आर्थिक संकट बढ्ने आँकलन

0
Shares

भर्खर चुनाव सकिएको छ । चुनावले गर्दा नागरिकको ध्यान त्यतातिर मोडिएको थियो । अब चुनावपछि आर्थिक संकट आउने निश्चित छ । त्यसैले बिस्तारै उद्योगी व्यवसायीको ध्यान यतातर्फ आकृष्ट हुनेछ । तर वित्तीय संस्थाहरु धराशयी हुँदै गएका छन् । वित्तीय संस्था चल्ने जनताको पैसाले हो । जनताले लगेर बचत गर्छन् अनि त्यही पैसा बढी ब्याजमा कर्जामा लगाएर नाफा खाने हुन् ।

वित्तीय संस्थाले त पुलको काममात्र गर्ने हो । ऋण लिएकाले कर्जा तिर्दिन भनेर हात उठाइसकेपछि बचतकर्तामाझ चिन्ताजनक अवस्था बन्नु स्वाभाविकै पनि हो । ऋणीहरुले हामी ऋण तिर्दैनौं भनेर बैंक र सहकारीको विरोधमा सडक आन्दोलनको घोषणा गर्नेबित्तिकै बचतकर्ताले आफ्नो पैसा डुबेको पत्तो पाएका छन् ।ऋणीले कर्जा तिर्दिन भनेपछि बैंकले कहाँबाट ल्याएर बचतकर्ताको रकम फिर्ता गर्छ ? कर्जा लिनेले साउँ पनि तिरेका छैनन्, ब्याज पनि रोकेर राखेका छन् । विगत लामो समयदेखि उनीहरुले किस्ता तिर्न सकेका छैनन् ।

मुलुकमा आर्थिक मन्दी छाएको छ । व्यापार व्यवसाय सबै घाटामा छन् । त्यसमा थप वित्तीय संस्थाले ब्याज बढाइदिँदा उनीहरु मर्कामा परेका छन् । भन्सुन गर्न नसक्नेहरु कार्यालयमा लाइन बस्न गएका छन् । चेयरम्यान, अध्यक्ष आफ्नो आफन्त भए तिनकै घरमा कुद्ने क्रम पनि बढेको छ । बचतकर्ताहरु यतिखेर ब्याजको होइन, सावाँको खोजीमा छन् । सावाँ डुब्यो भने जिन्दगीभरको मेहनत खेर जान्छ भनेर जनता पिरोलिएका छन् । वित्तीय संस्थाले मनोमानी गर्दै ब्याजदर बढायो । आफूले जे गर्दा पनि हुन्छ भन्ने मनसायमा चलेको संस्थाले यो कहिल्यै पनि यस्तो कल्पना गरेको थिएन ।

यत्रो व्यवसायी साथसाथ सडकमा आऊलान् भनेर वित्तीय संस्थाका सञ्चालकहरुले शायदै सोचेका थिए होलान् ? हाम्रो कसले के बिर्गाछ ? एउटा व्यवसायीले के नै गर्न सक्ला ? भनेर बैंक र सहकारीले डुबाउन खोजेको थियो । तर, तिनको अन्याय अत्यन्तै भएपछि सबै व्यवसायी एकजुट भएर सडक आन्दोलनमा होमिए । यो देखेर बैंक र सहकारी पनि अतालिएका छन् । झन् उनीहरुले कर्जा तिर्दैनौं भनेर घोषणा गरेपछि वित्तीय संस्थाको सातो उडेको छ । वित्तीय संस्थाहरुले विगत तीन दशकदेखि जनतालाई ठगिरहेका थिए । घूस, सेवाशुल्क, महँगो ब्याजमा कर्जा दिने । त्यो पनि एक करोडको धितो राखेर ३० लाख रुपैयाँ ऋण दिन्थे । दुई किस्ता नतिर्नेबित्तिकै एक करोडको धितो पचाउनेहरुको दुर्दशा अब शुरु भएको छ ।

बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि कतिले आत्महत्या गरे । कतिले कोशीमा गएर हामफाले । केही वर्षअघि भक्तपुरको ठिमीमा घटेको घटना यति छिटो भुल्न सकिँदैन । ऋण तिर्न नसकेपछि बैंकले धितो लिलाम गरिदिन भन्दै पत्रिकामा सूचना निकालिदिएको थियो । आफू विस्थापन हुने र समाजमा मुख देखाउन अप्ठ्यारो हुने डरले एकजना व्यक्तिले आफ्नो परिवार नै सखाप पारे । एलएलसी दिएर बसेको छोरा र श्रीमती मारेर आफू पनि मरे ।

बैंकको प्रेसर सहन नसकेर सो घटना घटेको अनुसन्धानको क्रममा पत्ता लागेको थियो । वित्तीय संस्थाका कारण ज्यान फाल्नुपरेका घटना थुप्रै छन् । कति आफैं मरे, कतिले परिवार पनि मारे । कति विस्थापित भए । करोडपति पनि बैंककै कारण सडकपति भएका छन् । बजारमा डेढ करोडमा बिक्री हुने सम्पत्ति भ्यालुएसन गरेर एक करोडको मूल्य तोक्ने । त्यसमा पनि ४० लाख ऋण दिन्छन् । तीनदेखि ६ किस्ता नतिर्नेबित्तिकै त्यो सम्पत्ति नै हडप्छन् ।

बैंक र सहकारीले विगतदेखि नै यस्तो गर्दै आएका छन् । जसको विरोधमा अहिले आएर आवाज उठ्न थालेको छ । हिजोसम्म बैंकले जनताको उठीबास लगाउँथ्यो । अब सबै जनता एकजुट भएर बैंकको बिल्लीबाठ बनाउँछन् । बैंकमा ताला लगाउँछन् । जनता दबाउँदै आएका वित्तीय संस्थाका सिईओ, सञ्चालक, अध्यक्षलाई लखेट्छन् । बूढापाकाले भन्थे, ‘उँधो गएको खोलो पनि १२ बर्षमा फर्किन्छ ।’ यसको अर्थ सहन सक्नुपर्छ, धैर्य गर्नुपर्छ भन्ने हो । त्यस्तै, ‘पाप धुरीबाट कराँउछ’ भनेको पनि सही रहेछ भन्ने यतिखेर प्रस्ट भएको छ ।

सोसकी, सामन्तीहरुले हिजोसम्म सीधासाधी जनतालाई ठगे, आज पालो तिनकै हो । बैंकबाट ऋण खानेहरु भागेनन्, बरु लड्न तयार भए । जनतामा धेरै चेतना आएछ भन्ने कुरा यहाँबाट स्पष्ट भएको छ ।बैंक र सहकारीको धन्दाको विरोधमा बोल्नुपर्छ भन्ने आँट जनतामा विकास भयो । ऋण खाने मान्छे भागिदिएको भए, मरिदिएको भए बैंकलाई सम्पत्ति लिलाम गर्न सहज हुन्थ्यो । तर, अबको अवस्था त्यस्तो छैन । हिजो जनतालाई भाग्न बाध्य बनाउनेहरुको भाग्ने पालो आएको छ । धितो लिलाम गर्न खोज्यो भने बैंकका सञ्चालक, सिईओकै घर घेर्न पुग्छन् । कालोपोतो घस्न पनि बेर लगाउँदैनन् ।

बैंक र सहकारीले अत्यन्तै कोठे राजनीति गरे । पहिलेको जस्तो अवस्था अब छैन । ऋण खानेमाथि बैंकले बलजफ्ती गर्न सक्दैनन् । जति मर्नु थियो गरिसके, भाग्ने जति भागिसके । अब कोही भाग्दैनन्, आफ्नो ठाउँबाट कोही डगमगाउँदैनन् । जनतामा धेरै चेतनाको विकास भइसकेको छ । बैंक र सहकारीको कारण कसैले ज्यान फाल्नुप¥यो भने उसको पक्षमा लड्न जनता खडा छन् ।

बैंकमा पैसा राख्नेलाई १० देखि १५ प्रतिशत ब्याज दिइरहेका थिए, त्यो पनि मान्छे हेरेर । बोल्न सक्ने, बाठाटाठालाई २० प्रतिशतमा कर्जा लगानी गर्छन् । बोल्न नसक्ने, सीधासाधीलाई त चुर्लुम्मै बनाउँछन् । अब पालो बैंक र सहकारीको । कार्यालय घेर्ने, तोडफोड गर्ने र ताल्चा लगाउने अवस्था अब छिट्टै आउनेछ । ती संस्थाका अध्यक्ष र चेयरम्यानलाई लगेर चौकीमा बुझाउँछन् । आन्दोलन चर्किन्छ भनेर बुझिसकेका बैंकका सिईओ, चेयरम्यानहरुले राजीनामा दिन सोच्न थालिसकेका छन् । घरायसी कारण देखाएर राजीनामा दिने क्रम केही दिनपछि ह्वात्तै बढ्छ । व्यवसायीहरुले गरेको आन्दोलन रोकिने अवस्थामा छैन । किनकि उनीहरु डुबिसकेका छन् । उनीहरुलाई ‘निल्नु न ओकल्नु’ भएको छ ।

२०६२–६३ सालमा सात राजनीतिक दलले आन्दोलन शुरु गरे । आन्दोलनको माग राजाले विघटन गरेको संसद्लाई पुनः बहाली गर्नुपर्ने थियो । त्यतिखेर राजा फाल्नुपर्छ भनेर आवाज उठेको थिएन । सो आन्दोलन १९ दिन चल्यो, जसले राजतन्त्र फालेरै छोड्यो । राजाले दरबार छोडेर हिँड्नुप-यो ।

नेपालमा राजतन्त्र सदाका लागि अन्त्य भयो । बैंक र सहकारीको हकमा पनि त्यस्तै हुन्छ । वित्तीय संस्थाका सञ्चालकले एक करोड कर्जा दिए भने १० लाख घूस खान्छन्, त्यो पनि धितो राखेर । यसरी तिनले अर्बौं सम्पत्ति जोडेका छन् । तर, हालसम्म पनि शुद्धीकरण विभागले तिनको सम्पत्ति खोजतलास गरेको छैन । सरकारले नखोजे पनि अब जनताले सम्पत्ति छानबिन गर्छन् ।
२० वर्षअघि सहकारीमा बजार प्रतिनिधिको रुपमा काम गर्नेको आज काठमाडौंमा पाँचवटा घर छ । उनीहरु महँगो गाडी चढ्छन् । यत्रो सम्पत्ति कहाँबाट जोडे ? कसले कहिले छानबिन ग¥यो ? एक करोड सम्पत्ति राखेर ५० लाख दियो । तीन किस्ता नतिर्दा उक्त सम्पत्ति लिलाम गरिदिन्छन् । यता, त्यही सम्पत्ति डेढ करोडमा बेचेर नाफा खान्छन् । ऋणी त रोडमा आइपुग्छन् ।

सरकारी कर्मचारीले एक हजार रुपैयाँ घूस खायो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समात्छ । बैंक र सहकारीका अध्यक्षले लाखौंलाख घूस खान्छन् । खोइ त अख्तियार ? एक हजार रुपैयाँ घूससहित समातेर हामीले के¥के न ग¥यौं भन्छन्, अख्तियारका कर्मचारी । सक्छन् भने लाखौं घूस खानेलाई समातेर देखाऔं ? कि तिनको सामु लम्पसार परेका हो ? चाँडो नाफा कमाउनका लागि शेयर, घरजग्गा र गाडीमा लगानी ग¥यो, अहिले उक्त क्षेत्रमा पूरै मन्दी छाएको छ । यसले गर्दा वित्तीय संस्था तनावमा परेका छन् । त्यसैले सबैको ध्यान यतातर्फ जानु जरुरी छ ।
– अनुसा थापा ।