देउवा-प्रचण्डले दुई/दुई वर्ष र माधवले एक वर्ष सरकार चलाउने विकल्पबारे छलफल



काठमाडौं । नयाँ सरकार गठनबारे सत्तारूढ दलका शीर्ष नेताहरूबीच छलफल शुरू भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल शुरू भएको हो ।

हिजो (शनिबार) राति अबेरसम्म भएको छलफल बिनानिष्कर्ष टुंगिएको थियो । पहिलो सरकारको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने अट्टानी अडान नछाडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

हिजोको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज सत्तारूढ गठबन्धन दलका नेताहरूबीच केहीअघि छलफल शुरु भएको छ । बैठकमा नयाँ सरकार गठन र नेतृत्वबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा सहभागी गठबन्धन दलका एक नेताले भने, ‘सरकार गठनबारे बिहीबारदेखि नै छलफल शुरु भए पनि आजसम्म टुंगोमा पुगेको छैन । पहिलो सरकारको नेतृत्व कांग्रेस वा माओवादी केन्द्र कसले गर्ने भन्नेबारे छलफल जारी छ । तथापि प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालअन्तर्गत पहिलो दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, दोस्रो कार्यकाल दुई वर्ष कांग्रेस सभापति देउवा र अन्तिम कार्यकाल एक वर्ष नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्नसक्ने विकल्प भएकोले सोही अनुरूप छलफल हुनेछ ।’

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्