इंग्ल्यान्ड विश्वकप चेम्पियन



कठमाडौं । इंग्ल्यान्ड टी २० विश्वकप क्रिकेट प्रतियोगिताको चेम्पियन बनेको छ । मेलबर्नमा आइतबार खेलेको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १८.५ ओभरमा भेटायो ।

टोलीलाई उपाधि दिलाउन बेन स्टोक्सले सबैभन्दा बढी ५२ रन जोडेका थिए । स्टोक्स फेरि एकपटक इंग्लिस टोलीका लागि विजेता बने ।

यसअघि वानडेको विश्वकप २०१९ मा पनि स्टोक्सले इंग्ल्यान्डलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । उक्त विश्वकपमा न्युजिल्यान्डविरुद्ध उनको अलराउन्ड प्रदर्शन कारण उनलाई प्लेयर अफ द म्याच को पुरस्कार दिइएको थियो ।

क्रिकेट विश्वकपको इतिहासमा पहिलो पटक डबल्स चेम्पियन टोली बनेको छ । इंग्ल्यान्डले यो सौभाग्य प्राप्त गरेको छ । टी २० विश्वकप र वानडे विश्वकप चेम्पियन बनेको इंग्ल्यान्डले क्रिकेटमा इतिहास रचेको छ ।

वानडे विश्वकपमा २०१९ मा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएर उपाधि जितेको थियो । यो टोलीको पहिलो वानडे विश्वकप उपाधि हो । तर, टी २० विश्वकपमा भने यसअघि सन् २०१० मा उपाधि जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्