रुख बनस्पति मात्र हैन, मानव जगतको जननी भएकाले सबैले माया गर्नुपर्छ : गृहमन्त्री खाँण



बुटवल।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले रुख सामान्य बनस्पति मात्र नभै समस्त प्राणीजगत र मानवजगतको जननी भएको बताउनु भएको छ । निर्वाचन प्रचार प्रसारका क्रममा रुपन्देहीको भैरहवाको दरखसवा पुग्नु भएका गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मन्त्री खाँणले ब्रम्हाण्डमा क्रमशः आगो, पानी, बनस्पतीपछि मात्र प्राणीको उत्पत्ती भएको बताउनु भयो । यो संसारमा प्राणीको उत्पत्तीपछि मात्र मानिसको बिकास भएको हुनाले रुख मानिसको आमा समान भएको भन्दै गृहमन्त्री खाँणले रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार खाँणले भैरहवा, पडसरी, फर्साटिकर र सेमलारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा दिगो शान्ति, राजनैतिक स्थिरता र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन समेत आग्रह गर्नु भयो ।

एक आध्यात्मिक संस्थामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खाणले समाजमा शान्ति र अमनचयन कायम राख्न आध्यात्मिक तथा धार्मिक संघसंस्थाहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

नेपाली काँग्रेसको सरकारले मात्र देश र जनताको हितमा काम गर्ने उल्लेख गर्दै मन्त्री खाँणले बाबुआमा नेपाली नागरिक हुदाहुदै पनि नागरिकता प्राप्त गर्नबाट बन्चित भएका छोराछोरीहरुका लागि सहज रुपमा नागरिकता उपलब्ध गराउन नागरिकता ऐन ल्याइएको बताउनु भयो ।

रुपन्देहीको विकासका लागि सक्षम नेता चयन गर्न आग्रह गर्दै खाँणले मुख नबोल्ने, कान नसुन्ने र आँखा नदेख्ने प्रकृतिका उम्मेदवारलाई मत नदिन समेत अनुरोध गर्नु भयो ।

नेपाली काँग्रेस लोकतन्त्र, शान्ति र समद्धिको पक्षपाती भएको उल्लेख गर्दै नेता खाणले नेपाली काँग्रेसप्रति जनताको आशा र भरोषा दुबै उत्तिकै रहेको दावी समेत गर्नु भयो । मोतीपुर औद्योगिक करिडोर निमाण गर्दा कसैलाई घरबार बिहिन बनाउने काम सरकारबाट नहुने बताउनु भयो ।

उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्नुपूर्व बसोवास क्षेत्र छुट्टाएर मात्र औद्योगिक क्षेत्रको काम अघि बढाइने कुरा प्रष्ट पार्दै खाँणले स्थानीयको चाहना बिपरीत कुनै काम हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

प्रदेश सभाका उम्मेदवार सन्तोषकुमार पाण्डेले रुख मानव जिवनको महत्वपुर्ण अंग भएकोले रुखलाई आमाको संज्ञा दिदै साईकलले छोरा सरह काँधमा बोकेर हिड्ने भएकोले छोराको संज्ञा दिनु भयो ।

अर्का प्रदेश सभा उम्मेदवार रामचन्द्र ढकालले आफ्नो पार्टीलाई बहुमत दिएर जिताउन आग्रह गर्दै पार्टीका बहुमत सदस्यहरुले जितेमा एमालेले दाङ्ग पुराएको राजधानी पुनः बुटवल फिर्ता ल्याउने दावी समेत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्