भारतीय चिट्ठा रोक्न गृह प्रशासन असफल



भद्रपुर।

दैनिक भारतबाट आएका भारतीय चिट्ठा कारोबारीको बिगबिगी बढ्दा पनि यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएकोमा स्थानीयवासी चिन्तित बनेका छन् । प्रहरीकै अगाडी कारोबारीले खुलेआम सर्वसाधारणलाई चिट्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेको जस्तो गरेको स्थानीयको आरोप छ ।

यसको लतमा लागेर नेपाली नागरिक घरबारविहीन हुन थालेको स्थानीयको गुनासो छ । सुरक्षाकर्मीले चिट्ठा कारोबारीमाथि सीमा क्षेत्रमा कडाइका साथ निगरानी नबढाएका कारण यसमा सक्रिय गिरोहले खुलेआम बिक्री वितरण गरिरहेको पाइएको छ ।

चिट्ठामा १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले बिहान, दिउँसो र बेलुकाको समयको चिट्ठा सर्वसाधारणलाई बेच्ने गरेका छन् । भारतीय बजारमा छ्याप छ्याप्ती पाउने चिट्ठा नेपालका कारोबारीले गोजीमा, झोलामा र पसल–पसलमा बेच्ने गर्छन् ।

चिट्ठा(लोट्री) पर्ने भन्दै सुन व्यवसायी, भाडा व्यापारी लगायत सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई चिट्ठा खरिद गर्न लगाई दैनिक भारतीय पाँचलाख रुपैयाँ सङ्कलन गरी बिहान करिब दश बजे पुनः भारत फर्किने दैनिकी नै बनेको छ ।

भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित  मिजोराम स्टेट लट्रीज  र नागाल्याण्ड स्टेट लट्रीज  भारतमा सो चिट्ठा दिनमा ३ समय खेलाउने गरिएको छ । बिहान ११ बजे दिउँसो ३ बजे र साँझ ७:३० बजे  खोलिने चिट्ठामा लत बसेका सयौँ व्यक्तिलाई नसा लगाइ सकेको छ । दैनिक सञ्चालित १ करोड लेखिएको चिट्ठामा ए, वि , सी ,डी लगायतको अक्षर लेखिएको हुन्छ कम्पनीले चिट्ठा खरिद कर्ताको मोबाइलमा कुन अक्षर रोज्ने हो  सो को जानकारी पठाइदिने गरेको हुन्छ । चिट्ठाको नतिजाको जानकारी (www.lotterysambad.com )गरेर आफ्नो मोवाइल मार्फत थाहा पाउन सकिन्छ ।

भारतको पश्चिम बङ्गाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिट्ठाहरु झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार र पुरानो नगरपालिका कार्यालय नजिक,चन्द्रगढी, बिर्तामोड स्थित भद्रपुर रोडको बस स्टेन्ट, धुलाबारीको पुरानो हङकङ बजार, काँकडभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रका पछाडि, ट्याक्सी पार्क छेउछाउ, सतिघट्टा रोड लगायतका ठाउँहरुमा बिक्री भइरहेको छ ।

नेपाल–भारतको सीमा नाका सिलीगुढी, नक्सलबारी र पानीट्याङ्कीबाट दिनहुँ आउने चिट्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको छ ।

भारतबाट दैनिक ज्याला मजदुरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही उडन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिट्ठा खेल्ले गरेका छन् । पहिला ५ लाख पर्ने चिट्ठा, १० , २५ , ५० हुदै अहिले १ करोड पुगेको छ  ।

चिट्ठाले हाम्रो परिवार नै सक्ने भो । घरमा खाना हुँदैन, केटाकेटीको स्कुलको शुल्क तिरेको छैन, तर, उहाँलाई दैनिक भारतीय चिट्ठा किन्न पैसा चाहिन्छ । गरगहना सकिए, जग्गा जमिन सकियो, अब हामीलाई बेच्न मात्र बाँकी छ । तर, परेको कहिल्यै थाहा छैन । कहिलेकाहीँ ५–७ सय परेको सुनाउनुहुन्छ, परेको दिन टन्न खाएर लट्ठ भएर आउनु हुन्छ । यो भारतीय चिट्ठा मेरो सौता भन्दा खत्तम भयो । हैन यो भारतीय चिट्ठा रोक्ने कुनै निकाय छैन ? भन्दै खेलाडीका परिवारको गुनासो छ ।

चिट्ठा बेच्न आउने एक भारतीयका अनुसार भद्रपुर चन्द्रगढीबाट मात्रै दैनिक ५ लाख भन्दा बढीको चिट्ठा खरिद गरिने गरेको छ । ‘हामीलाई अग्रिम अर्डर गरेर मगाउँछन् यहाँका व्यक्तिहरु, हामीलाई पनि नेपालमा बिक्री गर्ने अधिकार छैन । चिट्ठा परिहाल्यो भने पनि भारतकै देवीगञ्ज, खोरीबारी लगायत भारतकै ठेगाना देखाएर चिट्ठाको रकम लिने गरिएको छ । हामी त चिट्ठा बिक्रेता हौं, जति धेरै बिक्री गर्न सक्यो उति बढी कमिसन आउँछ, र बेचेको चिट्ठामा परिहाल्यो भने पनि कमिसन आउँछ ।’ चिट्ठा व्यापारीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता वसन्त पाठकले नेपाली नै गएर चिट्ठा खरिद गर्ने गरेको फेला परेको वताउँनुभयो । समय समयमा चिट्ठा बिक्रेतालाई नियन्त्रणमा लिँदै आइरहेको बताउनुभयो । सबै सीमा नाकामा निर्देशन दिइसकिएको उहाँको भनाइ छ ।

चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिट्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिट्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आफू साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिट्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिट्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ । भन्ने चिट्ठा ऐनमा प्रस्ट व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्