यूएसआईडी प्रमुख पावर आगामी आइतबार नेपाल आउँदै



काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले २ दिने नेपाल भ्रमण सकेर फर्केको एक सातापछि नै अमेरिकाबाट अर्को एउटा उच्चस्तरीय भ्रमण हुने भएको छ ।

अमेरिका सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी नियोग (यूएसआईडी) का प्रमुख सामन्थ पावर आगामी आइतबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

यूएसआईडीले बुधबार विज्ञप्ति जारी गरी पावरको भ्रमणबारे जानकारी दिएको हो । राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी पावरले भ्रमणको क्रममा नागरिक समाजका अगुवा, सरकारी अधिकारी, व्यापारी र विद्यार्थीलगायत सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विज्ञप्तिमा नेपाल–अमेरिका साझेदारीको ७५ औं वर्षगाँठको अवसर पारेर नेपाल भ्रमण गर्न लागेकी पावरले भ्रमणको क्रममा नेपालको नयाँ सरकारसँगको समझदारीलाई अगाडि बढाउन, संघीय सरकार लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाउन, प्रेस स्वतन्त्रतालगायतका विषयमा यूएसआईडीले गर्ने नयाँ सहयोगका बारेमा घोषणा गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्