निर्वाचनप्रति दैलेखका मतदाता असन्तुष्ट



दैलेख ।

यति वेला मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विभिन्न उम्मेदवारहरूले आ-आफ्नो स्तरबाट विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । विभिन्न पार्टीका उम्मेदवारहरु हुन या स्वतन्त्र उम्मेदवारहरु हुन विभिन्न तामझामका साथ बाजागाजाका साथ आमसभाहरु गर्दै मतदाताहरु रिझाइरहेका छन् । विभिन्न चोक चौतारीहरु र सभा स्थलमा कार्यक्रमहरू भइरहँदा दैलेखका मतदाताहरु भने विगतका चुनावको जस्तो आगामी चुनावप्रति उत्साहित छैनन् ।

त्यसो त भर्खर केही महिना अघि मात्रै स्थानीय तहको निर्वाचनमा समेत मतदाताको त्यति उत्साह थिएन र लगतै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनै लाग्दा उनीहरू दिक्क मानिरहेका छन् ।

विगतमा  पनि धेरै चुनावहरु भए । दैलेखका मतदाताहरुले पनि विभिन्न पार्टीका उम्मेदवारहरुलाई मत दिए अनि सत्तामा पुगाउँदै भत्ता खानेसमेत बनाए । यस पटक पनि आगामी मङ्सिर ४ मा हुने चुनाव नजिकिँदै गर्दा आम मतदाताहरु भने उत्साहित छैनन् । पार्टीका आमसभा र कार्यक्रममा पार्टीमा आस्थावान कार्यकर्ताहरुको उपस्थिति भएपनि सर्वसाधारण मतदाताहरु्र भने कसैलाई मत दिएर केही नहुने बताइरहेका छन् ।

आगामी मङ्सिर ४ मा चुनाव हुदैछ नि तपाईँलाई केही थाह छ कि ? भन्ने प्रश्नमा दैलेखको दुल्लु नगरपालिका ९ का योगेन्द्रदेव पुरीले मन खिन्न पार्दै भन्नुभयो “ राजनिति पेसा भयो ,धेरैलाई मत दिइयो जिताइयो , उनीहरूले राजधानी मात्रै रोजे ,जनताको लागी केही गरेनन् । कमाइखाने भाँडो मात्र भयो , भोट त हालौला तर त्यति मन उमङ्ग छैन ।”

उहाँसंगै रहनुभएका दुल्लु ७ का दीर्घे वादीपनि यो चुनावप्रति सन्तुष्ट देखिनुहुन्न । उहाँले भन्नुभयो “हाम्रो बारेमा सोचिदिने कोही छैन, भोट हाल्ने बेलामा मात्र घरघर आउँछन अनि जितेपछि हराउछन , मत त दिनैपर्ला तर मन खुसी छैन ।”

त्यसो त दैलेख सदरमुकाम नारायण नगरपालिकामा जुत्ता सिलाएर गुजारा चलाउँदै आउनुभएका भक्त बहादुर सुनारको पनि कथा उस्तै छ । आगामी चुनावलाई कसरी बुभ्mनुभएको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “विकास गर्ने नेता कोही छैन, यहाँका युवाहरु र हामी जस्ता सिप भएकाहरुलाई रोजगारको व्यवस्थापन गरिदिने कोही भए भोट हालौँला नत्र नहाले पनि केही हुनेवाला छैन । ”

उता दैलेखको पूर्व नौमुले पैतिका सुरेस विक पनि आगामी चुनावप्रति उत्साहित नभएको बताउनुहुन्छ । काम विशेषले सदरमुकाम आउनुभएका विकले भन्नुभयो “जनताको शुखदुखमा साथ दिने कोही रहेनछ आफ्नालाई मात्र हेर्छन् ,यति वेला चिल्ला भाषण मात्रै गर्छन् काम त उही हो किन भोट दिने यिनलाई ? म त दिन्न घरमै काम गरिन्छ ।”

दैलेखमा मतदाताहरु विगतमा पनि धेरैलाई मतदान गरेको र सत्तामा पुगाएको भन्दै यसपालि आफूहरूले भोट नै नहाल्ने समेत बताइरहेका छन् ।
त्यसो त भोट लिएर आफ्नै कोट मात्र बदल्ने परिपाटीले पनि मतदाताहरुमा यो नैरास्यता उत्पन्न भएको हुनसक्छ । यसप्रति यति वेलाका उम्मेदवारहरूले राखेका प्रतिबद्धता अनूरुप काम गर्दै सचेत बन्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्