मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता



मुगु । मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका–८ रिगाकी २४ वर्षीया रमाना गिरि तीनदेखि बेपत्ता भएकी हुन् ।

अस्ति (सोमबार) देखि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । रमाना आफ्नै घरबाट बेपत्ता भएको परिवार स्रोतले बताएको छ ।

बाजुरा वुढिनन्दा नगरपालिका–१ माइतीघर भएकी गिरीले पाँच वर्षअघि रिगाका २८ वर्षीय प्रेमलाल गिरिसँग प्रेम विवाह गरेकी थिइन् । प्रेमलाल र रमानाका चार वर्षीय छोरा र तीन महिने छोरी छन् ।

सोमबार राती आफ्नै घरबाट रमाना बेपत्ता भएपछि माइती पक्षले तीन महिनाकी छोरीलाई छोडेर बेपत्ता हुने कल्पना समेत गर्न नसकिने बताए । उनका मावली पक्षले भने भान्जी (रमाना) बेपत्ता नभई हत्या गरेको आरोप लगाएका छन् ।

रमानाका मामा सिंहराज गिरीले आफ्नी भान्जीलाई सोमबार राति पति र उनका घरपरिवार मिलेर हत्या गरेको आरोप लगाउँदै आएका छन् । उनले भने, ‘घरपरिवार र बेपत्ताको नाटक रचेका रिगा गाउँबासीले हत्याको घटना लुकाउन खोजेका छन्, सत्यतथ्य छानवीन गरी न्यायालयले भान्जीलाई न्याय दिलाउँनु पर्छ ।’

सोमबार राति घरपरिवारसँगै बसेर खाना खानुपर्छ भनेपछि रमानाले छोरीलाई सुताएपछि मात्र खाने जिकिर गरिन् । त्यसपछि उनी घरको माथिल्लो तलामा रहेको कोठामा गइन् । उनी त्यहाँ गएको दुई मिनेटपछि छोरी रोएको आवाज सुनियो र आफू कोठमा जाँदा श्रीमती नभेटेको श्रीमान् प्रेमलालले बताए । त्यसपछि रातभर खोजी गर्दा पनि नभेटेको उनी बताउँछन् ।

माइती पक्षले हिजो (मंगलबार)देखि सुकाढिक प्रहरी चौकीमा बेपत्ता भनिएकी रमानाको तत्काल खोजी कार्य गरिदिन भन्दै धर्ना दिएका छन् भने हिजो नै उक्त चौकीमा उजुरी दिएका छन् ।

गाउँलेका अनुसार सोमबारभन्दा दुई/तीन दिनदेखि रमाना गाउँमा नदेखिएको बताएका छन् । घटनाको थप अनुसन्धानका लागि रमानाका श्रीमान् प्रेमलाल गिरिलाई सुकाढिक प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

उनी बेपत्ता भएकी हुन् या हत्या गरिएको हो ? सत्यतथ्य जानकारी अनुसन्धानपछि मात्रै दिन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्