कुमारी आमा निहारिका र शिवराज विवाह गर्दै


काठमाडौं ।

अन्तत निहारिका राजपुत र शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।

धनुषा जिल्ला अदालतमा गइ सोमबार दुवै जनाबीच मिलापत्र भएपछि विगतका झगडा बिर्सेर एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरी बस्ने निर्णय भएको हो ।

“म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता–पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर शिवराजले स्वीकार गरेपछि म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेर मिलापत्र गरेकी हुँ,” निहारिकाले मिलापत्रमा भनेका छन् ।

शिवराजको घरपरिवारले आफू र आफ्नो बच्चालाई ससम्मान स्वीकारेका छन्, छोराले घर, बुवा र परिवार पाएको छ, त्यसैमा सबैको भलो भएको छ, त्यसैले आफू र शिवराजले पनि विगतका सबै कुरा बिर्सेर नयाँ सुरुवातका साथ अगाडि बढ्ने निर्णय गरेकोमा निहारिकाले खुसी व्यक्त गरे । यही माघ २७ गते आफू र शिवराजले सामाजिक परम्पराअनुसार जानकी मन्दिरमा विवाह गर्ने जानकारीसमेत उनले दिए ।

“छोराका लागि नै यति सङ्घर्ष गरिरहेकी थिएँ, छोराले नै हामीलाई मिलायो, मैले र शिवराजले पनि पुराना कुरा सबै बिर्सेर सन्तानका लागि अगाडि बढ्ने निर्णय गरेका हौँ,” निहारिकाले भने ।

छोराले मोबाइल खेलाउँदै गरेको भिडियोकलले शिवराजको मन पग्लेको र त्यसपछि शिवराजले नै सबैथोक बिर्सेर छोराका लागि एक भएर बसौँ भन्ने प्रस्ताव गरेपछि मिल्ने निधो गरेको उनले बताए ।

निहारिका र शिवराजबीच मिलापत्र हुनुअघि एक–अर्कालाई आरोप–प्रत्यारोप लगाइरहेका थिए थियो । छोराको डीएनए जाँचपछि शिवराजलाई सजायँ दिलाउने अवस्थामा निहारिका पुगेकी थिइन् थियो तर दुईबीचको आपसी समझदारीले सम्बन्ध विवाहसम्म पुगेको छ ।

यसअघि निहारिकाले आफू बलात्कृत भएको र कानुनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेका थिए । त्यस क्रममा उनी पटक–पटक पक्राउसमेत परे।

उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्नेलगायतको माग राख्दै अनशनसमेत बस्दै आएका थिए । लामो सङ्घर्षपछि निहारिका, शिवराज र छोरा खुसी देखिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।