प्रधानसेनापति शर्माद्वारा ‘युनिटी जर्नल’ तेस्रो संस्करणको विमोचन



काठमाडौँ ।

प्रधान सेनापति प्रभुराम शर्माले ‘सेना दिवस-२०७८’ को अवसरमा नेपाली सेनाले तेस्रो पटक प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह ‘युनिटी जर्नल’ तेस्रो संस्करणको आइतबार जंगी अड्डामा आयोजित एक समारोहकाबीच विमोचन गर्नु भएको छ ।

राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय एकताको प्रवर्धन गर्ने नेपालका बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरुलाई सहभागी गराई राष्ट्रिय महत्वका सामरिक विषयहरुमा आधारित रही संचालन गरिएको ‘खुल्ला सामरिक लेखरचना प्रतियोगिता-२०७८’ का उत्कृष्ट ३० वटा लेखरचनाहरुलाई समावेश गरी उक्त ‘युनिटी जर्नल’ प्रकाशन गरिएको हो ।

बौद्धिक व्यक्तित्वहरुबाट प्राप्त उत्कृष्ट ३० वटा लेख रचनाहरु समावेश गरी प्रकाशन भएको सो जर्नलमा मनिष जंग पुलामी, बिरांची पौड्‍याल र सुमन डिसीद्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितिय र तृतिय हुन सफल भएका थिए ।

उक्त लेखका सर्जकहरुलाई प्रधान सेनापति प्रभुराम शर्माले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गर्नु भएको थियो । साथै उक्त विमोचन कार्यक्रममा अन्य २७ वटा लेख तथा रचनाका लेखकहरुलाई समेत प्रधानसेनापति शर्माले पुरस्कार तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

उपरथी सीताराम खड्काको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापतिहरु, रक्षा सचिव, अन्य सुरक्षा निकायका प्रमुख, प्राध्यापक, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, युनिटी जर्नलको सम्पादक मण्डल, लेख रचना उपलब्ध गराउने लेखकहरु तथा सञ्‍चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्‍न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई रास्ट्र प्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन बृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्