पुल बनाउन सहयोग गर्ने नेता शाहलाई जिताउने स्थानीयको प्रतिबद्धता

0
Shares

बुटवल।

नौं दिनपछि हुने निर्वाचनबाट आम नेपाली जनताले आफ्नो प्रतिनिधि चुन्दैछन । यसपालीको निर्वाचनमा मतदाताले समेत विकास प्रेमी नेता चयन गर्ने भन्दै जसले धेरै विकास गरेको छ उसैलाई भोट दिएर जिताउने प्रतिज्ञा गरेका छन । यसै सन्दर्भमा सैनामैना ७ गौडी क्षेत्रका मतदाता यसपटक पुल बनाएर आफूहरुलाई ठूलो गुन लगाएको भन्दै नेपाली काँग्रेसका भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।

रुपन्देहीको सैनामैना नगरपालिका ७ स्थित गौडी अर्थात अहिले नयाँबस्ती निवासी लालपुरी बषौ देखि यस क्षेत्रमा पुल नहुदा आफ्नो गाउँ टापुजस्तै अनकन्टार भएको बताउछन् । इगुरिया नदीले हरेक वर्षको बर्षायाममा कुनै न कुनैरुपमा मानवीय क्षति गथ्र्यो । बर्षायाममा स्थानीय जनता पुल नहुँदा बाहिर जानै सक्दैनथे ।
त्यस्तै गुल्मी जिल्लाबाट २०५६ सालमा बसाई सराई गरेर हालको सैनामैना वडा नं. ७ गौडीमा आएका स्थानीय तुलबहादुर गलामीका अनुसार यस क्षेत्रका स्थानीय बासिन्दाले खासगरी बर्षायाममा बाढी आउँदा बजार जान, वडा कार्यलय जान तथा स्थानीय बजार कलौनी जान आफूहरुले धरै सास्ती भोगेको बताउँछन् ।

ईगुरिया नदीले मानवीयमात्रै होइन पशु चौपाया समेत बगाउँदा ठूलो जनधनको क्षति भयो । पुल नहुँदा बर्षौंदेखि घुमाउरो बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयहरुको गुनासो रहेको थियो । तर, अहिले अवस्था फेरिएको छ । पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाको जीवनमा अहिले आमूल परिवर्तन आएको छ ।

पुल वनाउन माग गर्दै स्थानीयले रुपन्देही ५ का निवर्तमान सांसद भरतकुमार शाहलाई आग्रह गरेको तिन वर्ष नहुँदै पुल तयार भएको पुरीको भनाई छ । स्थानीयले यसपालीको भोट उनै जनताको पीरमर्का बुझेर पुल बनाउन मद्दत गर्ने शाहलाई दिने बाचा गरेका छन ।

पुल बनेसंगै अव सैनामैना नगरपालिकाका पूर्व पश्चिम सवै वडासम्म जान सुविधा पुगेको छ । त्यसैले स्थानीय वासिन्दा नजिक आईरहेको चुनावमा कसलाई भोट दिने भन्ने प्रश्न गर्दा निर्धक्क पुल बनाएर जनतालाई सुविधा दिने शाहलाई यसपटक भोट दिएर जिताउने भन्छन् । पुल नहुँदा पहिला आफ्नै वडाको बयरकट्टी, देउवापार, दोगहरा तथा कलौनीको बजारसम्म आउन स्थानीय गौडीका जनताले निकै सास्ती पाए ।

एउटै वडा भएर पनि नजिकको गाउँ शहर जस्तै तर आफ्नो गाउँ भने श्रीलंका टापु जस्तो बनेकोमा स्थानीयमा ठूलो पीडा थियो । पुलका लागि अनेक गुहार गरे तर अन्तिममा संघीय सांसद भरतकुमार शाहलाई आफ्नो बेदना पोखे । सांसद शाहले पनि सांसदको भूमिकामै हुँदा बजेटको व्यवस्थापन गरेर पुल बनाउन ठूलो सहयोग गर्नुभयो ।

अहिले स्थानीय बासिन्दामा खुसीको सीमा छैन । पहिलेको अनकन्टार टापु अहिले सुगम बनेको छ । मंसिर ४ गते हुने निर्वाचन नजिक आउँदै गर्दा मतदाताले समेत विकास प्रेमी उम्मेदवार छनौट गर्ने बताईरहँदा भरतकुमार शाहको नाम रुपन्देही क्षेत्र नं. ५ मा अग्रपंक्तिमा लिने गरेका छन् ।