काँग्रेस बागमती : उडायो सपना सबै नयाँ समीकरणले 



हेटौँडा।

एक्कासि बनेको नयाँ सत्ता गठबन्धनले बागमती प्रदेशमा नेपाली काँग्रेसको सपना चकनाचुर भएको छ । यसअघि करिब मुख्यमन्त्री बनिसकेको काँग्रेस केन्द्रीय नयाँ गठबन्धनका कारण प्रतिपक्षमा पुगेको हो । अब बुधवार हुने काँग्रेसको संसदीय दलका नेताको चुनाव त्यति रोमाञ्चक नहुने सहज अनुमान गर्न सकिन्छ ।

बागमतीमा एमालेसँग माओवादी मिल्ने बित्तिकै काँग्रेस अल्पमतमा पर्छ । काँग्रेस अल्पमतमा पर्ने बित्तिकै नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ ।

मकवानपुरे बानियाँलाई प्रदेशको मुख्यमन्त्री बन्न पटक पटक विभिन्न प्रकारका तगारो खडा भइरहेका छन् । अघिल्लो सरकारमा पनि ६/६ महिना मुख्यमन्त्रीमा ‘लिखित सहमति’ गर्नुभए पनि पदबाट विमुख हुनुभएका बानियाँले मुख्यमन्त्री बन्ने अवसर पार्टीगत कारण नै गुमाउनुभएको थियो ।

उहाँ दोस्रो कार्यकालका लागि लगभग मुख्यमन्त्रीका एकल दाबेदारका रुपमा चर्चा कमाउन सफल हुनुहुन्थ्यो । तर, उहाँको राजनीतिक पृष्ठभूमिमा नयाँ मोड ल्याइदिनुभएका नुवाकोटबाट प्रदेशमा निर्वाचित सांसद लामाको इन्ट्रीले काङ्ग्रेसभित्र संसदीय दलको नेता चुन्न निर्वाचन हुने घोषणा गरियो ।
तर, गठबन्धन टुटेसंगै काँग्रेसका लामा र बानियाँको मुख्यमन्त्री बन्ने सपना पनि टुट्यो । प्रदेशसभामा ३७ सिटसहित ठुलो दल मानिएको काँग्रेसको गठबन्धनमा रहेको शक्ति विभाजनले प्रदेशसभाको दोस्रो कार्यकालमा पनि प्रतिपक्षीको भूमिकामै काँग्रेस रहनुपर्ने बाध्यता सिर्जना भयो ।

पहिलो कार्यकालमा हालसम्म तीन मुख्यमन्त्री पाएको बागमतीमा दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री को बन्लान्, त्यो हेर्न अब केही समय कुर्नुपर्ने छ । ७ प्रदेशमध्ये बागमती प्रदेशमा मुख्यमन्त्री कसलाई र बाँकी मन्त्रालयहरु ककसलाई भागबन्डा गरिने हो, त्यो निर्णय केन्द्रले तयार गर्छ ।

तर, काँग्रेस ‘आउट’ भएपछि माओवादी केन्द्र र एमालेमा को मुख्यमन्त्रीको आकाङ्क्षी, कसको पहुँच कति, यसलाई आधार मान्ने हो भने पनि बागमती प्रदेशको मुख्यमन्त्रीका दाबेदारका रुपमा नेकपा माओवादी केन्द्रबाट २ जना र नेकपा एमालेबाट १ जना सांसद्को नाम चर्चामा छ ।

शालिकराम जम्कट्टेल

सत्तारुढ गठबन्धनबाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुनुभएका माओवादीका जम्कट्टेल कांग्रेससँगको गठबन्धनमै रहँदा पनि मुख्यमन्त्रीको दौडमा हुनुहुन्थ्यो । ठुला दलको हैसियतले काँग्रेसले एकल दाबी गर्दै आए पनि माओवादीको नजर पनि मुख्यमन्त्रीकै कुर्सीमा अडिएको थियो । अन्य मन्त्रालय जसको हातमा पुगे पनि मुख्यमन्त्री माओवादीले पाउनुपर्ने अडान माओवादीले छाडेको थिएन । तर, मुख्यमन्त्री पाउने/नपाउने निश्चित निर्णय भने भएको थिएन ।

नेकपा माओवादी केन्द्रका तर्फबाट जम्कट्टेललाई मुख्यमन्त्री बनाउने उद्देश्यसाथ उहाँको पुनः प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराइएको स्रोतको दाबी छ । अघिल्लो कार्यकालमा पनि माओवादी संसदीय दलको नेता रहनुभएका जम्कट्टेल एमाले–माओवादीको गठबन्धनमा पनि मुख्यमन्त्रीकै दाबेदार हुनुहुन्छ ।

उहाँ प्रदेश सरकार गठनदेखि प्राय: सत्तामै हुनुहुन्छ । अघिल्लो कार्यकालमा उहाँ एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो । उहाँले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न खोजे पनि मुख्यमन्त्रीका रुपमा दाबी गर्न पार्टीले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरु बताउँछन् । माओवादी नेता जम्कट्टेल धादिङ–१ (२) बाट विजयी हुनुभएको हो । उहाँले एमालेका गजेन्द्र भण्डारीलाई ७ हजार ४ सय २५ मतले पराजित गर्नुभएको छ ।

जगन्नाथ थपलिया

प्रदेशको मुख्यमन्त्रीका दाबेदारमा चितवनबाट निर्वाचित प्रदेशसभा सदस्य थपलियालाई अघि सार्ने नेकपा एमालेको रणनीति पहिल्यैदेखि थियो । अघिल्लो प्रदेशसभामा पनि एमाले–माओवादी मिलेर सरकार गठन हुँदा मुख्यमन्त्री एमालेको पोल्टामा पर्न सफल भयो । जसका कारण प्रदेश सरकारको पहिलो कार्यकालको पहिलो मुख्यमन्त्री एमालेका डोरमणि पौडेल बन्नुभएको थियो ।

अघिल्लो निर्वाचनमा प्रदेशसभाको पहिलो दल बनेको एमाले यस पटक २७ सिटमा खुम्चिएर दोस्रो बन्यो । तर, माओवादी र राप्रपाको समर्थनमा सरकार गठन गर्न पाउँदा एमालेका थपलिया मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

पाँचदलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा होमिएको एमालेले आफ्ना चर्चित केही सदस्यलाई सांसदमा ल्याउन सकेन । बागमती प्रदेशमा एमालेको भागको मुख्यमन्त्री परे २७ सांसद्मध्ये संसदीय दलको नेतामा चर्चा कमाउनुभएका थपलिया एमालेका एकल मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । प्रदेशका प्रथम मुख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभएका थपलिया नेकपा एमाले केन्द्रीय सचिवसमेत हुनुहुन्छ ।

चितवन निर्वाचन क्षेत्र–१ (१) मा नेकपा एमालेका थपलिया निर्वाचित हुनुभएको हो । थपलियाले १७ हजार ६ सय ८८ मत ल्याउ“दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरणभुषण ओलीले १० हजार ७ सय १२ मत ल्याउनुभएको छ ।

देशको राजनीतिक अवस्थाले कोल्टे फेरेपछि यसको प्रभाव बागमती प्रदेशमा पनि परेको छ । सबैको चासोको रुपमा हेरिएको बागमती प्रदेशको मुख्यमन्त्री को बन्लान् भन्ने चर्चा पेचिलो बनिरह“दा सत्ता समीकरण नै फेरिएपछि अब एमाले–माओवादीको सरकार बन्ने भएको छ ।

यसअघि मुख्यमन्त्रीमा नेपाली काँग्रेसले दाबी गर्दै आएको थियो । तर, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनेपछि अब माओवादीको समर्थन नेकपा एमालेलाई भएको छ । जसका कारण पनि काँग्रेसको पोल्टामा परिसकेको मुख्यमन्त्रीको भाग पुनः उम्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस्