भूकम्पमा परी ६ को निधन, शोकमा डुब्यो गैरागाउँ



डोटी ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही भूकम्पमा परी ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ का ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको मृत्यु भएको बताउनुभयो । घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार गएराती ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को र २ बजेर १२ मिनेटमा ६.६ को भूकम्प गएको हो । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका थिए । खेतीपाती भित्र्याउने समयमा ६ जनाको भूकम्पले ज्यान लिएपछि गैरागाउँ शोकमा डुबेको छ । राती निदाएका समयमा आएको भूकम्पका कारण उक्त गाउँमा मानवीयसहित निकै ठूलो धनजनको क्षति भएको स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी त मस्त निद्रामा थियौं, भूकम्प आएर हल्लाएपछि मात्र ब्युँझियौं ।

यो ठाउँमा निकै ठूलो क्षति पु¥याएको छ, मानवीय क्षतिसहित आठ घर भत्किएका छन्, रातभरि घरबाहिर खेतमा आगो बालेर बितायौँ, हामीलाई ठूलो विपद् आइलागेको छ ।’भूकम्पले घरसमेत भत्काएका कारण भागेर ज्यान जोगाएका अन्य स्थानीयलाई अब रात कहाँ बिताउने भन्ने चिन्ता थपिएको अर्का स्थानीय रघु कठायतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भूकम्पले घर भत्काएकाहरूलाई अब के खाने र कहाँ बस्ने चिन्ता थपिएको छ, सबै तह र तप्काबाट पीडितलाई राहतका लागि पहल हुन आवश्यक छ ।’

अहिले गैरागाउँ पूरै शोकमा डुबेको छ । उक्त ठाउँको दुःखद अवस्था हेर्दा जो कोहीका आँखा रसाउने र आँशु खस्ने गरेको छ । राति निदाएको समयमा आएको भूकम्पका कारण ठूलो मानवीय क्षति भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै जना राति निदाउनुभएको थियो, एकाएक भुइँचालो आयो, बालक, वृद्ध, वृद्धाले भाग्न नपाउँदा दुःखद घटना भयो, हाम्रो पूरै पालिका ठूलो शोकमा परेको छ ।’

फेरि भूकम्प आउँछ कि भनेर त्यहाँका स्थानीयवासीमा त्रास पैदा भएको छ । भूकम्पबाट ज्यान जोगाएकाहरू कसैसँग खासै खेलेर बोल्न सक्ने अवस्थामा छैनन् । पीडितहरूको उद्धार तथा अन्य क्षतिका विषयमा नेपाली सेनाको टोली, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।यसै गरी नेपाल रेडक्रस डोटी शाखाको टोली पनि राहत तथा उद्धार सामग्रीसहित उक्त क्षेत्रमा पुगेको छ । उद्धार टोलीले भत्किएका तथा चर्किएका घरहरूबाट लत्ताकपडा, अनाज, भाँडाकुडालगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौंको संख्यामा पशु चौपायाहरूसमेत मरेका हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।

भूकम्पमा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको छ । गम्भीर रूपमा घाइते भएका दुई जनाको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि उहाँहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली पठाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । थप उपचारका लागि कैलाली पठाइएका घाइतेहरूमा ४० वर्षीया चना बोहरा र ५० वर्षीया विष्ना बोहरा रहेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईतेहरू मध्य चनाको छातीमा हावा जमेको, चारवटा करङ् भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उहाँको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । यसै गरी अर्की रेफर भएकी घाइते विष्नाको हात भाँचिएको छ । अन्य ५ जना घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पमा परी मृत्यु भएका ६ जनाका परिवारलाई १ लाख ५० हजार राहत दिने घोषणा गर्नुभएको छ ।

बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारहरूलाई राहतसहित आवश्यक काजकिरियामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही २५ हजारका दरले १ लाख ५० हजार राहतको घोषणा गर्नुभएको हो ।यसै गरी नेकपा एमाले डोटीले पनि भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई १ लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गर्नुभएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने मल्लले जानकारी दिनुभयो ।

उता सामाजिक अभियन्ता भक्तराज जोशीले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति १० हजारका दरले ६० हजार किरिया खर्चका लागि सहयोग दिनुभएको हो । जोशी सोही पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका स्थानीयवासी पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्