उद्यमी त काम गर्दै जाँदाको एउटा परिचय हो, लक्ष्य त समाजको विकास र समृद्धि नै हो : खड्का



चुनाव नजिकिँदै जाँदा दल र उम्मेदवारहरुले प्रचार–प्रसार तीव्र बनाएका छन् । केही क्षेत्र यस्ता छन्, जहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने निश्चित छ । त्यस्तै मध्येको एक हो ललितपुर क्षेत्र नम्बर ३, जहाँ एमालेका युवा नेता अमृत खड्काले माओवादी केन्द्रकी नेतृ ऊर्जामन्त्री पम्फा भुसाललाई चुनौती दिँदै हुनुहुन्छ । किशोर अवस्थामै ललितपुरको सैबु गाउँ विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका खड्का समाजसेवी, सफल उद्यमी र निर्यातकर्ताका रूपमा स्थापित हुनुहुन्छ । उहाँसँग हामीले चुनावमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

तपाईंले आफ्नो उम्मेदवारीलाई कसरी लिनुहुन्छ ?

म २०४५ सालबाट अनेरास्ववियुमा संगठित भई २०४६ सालको जनआन्दोलनमा होमिएको र त्यस क्रममा घाइते भएको व्यक्ति हुँ । राजनीतिक जीवनलाई अघि वढाउने क्रममा मैले २३ वर्षको उमेरमा २०५४ सालमा सैंबु भैंसेपाटी गाउँ विकास समितिको अध्यक्षको भूमिका निर्वाह गरें । सामाजिक जीवनका अनेक क्षेत्रमा निरन्तर क्रियाशील छु । अहिले पार्टीको वागमती प्रदेश कमिटी सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु ।

पार्टीको पद्धति, प्रक्रिया अनुसार सबै कमिटीबाट मेरो नाम सिफारिस भएको हो, जसलाई मूल्यांकन गरेर पार्टी केन्द्र र नेतृत्वले मलाई चुनावी प्रतिस्पर्धामा पठायो । यसलाई मैले अर्को एउटा जिम्मेवारी पूरा गर्नका निम्ति यो योग्य व्यक्ति हो भनेर पार्टी र नेतृत्वले मप्रति गरेको विश्वासका रूपमा लिएको छु । त्यसलाई आत्मसात् गरेर अघि बढेको छु ।

मत माग्न जाँदा तपाईंबाट आम मतदाताले के–कस्ता अपेक्षा गरेका छन् ?

म एक सरल र साधारण व्यक्ति हुँ भन्ने कुरा ललितपुरका सबै जनतालाई थाहा छ । मैले यो उमेरसम्म आइपुग्दा थुप्रै उतार–चढाव व्यहोरेको छु । समयसँगै कहिले खुसी त कहिले दुःखकोे अनुभव गरेको छु । म काँठ क्षेत्रमा जन्मिएँ, त्यहीं हुर्किएँ । सधैं   सबैप्रति सम्मानपूर्ण व्यवहार गरें, गर्छु । खुसीमा नभए पनि दुःखमा साथ दिनुपर्छ भन्ने मेरो मान्यता हो ।यो कुरा मेरो क्षेत्रका आदरणीय मतदातालाई जानकारी छ ।

त्यसैले मप्रति उहाँहरुको अपेक्षा र विश्वास छ । केही गर्छु भन्ने हुटहुटीले भरिएको मान्छेका रूपमा उहाँहरुले मलाई बुझ्नुभएको छ भन्ने मेरो विश्वास हो । उहाँहरुको विश्वास र प्रेरणाले नै म अघि बढेको छु । मत मागिरहँदा उहाँहरुले हामीकहाँ रहेका बेथितिप्रति बढी चिन्ता व्यक्त गर्नुभएको छ, भ्रष्टाचार बढ्यो भन्ने चिन्ता छ । यस्तै, विकासको प्रक्रिया व्यवस्थित भएन, एउटाले भत्काउने, अर्कोले बनाउने, फेरि अर्कोले भत्काउने, फेरि बनाउने यो भएन

भन्नेमा उहाँहरुको चिन्ता छ । सहज र सरल ढंगले आफ्नो भूमिमा बाँच्न सकियोस्, श्रमको उचित मूल्य प्राप्त होस्, शिक्षा स्वास्थ्य अति महँगो भयो, यसलाई सर्वसुलभ बनाऊ भन्ने नै उहाँहरुको कुरा हो । म पनि यही समाजको सामान्य मान्छे हुँ, यी समस्या भोगेको छु । हामीकहाँ उचित ढंगले योजना बनाउने, त्यसको सही ढंगले कार्यान्वयन गर्ने कुरामा समस्या छ । त्यसको अन्त्य गर्न सक्दा मात्रै हामी अपेक्षित विकासको गतिमा अघि बढ्न सक्छौं ।

तपाईं एक उद्यमी रहँदारहँदै किन राजनीतिमा आकर्षित हुनुभयो ?

हाल नेपाल निर्यात व्यवसायी महासंघको महासचिव छु । त्यसो त म सानै उमेरदेखि राजनीतिमै थिएँ । २०४६ सालमा नै मैले तत्कालीन नेकपा मालेको पार्टी सदस्यता लिएको हुँ । त्यसो नभएको भए २०५४ सालमा गाविस अध्यक्ष बन्ने कुरा हुँदैनथ्यो होला । सँगसँगै म कामप्रति विश्वास गर्ने व्यक्ति हुँ ।

सायद त्यसैले उद्यमीका रूपमा पनि आफ्नो परिचय बनाउन सकेको हुँ । तर, उद्यमी भएर, त्यसको बलमा राजनीतिमा लागेको भने पटक्कै होइन । यसका लागि त मेरो विगतको पृष्ठभूमि हेरे पुग्छ । म सैंबु गाविसको अध्यक्ष भएकै बखत हामीले सैंबु आवास आयोजनालाई सफल बनायौं । अहिले यो आवास योजना यस क्षेत्रका जनताको गर्व गर्न लायक भएको छ । आवासभित्र संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको निर्माण अन्तिम चरणमा पुगेको छ ।

युवालाई नेपालमै रोजगारी दिनुपर्छ भन्ने उद्देश्यले सयौं युवालाई व्यवसाय गर्न प्रेरित गरेको छु । देशका विभिन्न भागमा पुगेर कृषि, जडीबुटी, वन पैदावार र खानीको क्षेत्रमा कसरी काम गर्न सकिन्छ, त्यसलाई कसरी आय–आर्जनसँग जोड्न सकिन्छ भन्नेमा समुदायसँग मिलेर काम गरेको छु ।मुलुकको अर्थतन्त्रको परनिर्भरता अन्त्य गर्न उत्पादन र निर्यात वृद्धिका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन गरेको छु । अर्कोतिर, सामाजिक काममा पनि जोडिएको छु । आफ्नो ठाउँबाट सकेको सहयोग गरेको छु ।

कोभिड महामारीको समयमा मैले गरेको कामबारे सबै जानकार हुनुहुन्छ । अक्सिजनको अभावमा छटपटिरहँदा कन्सन्ट्रेटर बोकेर घर–घरमा पुगेको छु । एभोकाडोको खेतीका लागि प्रोत्साहित गरेको छु ।अहिले पनि नियमितरूपमा आफ्नो कमाइको दश प्रतिशत समाजसेवामा लगाइरहेको छु । वातावरण प्रदूषण नियन्त्रण गरी जीव र मानिसको सुरक्षाका लागि पोखरीकोे पानीलाई कसरी सफा गर्न सकिन्छ भन्नेबारे अध्ययन अनुसन्धान र त्यसमा काम गरिरहेको छु । मेरो भनाइको अर्थ मूल रूपमा म समुदायसँग जोडिएको छु भन्न खोजेको हुँ । म समुदायको सेवामा आफूलाई समर्पित गर्न चाहन्छु । त्यसैले उद्यमी त काम गर्दै जाँदाको एउटा परिचय हो, लक्ष्य त समाजको विकास र समृद्धि नै हो ।

अर्कोतिर नेपालमा निर्मित कयौं उत्पादनले नीति अभावका कारण आफ्ना उत्पादनलाई विश्व बजारमा पु¥याउन नपाएर त्यसै लोप हुने अवस्थाको सामना गर्नुपरिरहेको छ । मुलुकको मौलिक उत्पादनलाई थप प्रोत्साहन गर्ने नीति निर्माण र निर्यात वृद्धिको वातावरण बनाउन आवश्यक छ । हामीले साँघुरो मानसिकता बनाइराख्यौं भने सधैंभरि आयातले मात्र हाम्रो अर्थतन्त्र धान्दैन । त्यसका लागि निर्यातमै जोड दिनुपर्छ । फेरि राजनीतिमा सुधार नगरीकन, मुलुक विकासको सुस्पष्ट सोच भएकाहरु सँगसँगै नहिँडीकन परिवर्तन सम्भव छैन ।

हाम्रो पार्टीले घोषणापत्रमार्फत आफ्ना दृष्टिकोणहरुलाई जनताको बीचमा लगेको छ । त्यहाँ हामीले कसरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सक्छौं भन्ने प्रस्ट योजना छन् । ती योजनाको प्रभावकारी कार्यान्वनबाट नै नेपाल तीव्र विकासमा अघि बढ्न सक्छ ।

चुनावी प्रचारमा जुटिरहँदा मुख्य गरी के विषय अघि सार्नुभएको छ ? यस क्षेत्रको विकासका लागि तपाईंका एजेन्डा के हुन् ?

पहिलो कुरा त मैले यस क्षेत्रका समस्यालाई मसिनो गरी अध्ययन गरेको छु । र, त्यसको समाधानका लागि आधार तयार गरेको छु । पूर्वाधार विकासदेखि, सामाजिक सुरक्षासम्मका विषयमा मसँग स्पष्ट योजना छन् ।

पूर्वाधार विकासको सन्दर्भमा हामीले कतिपय क्षेत्रमा हाम्रा सोचहरुलाई परिवर्तन गर्न आवश्यक छ । जनसंख्या र भूगोलको अनुपातलाई आधार बनाएर शहरी क्षेत्रको विकास गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने अवस्था निर्माण मेरो प्राथमिकता हो । अर्कोतिर स्वास्थ्य सेवाको सहज पहुँच स्थापित गर्ने र त्यसलाई सर्वसुलभ बनाउने मेरो सोच हो । जस्तो अहिले ललितपुरमा रहेको सरकारी अस्पताल पाटन अस्पतालमा अत्यधिक चाप छ ।

यसलाई हामीले घटाउनुपर्नेछ, त्यसका लागि ललितपुरमा अर्को एउटा सरकारी अस्पतालको स्थापना भयो भने बिरामीलाई सर्वसुलभ ढंगले गुणस्तरीय सेवा पु¥याउन सकिन्छ । अर्कोतिर अहिलेको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिको क्षेत्रमा हामीले स्तरीय काम गर्न सकेनौं भने धेरै पछाडि पर्छौं । अमेरिका लगायतका देशमा नेपालका युवाहरुले सूचना प्रविधिको क्षेत्रमा निकै राम्रो काम गरिरहेका छन् ।

उनीहरु निकै क्रिएटिभ छन् ।हामीकहाँ सूचना प्रविधिको क्षेत्रमा काम गर्न एउटा आईटी पार्कको आवश्यकता छ । जहाँ सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा स्थापित कम्पनीहरुको शाखा राख्न सकियोस् । त्यहाँ सूचना प्रविधिसँग सम्बन्धित सबै कुरा उपलब्ध हुन सकोस् । यस्तो पार्क शहरी क्षेत्रमै राख्नुपर्छ । बाहिरबाट आउनेहरु, विदेशी पनि यसका लागि धेरै टाढा जानुपर्ने अवस्थाको अन्थ्य गर्नुपर्छ । ललितपुर महानगरभित्रै जग्गा व्यवस्था गरेर त्यस्तो पार्क निर्माण गर्न आवश्यक छ ।

धातुकला, काष्ठकला, मूर्तिकला, प्रस्तरकला, थाङ्का ललितपुरका आफ्नै विशिष्ट परिचय हुन् । यहाँ जत्तिको मौलिक शैली अन्यत्र छैन । यी कला हाम्रो परिचय मात्र होइनन्, विश्वमा हामीलाई चिनाउने माध्यमसमेत हुन् । हाम्रा परिश्रमी हातहरुले बनाएका यी मौलिक धातुकला, काष्ठकला, मूर्तिकला, प्रस्तरकला, थाङ्का विश्व बजारमा पठाउन अनलाइन रिटेल सेन्टर खोल्नुपर्छ । यो सहज ढंगले गर्न सकिने काम हो ।

यस क्षेत्रमा अथाह सम्पदा, मौलिक कला संस्कृति छन् । यी कला, संस्कृतिको उपयोग गर्दै आर्थिक उपार्जन र रोजगारी सिर्जना अर्को प्राथमिकता हो । यस्तै, ललितपुरको बुङ्गमती, खोकना, ठेचो, ठैब, हरिसिद्धि, सुनाकोठी, पिम्बहालजस्ता सम्पदा स्थललाई पर्यटकीय हबका रूपमा विकास गरी पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ । खोकना, ठेचो र बाँडेगाउँमा उत्पादन हुने तेललाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुरूपको बनाउन सकिन्छ । त्यसै गरी, यहाँको मौलिक बाजा, ललितपुर महानगरभित्र सबैभन्दा बढी बोलिने नेपाल भाषाको संरक्षण, सबै जातजातिका गुठी, दाफाखललाई आत्मनिर्भर बनाउन सकिन्छ ।

अर्कोतिर, भूकम्पले ध्वस्त भएका सम्पदाहरुको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउने, मौलिक संस्कृतिको संरक्षण र विकासमा उल्लेख्य काम गर्न सकिन्छ । नेपालबाट कतिपय जडीबुटी लोप हुने अवस्थामा पुगेका छन्, यो चिन्ताको विषय हो । हामीले जडीबुटी उत्पादन, बजारीकरण, निर्यातमा आधारित रोजगारी सिर्जना गर्न सक्छाैं ।

हाम्रो हिमालको अल्काइन पानीलाई विश्व बजारमा लैजाने, युवामा उद्यमशीलता विकास गर्ने, उनीहरुलाई स्वरोजगार बनाउने, विदेशी कम्पनीलाई उद्योग सञ्चालनका लागि नेपालमा कानुनी आधार र उचित वातावरण तयार गर्ने, जापान अमेरिकाजस्ता विकसित देशमा हाम्रा उत्पादन बिक्री गर्दा दोहोरो कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नु आवश्यक छ । यस्तै, सडक सुरक्षा र यातायात प्रणालीमा सुधारजस्ता विषयमा उल्लेख्य ढंगले काम गर्न सकिन्छ ।

४.यीबाहेक थप एजेन्डा के–के छन् ?

पुरानो शहरको संरक्षण गरी नयाँ शहर निर्माण मेरो प्राथमिकता हो । जावलाखेलको साँघुरो चिडियाखानामा जनावर राखिएका छन् । राणाकालमा त्यो स्वाभाविक पनि थियो । तर, अब त्यसमा पुनर्विचार गर्नुपर्छ । अहिले विश्वभर खुला चिडियाखानाको अवधारणा विकास भएको छ र त्यहीअनुरुप चिडियाखाना पनि बनिरहेका छन्, चलेका छन् । जनावरलाई सकेसम्म खुला ठाउँमा राख्नुपर्छ, उनीहरुलाई माया गर्नुपर्छ, उचित हेरचाह गर्नुपर्छ । यो मानवीय विषय पनि हो । त्यसैले उनीहरुको उचित व्यवस्थापनका लागि हामीले उपयुक्त ठाउँमा खुला चिडियाखाना बनाउनुपर्छ ।

अर्कोतिर, नेपालका अमूर्त सम्पदाको संरक्षणमा उल्लेख्य काम भएको छैन । यसलाई इन्टेन्जिवल कल्चरल हेरिटेजमा दर्ता गर्नुपर्छ । हाम्रो जीवन शैली, परम्परा विश्वका लागि अध्ययन र अनुकरणको उपयुक्त विषय हो । खाने कुरामा आफ्नै शैली, मौसमअनुसारको गीत–संगीत, मन्दिर, सबै जातजातिको गुठी, भजनखल, पुचः सबैको यथोचित विकास गर्नु हाम्रो दायित्व हो । सदियाैं पुराना ढुंगेधारा र त्यसको संवद्र्धन र विकासका लागि काम गर्नुपर्छ ।

तपाईंले जुन एजेन्डा अघि सार्नुभएको छ, त्यसको आधारमा जित निकाल्छु भन्ने लाग्छ त ?

एक कुशल नेता भनेकै थोरै बोल्ने र धेरै काम गर्ने हो । नेताले बोलेका कुरालाई पूरा गर्न सकेन भने त्यसको कुनै अर्थ रहँदैन । कुनै पनि विषयमा प्रभावकारी काम गर्न जनताको समस्यालाई सुनेर अनुसन्धनात्मक रूपले समाधान गर्न लाग्नुपर्छ । ठूल्ठूलो स्वरमा देशका लागि यस्तो गर्छु, उस्तो गर्छु भनेर भाषण गर्ने तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्नेे परिपाटीको अन्त हुनुपर्छ । म भाषण गरेर हिँड्नुभन्दा पनि मुलुकको आवश्यकता पहिचान गरी कामको माध्यमबाट आफूलाई प्रमाणित गर्न चाहन्छु ।

म यहींको माटोमा जन्मेहुर्केको मान्छे हुँ । जनताले के–कस्ता कुराको माग अनि अपेक्षा गर्छन् भन्ने कुरा बुझेर काम गर्नु मेरो पहिलो दायित्व हुनेछ । म राजनीतिकर्मी साथै एक उद्यमी र समाजसेवी समेत भएकाले अनुसन्धान गरेर नै कामको निर्णय लिनेछु । मेरो विगत र भविष्यका योजनाबारे आम मतदाता राम्रोसँग परिचित हुनुहुन्छ । उहाँहरुले उपयुक्त निर्णय गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । आम मतदाताको विश्वास नै मेरो जितको आधार हो ।

हामीकहाँ सूचना प्रविधिको क्षेत्रमा काम गर्न एउटा आईटी पार्कको आवश्यकता छ । जहाँ सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा स्थापित कम्पनीहरुको शाखा राख्न सकियोस् । त्यहाँ सूचना प्रविधिसँग सम्बन्धित सबै कुरा उपलब्ध हुन सकोस् । यस्तो पार्क शहरी क्षेत्रमै राख्नुपर्छ । बाहिरबाट आउनेहरु, विदेशी पनि यसका लागि धेरै टाढा जानुपर्ने अवस्थाको अन्थ्य गर्नुपर्छ । ललितपुर महानगरभित्रै जग्गा व्यवस्था गरेर त्यस्तो पार्क निर्माण गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्