुनै जानकारी नआएको बताए । ‘आज बिहान देखि नै विद्यालयमा बाजा बजाउँदै भोजभतेर भएको देखेँ के रहेछ भनेर हेर्दा त व्रतबन्ध’ उनले भने,‘विद्यार्थीको अभिभावकलाई जानकारी नै नगराई यसरी गरेर कहाँ हुन्छ ? विद्यालयमा यस्तो गर्न पाइन्छ र ?’ उनका अनुसार विद्यालयले यस भन्दा अघि पनि शिक्षकको विवाह हुँदा समेत बिदा दिएको थियो ।

शिक्षा महाशाखाका अधिकृत भण्डारीले बाजा बजाएर धुमधाम तरिकाले कार्य गर्नु गलत रहेको बताए । उनले शिक्षा नियमावली, शिक्षा ऐन अनुसार विद्यालयलाई महानगरको तर्फबाट आवश्यक कारवाही र सुझाव दिने बताए । शिक्षा नियमावली २०७४ अनुसार विद्यालय व्यवस्थापन समतिले तोके बाहेक बिदा दिएमा प्रधानाध्यापकलाई विभागीय कारबाहीको व्यवस्था गरेको छ ।

शिक्षा नियमावलीमा बिदा सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘विद्यालय व्यवस्थापन समितिले नेपाल सरकारले तोकेको सार्वजनिक बिदासँग तादम्यता कायम हुने गरी स्थानीय शिक्षा अधिकारीले विद्यालयमा सार्वजनिक बिदा निर्धारण गर्छ । व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप पाँच दिनसम्म स्थानीय बिदा दिन मिल्नेछ ।’ ‘यस नियममा लेखिएदेखि बाहेक अन्य दिन विद्यालय बन्द गरेमा प्रधानाध्यापकलाई विभागीय कारबाही गरिनेछ । विद्यालय व्यवस्थापन समितिले तोकेको बिदा बाहेक कुनै पनि बहानामा अतिरिक्त बिदा गर्न पाइने छैन बाहेक व्यवस्थापन समितिको’ भनी उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्