महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

0
Shares

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ । कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली गराउने भएको छ ।

कामपाले हिजो मंगलबारदेखि मैतीदेवी क्षेत्रमा सडकमा राखिएको पार्किङ हटाउन शुरू गरेको थियो भने बालाजु, माछापोखरी क्षेत्रमा पार्किङ हटाउन माइकिङ शुरू गरेको थियो । त्यसै गरी महानगरले मंगलरबार नै चाबहिल, चुच्चेपाटी र बौद्ध क्षेत्रका सडकछेउका सवारी साधन हटाउन आग्रह गरेको छ । कामपा प्रहरीले आज बुधबारबाट माछापोखरी र चुच्चेपाटी हँुदै बौद्धसम्मको सडक खाली गरिने जनाएको छ ।

यसैबीच कामपा प्रहरीले राजधानीका सबै क्षेत्रमा माइकिङ गरी सडकमा सवारी साधन नराख्न आग्रह गरेको छ । कामपाले दरबारमार्ग क्षेत्रमा रहेका खुला क्षेत्र र ठुला व्यापारिक भवनमा पार्किङ गर्न सवारीधनीलाई जानकारी गराइसकेको छ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार ३२ बटै वडाका सडकमा पार्किङ निषेध गर्ने अभियानअन्तर्गत हालसम्म कामपाले दुई दर्जन बढी सडकमा पार्किङ निषेध गरिसकेको छ । कामपाले ट्राफिक प्रहरीको सहयोगमा पार्किङ हटाएको हो ।

कामपाले दरबारमार्ग, बानेश्वर, कालीमाटी, कुलेश्वर, बल्खु, कलंकी बागबजार, पुतलीसडक, कोटेश्वर, लैनचौर, सोह्रखुट्टे, पुरानो बानेश्वरलगायतको सडकमा पार्किङ निषेध गरेको छ ।

नगर प्रहरी प्रमुख पाण्डेले सडकमा पार्किङ गर्न निषेध गरिएको जानकारी दिँदै भन्नुभयो– ‘शुरूमा माइकिङ गरी सवारी साधन हटाउन आग्रह गर्नेछांै । अटेर गरेमा कारबाही गरी सवारी साधनलाई बग्गीखानामा लैजानेछांै ।’

कामपाका प्रवक्ता नवीन मानन्धरले राजधानीमा अस्तव्यस्त पार्किङ नियन्त्रण गर्न र सडकमा पार्किङ गर्ने प्रवृतिलाई निरुत्साहित राजधानीको सडक पार्किङ हटाउन लागिएको जानकारी दिँदै भन्नुभयो– ‘सफा र सुन्दर शहर बनाउने अभियान थालेका छांै, त्यसको लागि सबै क्षेत्रमा पाकिङ हटाउँदै छौं ।’

कामपाले यसअघि भत्काएका व्यापारिक भवनको भूमिगत तलामा पार्किङ व्यवस्था गरे नगरेको अवस्थाबारे अनुगमन थालेको छ । अटेर गरेको पाइएमा कारबाही गर्नेसम्मको तयारी थालेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘हामीले दुई महिनादेखि दैनिक सडक पार्किङ खुला गर्दै हिँडेका छांै, यसलाई निरन्तरता दिनेछौं ।’

प्रवक्ता मानन्धरले भन्नुभयो– ‘दरबारमार्गको पार्किङ हटाएका छौं, अब न्युरोडको सबै क्षेत्रको पार्किङ हटाउन लागेका छौं ।’ कामपाले सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत स्मार्ट पार्किङको नाममा न्युरोड र दरबारमार्गमा पार्किङ व्यवस्थापन गर्ने जिम्मा निजी कम्पनीलाई दिएको थियो । न्युरोड क्षेत्रको पार्किङ भने खुला गर्ने तयारी महानगरको छ । न्युरोडमा खिचापोखरी, विशालबजार, धर्मपथलगायत क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालमा छ ।

यसअघि कामपाका प्रमुख बालेन्द्र साहले राजधानीको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न सबै निकायलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनको आधारमा महानगर प्रहरीले राजधानीको ठूला भवनका बेसमेन्टको तथ्यांक संकलन गरेसँगै सडक पेटीमा राखिएको पार्किङ खाली गराएको हो ।

बाटोमा पार्किङ गरेका सवारी साधन नियन्त्रण गर्दा महानगरले एक हजार रुपियाँ जरिवाना गर्ने गरेको छ । कामपा प्रहरी प्रमुख पाण्डेका अनुसार दैनिक करिब ५ सयको हाराहारीमा सडकमा पार्किङ गरिएका सवारी साधन कारबाही गर्ने गरिएको छ । सवारी चालकलाई भूमिगत तलामा सवारी पार्किङ गर्ने बानी बसाल्नकै लागि कारबाही प्रक्रिया अघि बढाएको कामपाको भनाइ छ ।

यसैबीच कामपाले हिजो मंगलबार बाटोमा माग्न बसेका मगन्तेलाई नियन्त्रणमा लिएर मानवसेवा आश्रमको जिम्मा लगाएको छ । कामपाका प्रहरी उपरीक्षक दिनेश अर्यालले नियन्त्रणमा लिएर आश्रममा पु¥याएका मगन्ते फेरी फर्केर आउन नसकोस् भनेर त्यहीँ खाने र बस्ने व्यवस्था गरेको बताउँदै भन्नुभयो– ‘तै पनि हटाइएका मगन्तेहरू आश्रममा बस्नै मान्दैनन् फेरि फर्केर सोही स्थानमा माग्न बसिरहेका हुन्छन् ।’ पछिल्लो समय थापाथली, सिंहदरबार, कोटेश्वरलगायत सवारी साधनको भीड हुने क्षेत्रमा मगन्तेको भीड लाग्ने गरेको छ ।