‘सुदूरपश्चिमका ठूला आयोजना प्राथमिकतामा’



बैतडी । 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ । बुधबार संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमको विकासका लागि सुदूरपश्चिकै ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो ।

पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना शहर काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छोड्छु, । पश्चिम सेती भारतीय कम्पनीसँग सम्झौता गरेर भएर अघि बढ्न गइरहेको छ । पश्चिम सेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’

यसका साथै उहाँले पञ्चेश्वर आयोजना अघि बढाउन पहल गरिने, महध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न, पाटन नमुना शहर निर्माण सम्पन्न, पत्ताल भुवनेश्वर धामको विकासको काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले देशको आवश्यकताको आधारमा गठबन्धन भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । एक अर्को प्रसंगमा उहाँले अहिलेको नेपालमा संघीयता रहने कि नरहने भन्ने चिन्ता बढेकाले संघीयता आवश्यक रहेकोमा जोड दिनुभयो ।

आर्थिक क्रान्तिका लागि गठबन्धन सरकार: प्रचण्ड

यस्तै, सोही चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक क्रान्तिका लागि मंसिर ४ पछि नेपालमा गठबन्धनको सरकार आवश्यक रहेको बताउनुभयो । ‘आर्थिक क्रान्तिका लागि अहिलेको गठबन्धन हो । आम जनसमुदायको चाहनाअनुसार यो गठबन्धनले काम गर्नेछ । अग्रगमन र प्रतिगमनका गठबन्धन बनेका छन् ।

अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहंकार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।’ प्रचण्डले १२ बुँदे समझदारीकै बेलादेखि जयनेपाल भन्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्तिप्रक्रियामा लैजाऊँ भनेर कुरा भएको त्यसपछि शान्तिप्रक्रिया अगाडि बढेको हो । १२ बुँदे समझदारी गर्दा मैले जय नेपाल भनेको र गिरिजाप्रसादले लालसलाम भन्नुभएको थियो । उति बेलादेखि नै माओवादी र कांग्रेसको गठबन्धन भएको हो ।’

उहाँले दुई तिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘दुईपटक संसद् विघटन गर्ने केपी ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो ? फेरि किन दिने संविधान मिच्न ? अधिकार कुष्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।’

यसका साथै उहाँले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताउनुभयो । उहाँले झुलाघाटमा पुल, मध्यपहाडी लोकमार्ग र महाकाली करिडोर अगाडि बढाइने बताउनुभयो । प्रचण्डले सम्बोधनका क्रममा यो विशाल उपस्थितिले बैतडीमा गठबन्धनले निर्वाचन जितिसकेको बताउँदै केन्द्र र प्रदेशका उम्मेदवारलाई मन्त्री बनाइने उद्घोष गर्नुभयो ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त रूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् ।गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजय सुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेश सभा (क) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्