नेपालमा पहिलो पटक नियन्त्रित लागूऔषध खात र एम्फेटामाईनसहित ५ जना पक्राउ



काठमाडौं । नेपालमा पहिलो पटक नियन्त्रित लागूऔषध खात, गाँजा र एम्फेटामाईनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (बिहीबार) नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान र लागूऔषध नियन्त्रण व्यूरोले एक विज्ञप्तिमार्फत उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

गत १७ गते ग्रिनटीको नाममा नियन्त्रित लागूऔषध खात कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–२४ धापाखेल ललितपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही महानगरपालिको सोही वडामा बस्ने ३६ वर्षीय कविराज खड्का र धादिङ सिद्धलेख गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने रामकुमार श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट अवैध लागूऔषध खात २८० किलोग्राम, १ थान डिजिटल तराजु, १ थान ल्यापटप र प्रयोग गरिएका र नगरेका ५ थान सिमकार्ड बरामद गर्नुको साथै बा २० च १५८ नम्बरको बोलेरो पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

खड्का र श्रेष्ठ उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित जिल्ला अदालत ललितपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै लागूऔषध १० किलो गाँजा ३०० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका–४ का ४३ वर्षीय वीर बहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ । उनलाई गत ७ गते सांगिला टुर्स प्रालि नक्सालबाट १० किलोग्राम गाँजा रिसिभ गर्नेक्रममा पक्राउ गरिएको हो ।

रिसिभ गरिएको गाँजा लिएर जानको लागि आएका भारत पूर्वी चम्पारन नागारोड, कालीमन्दिर, रक्सौलका वर्ष २५ को राजा कुमारलाई गत ४ गते सिनामंगलबाट प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी लागूऔषध एम्फेटामाईन (आईस) ३ ग्रामसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई यहीँ महिनाको १८ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१६ म्हैपीस्थित एक होटलबाट लमजुङ बेसीशहर नगरपालिका–४ वतन भएका वर्ष ३८ वर्षीय को जोन भन्ने ओम बहादुर गुरुङ्गलाई लागूऔषध एम्फेटामाईन (आईस) ३ ग्रामसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरु उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको सूचना अधिकारी योगेन्द्र कुमार खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्