विगतको पाँच वर्षसम्म सदनमा के भयो ?

0
Shares

अघिल्लो निर्वाचन २०७४ सालमा जनताले आफ्नो अमूल्य मत दिएर पाँच वर्षका लागि सांसद चुनेर पठाए । कानुन बनाउनका निम्ति सांसद बनाए, सदनमा पठाए ।

तर पाँच वर्षको कार्यकालमा कुनै पनि सांसद राम्रोसँग सदनमा उपस्थित भएनन् । सदन आउने र हाजिर गरेर दौडिहाल्ने सांसदहरुको देखिए । कतिपय त हाजिर नै गर्न सदनमा नजाने । हाजिर गरेपछि भत्ता आउने भएकाले पनि छिन्का लागि सदनमा पुग्ने पनि थिए । तर, तलबभत्ता र सरकारी भत्ताचाँहि निरन्तर लिइरहे । रातो पार्सपोर्ट बोकेर देशविदेश डुलिरहे । सदनमा नगए पनि बैंक खातामा तलबभत्ता आइरहन्छ । सरकारी सेवासुविधा पनि पाइहालेका थिए । पाँच वर्षको कार्यकालमा जति कानुन बन्नुपर्ने थियो, त्यति बन्न सकेन । विधेयक पारित गर्ने बेला सांसदको संख्या नपुग्ने अनि कहाँबाट कानुन बन्छ ? देशका शीर्ष भनिएका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाललगायतले पनि पाँच वर्षको अवधिमा धेरै सांसद आएनन् ।

सदन हो कि दोहोरी घर, बुझ्नै गाह्रो पथ्र्यो । जहिले झैझगडा गर्ने, कुटाकुट गर्ने, कुर्सी फुटाउने, हात टोक्नेलगायतका क्रम चलिरह्यो । पाँच वर्षमा संसद्मा रमिताभन्दा अरु केही देख्न पाइएन । नेकपा एमालेले नौ महिना संसद् अवरुद्ध ग¥यो । त्यति बेला सभामुखलाई कुट्न भनेर एउटामाथि अर्को गर्दै रोस्टमसम्म पुग्ने काम भयो । कतिपय सांसद आफ्नो क्षेत्रमा विकास भएन भनेर पनि रोए ।

ओली सरकारले जुम्लामा बजेट दिएन भनेर नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महत धुरुधुरु रोएका थिए । नेपाली कांग्रेसका गगन थापा र एमालेका महेश बस्नेतको सदैव जुहारी चलिरह्यो । सधैँ गुण्डागर्दी देखाउन तम्सिन्थे यी नेता । तँभन्दा म के कम ? भन्दै भनाभन चलिरहन्थ्यो । यिनीहरुले कहिल्यै जनताको आवाज उठाएनन् । व्यर्थैमा पाँच वर्षको कार्यकाल खेर फाले ।

जनताले मत दिएर सदनसम्म आएका कति सांसदले त बोल्नै जानेनन् । चुनाव जितेर आए तर कहिल्यै जनताको कुरा उठाउन सकेनन् । माइक दियो कि थुरुरु भइहाल्थे । अरुले बोलेको सुनेर कुर्सी थामेर बसिरहन्थे । काभ्रेका सांसद नविना लामा बोल्न नजान्दा हाँसोको पात्रो बनेकी थिइन् । उनी एकदमै ट्रोल पनि भएकी थिइन् । यता, ओलीले कुर्सीमा बसेर तीन घण्टा भाषण सुनाए । रोस्टममा कुर्सी राखेर तीन घण्टा बसेर अर्कामाथि आरोप लगाउने काम गरिरहे । सदन कुर्सी राखेर बोल्ने ठाउँ होइन । उभिएर बोल्नुपर्छ । तर, आफ्नो स्वास्थ्यमा खराबी छ भन्दै उनले बसेर बोले । यस्ता रोगी व्यक्तिलाई जनताले अब मत दिनुहुँदैन । उनको स्वास्थ्यले उभिन त दिँदैन भने देशविकास गर्न सक्लान् ? विधेयकका बारेमा छलफल गर्ने अनि पारित गर्ने बेलामा कुलेलम ठोक्ने ।

विधेयक पारित गर्न ७१ जना सांसद चाहिन्छ । तर, ७० जनामात्र भएकाले धेरैवटा विधेयक पारित हुन सकेनन् । एकजनाका कारणले संसद् नै अवरोध गर्नुपर्ने अवस्था बन्थ्यो । सधैँ एकजना सांसदको अभाव हुन्थ्यो, विधेयक त्यत्तिकै रोकिन्थ्यो । यसो गर्दागर्दै पाँच वर्ष फजुलमा गयो । कुनै पनि सांसदले हामीले जनताले तिरेको करबाट तलबभत्ता खाएका छौं, सेवासुविधा लिएका छौं, देश र जनताका लागि हामीले काम गर्नुपर्छ भनेर सोचेनन् । अधिकांश विधेयक अड्किए, सोचेअनुरुप पाँच वर्षमा धेरै काम हुन सकेन । प्रत्यक्ष चुनाव जितेर आएका सांसदहरुले आफ्नो क्षेत्रको जनताको आवाज उठाएनन् ।

जति दिन सदन चल्यो, त्यति दिन उनीहरु सदनमा हुनुपथ्र्यो । तर, त्यो हुन सकेन, कुनै पनि सांसद सदनमा खटिएनन् । पार्टीले मनोनीत गरेका सांसदहरुले त जागिर खाएका हुन् । उनीहरुलाई जनताले चुनेका होइनन्, जनताका मनमा परेका व्यक्तित्वहरु पनि होइनन् । पार्टीको अध्यक्षको गुलामी गरेर आएकालाई के जनताको माया लाग्थ्यो ? यिनीहरु कमाउन आएका हुन् । जनताबाट चुनिएर गएकाले त केही गरेनन् भने मनोनीतबाट के अपेक्षा राख्ने ? ताली पिट्न बसेकाहरुलाई जनताले के चिन्थे । प्रत्यक्ष चुनाव जितेर आएकालाई त जनताले चिन्न छाडिसके भने पार्टीले दयामाया लागेर मनोनीत बनाइदिएकालाई जनताले गन्दा पनि गन्दैनन् । तलबभत्ता खाने, सरकारी सेवासुविधा लिने अनि देशविदेश घुम्ने । पार्टीका झोलेहरुले योबाहेक अरु के नै गर्न सक्छन् ?

सहकारीको साधारणसभामा जाने, एनजीओको कार्यक्रममा प्रमुख अतिथि बन्ने, अनि ठेक्कापट्टा मिलाउने आफ्नो पोल्टो भर्ने । पार्टीमा पहुँच भयो र पार्टीको नेतालाई खुशी बनाउन सकियो भने छिन्मै मनोनीत सांसद बन्न पाइँदो रहेछ भन्ने त स्पष्ट भइसकेको छ । अघिल्लो दिनसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको झोला बोकेर हिँडेकी कोमल वली भोलिपल्ट एमालेको मनोनीत सांसद बनिन् । पार्टीका अध्यक्षले आफ्नो खल्तीबाट निकालेर थपक्क कुरा दिइहाले, त्योभन्दा अरु के चाहियो ? जनताले चिन्न पनि नपर्ने, पार्टीको लागि योगदान पनि दिनु नपर्ने । अहिले अध्यक्ष ओलीले उनलाई दाङ–३ बाट चुनाव लड्नका लागि टिकट दिएका छन् । महिनौं दिन चलेको सदनमा गगन थापाको एकदिन मात्र उपस्थिति हुन्थ्यो । सभामुखसँग बोल्नका लागि समय माग्ने, ठूल्ठूला कुरा गर्ने अनि दौडिहाल्ने ।

कानुन बनाउनका लागि छलफलमा भाग नलिने अनि पारित गर्ने बेलामा पनि नहुने । कता जानुपर्ने हो, त्यतातिर लागिहाल्ने । सदनमा बस्ने भनेको बोल्न नसक्ने, ठेकेदारहरुसँग लापलुप पारेर खान नसक्ने, व्यापारीहरु नचिन्ने र कार्यक्रममा नबोलाउने, सीधासाधी सांसद हुन् । मिडियामा अन्तरवार्ता दिन जाऊँ भने बोल्ने आँट छैन । फेरि मिडियाले पनि अहिले जे बिक्छ त्यही बिकाउने हो । महेश बस्नेत, गगन थापालगायतका नेताका मिडियामै तथानाम गाली गर्न सक्छन् । अपत्यारिलो कुरा गर्न सक्ने क्षमता उनीहरुसँग छ । यस्ता त सांसद छन् । एकपटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘हामीले पार्टी छोडेपछि ओली बौलाए’ भन्दै कटाक्ष गरेका थिए ।

सांसदहरु जनता र राष्ट्रका लागि होइन, आफ्नो र पार्टीका लागि सदनमा आएका थिए । जनताले अमेरिकी परियोजना एमसीसी पास गर्नुहुँदैन भनेर चर्को आन्दोलन गरे । पार्टीले एमसीसी पास गर्ने भनेर ह्वीप जारी ग¥यो तर कोही पनि त्यसको विरोधमा बोल्न सकेनन् । पार्टीको अगाडि यिनीहरु निरीह बनिहाल्छन् । जनताबाट चुनिएर आएको सांसद हुँदाहुँदै ओलीले सांसद नै नरहेका युवराज खतिवडालाई अर्थमन्त्री बनाए । कांग्रेसले गोविन्द शर्मालाई कानुनमन्त्री बनायो । अनि किन मत दिनुप¥यो ? निर्वाचन किन गरिराख्नुप¥यो ? जसले गुलामी गर्न सक्यो सांसद नभए पनि उनीहरुले मन्त्री पड्काइहाल्छन् । अरु हेरेको हे¥यै । अनि जनताले किन भोट हाल्ने ? घामपानी नभनीकन भोट दिनु बेकारजस्तो भएको छ ।
– केशव शर्मा ।