लागूऔषध काण्डपछि कैलाली कारागारमा हेरफेर, ३० प्रहरीको जिम्मेवारी खोसियो



धनगढी।

जिल्ला कारागार कैलालीमा खटाइएका प्रहरी अधिकारीहरुको जिम्मेवारी खटनपटन गरिएको छ। कारागारमा खटाइएका ३० जना प्रहरीहरुको जिम्मेवारी खटनपटन गरिएको हो।

स्रोतका अनुसार कारागारमा लागूऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासोपछि सुरक्षा प्रमुखसहितका ३० जना प्रहरीको जिम्मेवारी खोसिएको हो। यस्तै कारागारमा जेलरको पनि सरुवा प्रक्रिया जारी रहेको बताइएको छ।

कारागारभित्र लागूऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। उहाँहरुको ठाउँमा बिहीबार नयाँ प्रहरी कर्मचारी पनि पठाइएको छ।

प्रहरीतर्फका प्रमुख अवस्थीसहितका सुरक्षार्थ खटिएका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले बताउनुभयो।

जोशीकाअनुसार प्रहरी वरिष्ठ नायब निरीक्षक चरन बुढाथापालाई कारागारको सुरक्षा प्रमुखका रुपमा खटाइएको छ। गत कात्तिकमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरेको थियो। भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
तर, जिल्ला प्रहरी कार्यालय लागूऔषध कारोबार र सेवन सम्बन्धीको प्रकरण पूरानै भएको बताउदै अहिले नियमित कार्यतालिकाअनुसार सुरक्षाकर्मी हेरफेर गरेको दाबी गरेको छ।

यता, जिल्ला प्रशासन कार्यालयका कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि कारागारको सुरक्षामा रहेका पुराना प्रहरी कर्मचारीहरुको जिम्मेवारी खोसेर नयाँलाई पठाइएको जानकारी दिनुभयो।

उहाँकाअनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया पनि चलिरहेको छ, प्रशासनले अहिले गुनासो आएका स्थानहरुमा तीव्र रुपमा हेरफेर गरिरहेको पनि उहाँले बताउनुभयो। जेलरको स्थानका नयाँ हाकिम पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार पनि गरिसकेको जनाएको छ।

उहाँले भन्नुभयो, ‘कारागारका जेलर र सुरक्षाकर्मीको विषयमा लागूऔषध कारोबार जस्ता विषयमा प्रश्न उठेपछि जिम्मेवारी हेरफेर गरिएको हो।’ स्थानीय प्रशासनले कारागारमा जेलरकै संलग्नतामा लागुऔषधको कारोबार हुने गरेको गुनासोपछि कारागारालाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर गरेको हो।

प्रतिक्रिया दिनुहोस्