रास्वपाका चितवन जिल्ला सभापति धर्मेन्द्रद्वारा राजीनामा



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टीभित्र व्यक्तिवाद चरम रूपमा हाबी भएको भन्दै बुधबार राजीनामा दिनुभएको छ । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले पार्टीमा बस्न उचित नभएको टिप्पणी गर्नुभयो ।

सापकोटाले भन्नुभयो–‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिएँ तर, उहाँ भेटिनुभएन, महामन्त्रीलाई बुझाएँ । पार्टीभित्र हैकमवाद र व्यक्तिबादी प्रवृति देखियो । यसमा युवाहरू बसेर जीवन वर्वाद पार्नुहुन्न भन्ने मेरो ठहर हो ।’

गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णतया बेवास्ता गरी एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाउँदै भन्नुभयो– ‘स्थानीय पार्टी संठगनलाई किन वेवास्ता गर्नुभयो भनेर महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढी समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’

रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई बेवास्ता गरेर हिँड्ने गरेको, सरसल्लाह र बैठकसमेत नबसेको र यसरी पार्टी संगठन नबन्ने ठोकुवा गर्दै सापकोटाले देशभरमा बनेका जिल्ला समिति र स्थानीय नेताहरूको हालत आफ्नोजस्तै भएको दाबी गर्नुुभयो । उहाँले भन्नुभयो– ‘हामीले सभापति लामिछानेलाई नै भन्यौं । तर, उहाँहरूलाई पनि जिल्ला समिति चाहिएको जस्तो लागेन । मलाई लाग्छ देशभरमा जहाँजहाँ समिति बनेका छन्, तिनको हालत यस्तै होला, कुनै भूमिका छैन ।’

राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताउनुभयो । माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनुपर्छ भनेर आफू बाहिरिएको सापकोटाको भनाइ छ । उहाँले अब कुनै दलमा नलागी स्वतन्त्र भएर आफ्नो पेसा व्यवसाय नै गरेर बस्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्