१२ बुँदे माग, १२ किलोकै माला

भानुमा प्रचार गर्दै पौडेल



मिला दरै, तनहुँ । 

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई १२ किलोको माला पहिराइएको छ । भानु नगरपालिका–१२ बिहीबार आयोजित चुनावी सभामा नेता पौडेललाई १२ बुँदे योजना निर्माणको मागसहित १२ किलोको माला पहिराइएको हो ।

भानुवासीले उक्त क्षेत्रका १२ योजनाहरूको विकास गर्न आग्रह गर्दै माला लगाएर जितको शुभकामना दिएको नेपाली कांग्रेस तनहुँ क्षेत्र नं.१ का सभापति श्यामकुमार मौरतीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक कालोपत्रे, खानेपानी योजनालगायतका १२ योजनाको विकास निर्माणका लागि उनीहरूले मालासहित स्वागत गरेका हुन् ।

मौरतीले भन्नुभयो– ‘वरिष्ठ नेता पौडेलको जित सुनिश्चित छ भन्दै भानुवासीले यसरी सम्मान गरेका हुन् । उहाँको जितले जिल्लाको विकास हुन्छ भन्ने अपेक्षा पनि बलियो छ । उल्लासमय भानुवासीको स्वागतले उहाँको उत्साह बढेको छ ।’ भानुवासीले जितपछि पनि यसरी नै स्वागत गर्न पाइयोस् भन्ने अपेक्षा रहेको बताएका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अलपत्र विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा कार्यान्वयनका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उहाँले तनहुँमा २०७४ को आफूले चुनाव हारेपछि विकासका कार्य अलपत्र परेको बताउनुभयो । ‘जनतामा व्याप्त निराशा हटाउन यहाँ सुशासनको खाँचो छ’ –उहाँले भन्नुभयो । सुशासन दिने नैतिक सामथ्र्य बचाएर राखेको पौडेलको दाबी छ ।

‘देशमा व्यवस्था परिवर्तन भयो । अवस्था परिवर्तन भएन । यसको कार्यान्वयन गर्न मैले उम्मेदवारी दिएको हुँ । गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् पूर्ण रूपमा कार्यान्वयन गरी परिवर्तित व्यवस्थाको अनुभूति गराउनेछौं’ –उहाँले भन्नुभयो । ‘बहुदल आएपछिका दिनहरूमा गाउँ–गाउँमा आधुनिक सुविधाका पूर्वाधारहरू पु¥याएका छांै’, नेता पौडेलले भन्नुभयो– ‘ती कति अधुरा छन्, अपूर्ण छन् । तिनलाई पूरा गर्नु छ, स्तरोन्नति गर्नुछ । आगामी पाँच वर्षमा एउटा उल्लेखनीय प्रगति हुनेछ । सबै गाउँमा कालोपत्र सडक पु¥याइनेछ । अलपत्र परेको विकासलाई गति लिन म चुनावी मैदानमा छु ।’

गठबन्धन सरकार बनाएर अघि बढेपछि तनहुँको विकास पुनः जुरमुराउने उहाँले बताउनुभयो । बुद्धसिंह मार्ग कालोपत्रे गर्न४६ करोडको टेन्डर भई काम शुरू भएको उहाँले बताउनुभयो । मादी–मस्र्याङ्दी सडक र शालीग्राम मार्गका लागि .४०÷४० करोडको बजेट निकासा भई काम शुरू हुन लागेको पौडेललको भनाइ थियो । क्यामिन मार्ग, कालीमाटी–कुन्छा सडक, दमौली–केशवटार सडकलगायत दशौं सडक कालोपत्र गर्न ठेक्का, टेन्डर समेत भइरहेका छन् । व्यास ३ र ५ जोड्ने पुल र कलेस्ती, चिन्टुटार सारङघाट–सुन्तलामार्ग मोटरेबल पुल निर्माण हुन गइरहेको पौडेलले बताउनुभयो ।

त्यस्तै, चुँदी जलजले, दिउल खोला, जिताको खहरे आदिमा पनि मोटरेबल पुल निर्माण योजना आफ्नै पहलमा स्वीकृत भएको पौडेलले स्पष्ट पार्नुभयो । कृषि क्रान्तिको क्षेत्रमा पशुपालन, तरकारी, फलफूल, खेती तथा मत्स्यपालनलाई आधुनिक र व्यावसायिक तवरबाट अघि बढाउन उम्मेदवार बनेको उहाँले दोहो¥याउनुभयो ।

‘मसँग सपनाहरू छन् । योजनाहरू छन् । संकल्प र अठोट छ । नेपाललाई सुशासन तथा सम्पन्नता दिने र तनहुँलाई चौतर्फी विकासको नमुना जिल्ला बनाउनेछु’ –नेता पौडेलले भन्नुभयो । वरिष्ठ नेता पौडेल भानु नगरपालिकाका मतदाताको गाउँघरमा पुगेर गुनासो र समस्या संकलन गर्दै पूरा गर्ने वाचासमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्