सरकारलाई शुभकामना !



लामो रस्साकस्सीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको तीन हप्तापछि प्रचण्ड सरकारले आकार लिएको हो । सात दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन सकेको थिएन ।

सरकार गठन भएपछि केही मन्त्री विनाविभागीय भएर सिंहदरबार आउ–जाउमा सीमित थिए भने केही नीति– नियम कार्यान्वयनभन्दा पनि आफ्नो व्यक्तिगत जीवनलाई प्रतिष्ठित बनाउन लागिपरेका थिए । मंगलबार सरकारले पूर्णता पाएसंँगै जनतामा पनि केही भरोसा पलाएको छ । हिजो सरकारले यो गरेन ऊ गरेन भन्ने व्यक्ति नै सरकारमा सामेल भएकाले जनताले देख्नेगरी केही कामको शुरुवात हुन्छ कि भन्ने आशा जागेको छ ।

मुलुक निर्माणमा परम्परावादी दलहरु चुकेको अहिलेको अवस्थामा नयांँ दल र पुराना दलका पनि नयाँं व्यक्ति सरकारमा सामेल भएकाले मुलुकको भाग्य परिर्वतन हुन्छ कि भन्ने आशा पलाएको छ जसलाई नराम्रो मान्न सकिदैन । यस पटक मन्त्रिमण्डलमा सामेल भएका व्यक्तिहरुमा अधिकांश युवाहरु देखिन्छन् ।

नयाँ जोश र जाँगर सहित सरकारमा सामेल भएका मन्त्रीहरुले अब दलीय आस्थाबाट माथि उठेर मुलुक निर्माणमा लाग्नुपर्ने देखिन्छ । हिजोकाले के गरेभन्दा पनि अब म यो गर्छु भन्ने अठोट बोकेर अहिलेका मन्त्रीहरु हिड्नुपर्ने देखिन्छ । जनताको आशा र भरोसा टुट्ने अवस्थामा पुगेकाले नवनियुक्त मन्त्रीहरुले अब मुलुक बनाउने संकल्प गर्नुको अर्को विकल्प छैन ।

अब मन्त्री भएकाहरुले व्यक्ति केन्द्रित भएर होइन, समग्र मुलुकलाई परिर्वतन गर्नेगरी अघि बढ्नुको विकल्प देखिंदैन । विगतमा भएका राम्रा कामलाई आत्मसात् गर्दै अब मुलुकको भविष्य कोर्नेगरी अघि बढ्नुपर्ने अवस्था आएको छ । विभिन्न दल मिलेर बनेको अहिलेको सरकारले जनतामा देखिएको वितृष्णालाई चिर्दै अघि बढ्नुपर्ने हुन्छ । जनताको भरोसायोग्य सरकार यही हो भनेर पुष्टि गर्ने बेला आएको छ ।

विगतका सरकारले जस्तै काम गर्ने हो भने यो सरकारको आयुको बारेमा टीका–टिप्पणी नहोला भन्न सकिंदैन । त्यसैले अब सबै मिलेर देश बनाउने अभियानमा जुट्नुको विकल्प छैन । यस पटक मन्त्रीमा नियुक्त भएका केही व्यक्ति बाहेक अन्य पटक–पटक संसद्मा निर्वाचित भएर आएका व्यक्ति भएकाले मन्त्रालय कसरी चलाउनुपर्छ भन्ने अनुभव उनीहरुमा छ । अनुभवी व्यक्ति भएका कारण पनि जनताको काम गर्न मन्त्रीहरुलाई सजिलो अवस्था रहेको छ भन्दा फरक नपर्ला ।

राजतन्त्रवादी राप्रपा र त्यही वादको विरोधमा हतियार उठाएर १० वर्ष लामो विद्रोह गरेको दल अहिले सरकारमा छन् । विभिन्न दिशामा फर्केका दलले कसरी एकीकृत ढंगले काम गर्लान् भन्ने कतिलाई लागेको छ । तर, निराश हुनुपर्दैन– सबैलाई जोड्ने कडी नेपालको संविधान, २०७२ छ । यसभन्दा बाहिर कोही चाहेर पनि जानसक्तैन ।

बरु अर्कोकुरा, सत्ता साझेदारमध्ये जनता समाजवादी पार्टीलाई यस पटक सरकारमा सामेल गर्न सत्तारुढ दल विफल हुनुले सरकार कतै अस्थिर हुने त होइन भन्ने आशंका छ । उक्त पार्टीलाई समेत सामेल गरेर सरकार गठन भएको भए सबै क्षेत्रले अहिलेको सरकारलाई स्वीकार गर्ने थियो । जे होस् नवनियुक्त मन्त्रीहरुलाई हार्दिक बधाई ।

प्रतिक्रिया दिनुहोस्