ठूलो क्षति



आन्तरिक विमान सेवामा आइतबार पोखरामा भएको दुर्घटना सबैभन्दा ठूलो भएको बताइएको छ । यती एयरलाइन्सको विमान कुन कमजोरीले दुर्घटनाग्रस्त भयो, विस्तृत छानबिन नगरी भन्नसकिन्न ।

विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग आइतबार नै गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा यो आयोग गठन गरेको हो ।

छानबिन आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेनुभएको छ । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहनुभएको छ । सरकारले विमान दुर्घटनाको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

तर, यस बिदाको सर्वत्र विरोध भएको छ । भविष्यमा विमान दुर्घटना हुँदा वा यस्तै सवारी साधन जोखिममा पर्दा बिदा दिने कि नदिने भन्ने सबाल खडा भएको छ । तर घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त, सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गरिएकोमा भने सरकारको प्रशंसा पनि भएको छ । विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सुरक्षाकर्मीबाट भएको सहयोगको पनि तारिफ सुनिएको छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको आकाशको सुरक्षा हो, नेपालमा हुने गरेका हवाई दुर्घटनालाई लिएर देशभित्र र बाहिरबाट प्रश्नहरू उठ्दैआएका छन् । बारम्बार हुने गरेका हवाई दुर्घटनाका विभिन्न कारण रहेको विज्ञहरू औँल्याउँछन् । तीमध्ये लापरबाही एउटा प्रमुख कारण रहेको हवाई उडानसम्बन्धी विज्ञहरु उल्लेख गर्दछन् ।

हामीकहाँ भएका हवाई दुर्घटनामध्ये ९० प्रतिशतमा लापरवाही नै प्रमुख कारणको रूपमा देखिन्छ भन्ने निष्कर्ष एकथरि विश्लेषकको छ । विमान उडाउने पेशाको संवेदनशीलता अनुसार साँच्चिकै हामी जिम्मेवारी सम्हाल्न नसक्ने नै हांै कि भन्ने आत्मविश्लेषण पनि आवश्यक रहेको यस पेशामा अनुभव सँगालेका कतिपय विश्लेषकको छ । थुप्रै विदेशी पाइलटले हामीकहाँ हेलिकप्टर उडाइरहेका छन् ।

उनीहरूभन्दा हाम्रा पाइलटले चलाउने विमान किन धेरै दुर्घटनामा पर्नेगरेका छन् त भन्ने प्रश्न निकै चोटिलो छ । नेपालमा भएका कतिपय हवाई दुर्घटनामा पाइलटलाई दिइने दबाव पनि एउटा कारणको रूपमा रहेको अवकाशप्राप्त एक पाइलटको भनाइ यहाँ स्मरणीय हुनआउँछ । हामीकहाँ दबावको संस्कृति छ, त्यसले गर्दा पनि दुर्घटना भएको छानबिन रिपोर्टहरुले देखाएका छन् ।

यसको ज्वलन्त उदाहरणका रूपमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना अनि तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई सवार अर्को हेलिकप्टर दुर्घटनालाई विज्ञहरूले अघि सार्ने गरेका छन् ।मानवीय क्षतिकै आधारमा यस्ता दुर्घटनालाई ठूलो वा सानो भन्ने गरिए पनि एक व्यक्तिको मृत्यु मात्र पनि सानो भने हुनसक्तैन ।

मृतकको परिवारमा पर्ने चोट एक जनालाई परोस् वा बढीलाई– पीडित व्यक्तिका दृष्टिबाट हेर्दा त्यो कहिल्यै सानो हुँदैन, ठूलै हुन्छ । तरपनि अधिक परिमाणमा व्यक्तिको क्षति भए ठूलो क्षति मान्नेहो भने पछिल्लो दुर्घटनामा ७२ व्यक्ति परेको अवस्थालाई हेर्दा यसलाई सबैभन्दा ठूलो मान्नुपर्छ र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरियून् भनेर सतर्क हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्