काठमाडौँ।
प्रधान सेनापति प्रभुराम शर्माले गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नु भएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षणको क्रममा आज (शुक्रबार ) उहाँले खोटाङ्ग दिक्तेलस्थित श्री गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नु भएको हो।

निरीक्षणकै क्रममा उहाँले उक्त गणको वस्तुस्थिती आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजना कार्यान्वयन लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

निरीक्षण भ्रमणको दौरानमा प्रधान सेनापति शर्माले खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

त्यस्तै आजै प्रधान सेनापति शर्माले भक्तपुरको नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण भ्रमण गर्नुका साथै कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी आवश्यक निर्देशन दिनु भएको थियो । सोही क्रममा प्रधान सेनापति शर्माले उक्त कलेज हाताभित्र निर्माण गरिएको श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक अनावरण एवं एकता बाटिका, भंगेरी ग्रिन तथा भंगेरी मचानको समुद्घाटन गर्नु भएको थियो ।

उक्त निरीक्षणको अवसरमा प्रधान सेनापति शर्माले नेपाली सैनिक वार कलेजद्वारा तयार पारिएको ईन्फ्रेन्ट्री जर्नल ११ औं संस्करणको विमोचन तथा कलेज हाताभित्र वृक्षारोपण गरी कलेजमा कार्यरत सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।

सोही आवसरमा प्रधान सेनापति शर्माले भक्तपुर तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट तथा छलफल समेत गर्नु भएको थियो ।












प्रतिक्रिया