अपूर्ण कार्य पूरा गर्न पाण्डेको पुनः उम्मेदवारी



केशव पाण्डे: नेकपा एमाले, नुवाकोटक्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार

नेकपा एमाले वागमती प्रदेश कमिटीका इन्र्चाज हुनुहुन्छ केशव पाण्डे । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका उहाँ यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । सिंगो वागमती प्रदेश र नुवाकोटलाई कसरी सम्वृद्ध बनाउन सकिन्छ भन्ने योजना लिएर अघि बढेका पाण्डेले नुवाकोटलाई साँच्चिकै नुवाकोट बनाउनका लागि विभिन्न योजना अघि सार्नुभएको थियो । उहाँले अघि सारेका कतिपय योजना सम्पन्न भएका छन् भने कतिपय योजना सञ्चालनमा रहेका छन् । जिल्लाको विकासका लागि अधिकांश समय जनतासँग नै रहेका पाण्डेले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनमा नुवाकोटको क्षेत्र नम्बर २ को ‘क’ प्रदेशबाट उम्मेदवारी दिनुभएको छ । यसै सन्दर्भमा नेपाल समाचारपत्रकर्मी दीपक रिजालले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंको उम्मेदवारी केका लागि ?

मैले यसअघि पनि प्रदेशसभा निर्वाचन जितेको थिएँ । त्यति बेला मैले गरेको प्रतिबद्धतालाई पूरा गर्न पनि मेरो उम्मेदवारी हो, यसपटक । हामीले यसअघि शुरु गरेका अभियानलाई पूरा गर्नु छ । पूर्वाधारको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा शिक्षा, खानेपानी सिँचाइको क्षेत्रमा धेरै कार्यक्रम सञ्चालन भएका छन् । ती कार्यक्रम सम्पन्न गर्नुपर्ने छ । हामीले शुरु गरेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ भन्ने अभियानलाई पूरा गर्र्नु छ ।

त्यसका निम्ति फेरि पनि नुवाकोटबाट उम्मेदवारी दिएको हो । प्रदेशमा हामीले नेतृत्व गर्दा वागमती प्रदेशलाई कसरी अघि बढाउने भन्ने गुरु योजना तयार पारेका छौं । हामीले त्यस बेला ५ वर्षे र १० वर्षे योजना तयार पारेका थियौं । त्यसमा यो सिंगो प्रदेशमा कसरी जान सकिन्छ भनेर योजना बनाएका थियांै । यो प्रदेशलाई कसरी समुन्नत बनाउन सकिन्छ भनेर गुरु योजना तयार पारेका छौं । हामीले यो प्रदेशलाई यातायातको क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ भनेर योजना बनाएका छौं । हामीले यो प्रदेशमा कहाँ–कहाँ सुरुङमार्ग बनाउन सकिन्छ भनेर टिम बनाएका छौं । निर्माणकार्यमा सधैं ठेक्कापट्टा लाग्ने तर काम नहुने भएपछि प्रदेश निर्माण पद्धति ल्याउनुपर्दछ भनेर शुरुआत गरेका छौं ।

हामीले यस प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि जुगल हिमालदेखि गौरीशंकर हिमालसम्मको पदयात्रालाई व्यवस्थित गर्ने भनेर काम अगाडि बढाएका छौं । नेपाल एकीकरण गर्न पृथ्वीनारायण शाहले गोरखाबाट नुवाकोट प्रवेश गर्दै मकवानपुरगढी हुँदै अन्य क्षेत्रमा गएर एकीकरण अभियान चलाएकाले ती क्षेत्रको संरक्षणका लागि पनि हामीले अभियान चलाएका छौं । अबको मेरो उम्मेदवारी भनेको हिजो शुरु भएका योजना सम्पन्न गर्ने र वागमतीलाई सात प्रदेशमध्ये उत्कृष्ट बनाउने भन्ने नै हो ।

हिजो बन्द भएका उद्योग, कलकारखानालाई पुनर्जाग्रित बनाउने अभियानलाई अगाडि बढाउने र एकीकृत बस्तीलाई हस्तान्तरण गर्ने काम शुरु भएको र त्यसलाई अझै परिस्कृत रूपमा अगाडि बढाउने योजना बनाएका छौं । एकीकृत कृषि कार्यक्रमको शुरुआत गरेका छौं । त्यसलाई अझै मजबुत बनाएर नेपाललाई आत्मनिर्भर बनाउने योजनालाई निरन्तरता दिने तयारी गरेका छौं । यसका लागि नै हो मेरो उम्मेदवारी । हामीले अघि सारेको साना किसान भएका ठाउँमा सरकार पुग्ने कार्यक्रमलाई निरन्तरता दिनु छ ।

२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिने कार्यक्रमलाई अझै परिस्कृत गर्ने र सहकारीमार्फत ऋण दिने कार्यक्रमलाई निरन्तरता दिनु छ । विदेशबाट फर्केकाका लागि फेरि जानबाट रोक्ने गरी युवा स्वोरोजगार कार्यक्रम सञ्चालन गरेका छां,ै त्यसलाई पूर्णता दिन जरुरी छ । हिजो पनि प्रदेश सरकारको विभिन्न पदमा बसेर काम गरेकाले पनि मेरो उम्मेदवारी ती योजना पुरा गर्नका लागि हो ।

अहिले मुलुकभर पाँचदलीय गठबन्धन छ । जित्ने आधारचाहिँ के हो त ?

२०७४ सालको निर्वाचनमा जनतासँग २ वटा कुराको प्रतिबद्धता गरेको थिएँ । म निर्वाचित भएर गएपछि मेरो सरकार र सदनको काम परेका बेला बाहेक अन्य समय मेरो निर्वाचन क्षेत्रमा जनतासगै बिताउँछु भनेको थिएँ । मैले त्यसलाई पूरा गर्न निरन्तर रूपमा जनतासँग नै रहने काम गरें ।

अर्को कुरा मैले अर्कोपटक पार्टीले उम्मेदवार बनाएन भने पनि अर्को उम्मेदवारलाई जिताउने आधारहरु बोकेर आउँछु भनेको थिए । तपाईंहरुले भोट हाले जिताएर पठाएको उम्मेदवारले औंला ठड्याउने काम गर्ने छैन भनेको थिएँ । हिजो जनतासँग जे प्रतिबद्धता गरेको थिएँ त्यही आधार लिएर जनतामा गएको छु । जनताका हरेक सुख–दुःखमा निरन्तर रूपमा संलग्न रहँदै आएको छु । मैले मेरो व्यक्तिगत र पार्टीको विषयमा औंला उठाउने गरी काम गरेको छु । यही नै हो मेरो जित्ने आधार ।

राजनीतिप्रति जनमानसमा वितृष्णा फैलिरहेको अवस्था छ । त्यो वितृष्णा चिर्न केही योजना बनाउनुभएको छ ?

त्यो प्रस्टै छ, हिजो जो निरङ्कुशताका विरुद्ध लागेनन् । हिजो जो जागिर खाएर बसे, कमाउधन्दामा लागे । हिजो मुलुकको सम्वृद्धि र विकास निर्माणका बारेमा बोलेका छैनन् । ती मान्छेहरु राजनीतिक पार्टीका विरुद्धमा लागेका छन् । यो मुलुकमा कसले ल्याइदिएको हो गणतन्त्र ।

हामी जस्ता मान्छे वर्षा जेल बसेर आएका छन् । हिजो पञ्चायतकालमा प्रजातन्त्रका लागि लामो समय जेल बसेर आए । यो देशमा प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि त्यही मान्छे र दलका नेता तथा कार्यकर्ता लागेका होइनन ? आज गणतन्त्रका विरोध गर्नेहरु हिजो कहाँ थिए, के गर्दै थिए । यो त छर्लङ्ग नै छ नि । आज देशको सम्वृद्धिको अभियान शुरुआत कसले गरेको हो ? अनि दलप्रति वितृष्णा फैलाएर के गर्न खोजिँदै छ । त्यो जनताले पनि राम्रोसँग बुझेका छन् । राजनीतिक पार्टीका विरुद्धमा लागेर केही हुनेवाला छैन । राजनीति र विचारले नै देश हाँक्ने हो । त्यो राजनीति र विचारलाई हामीले समेटेर जानुपर्दछ । हाम्रो संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्था हो । समाजवादमा पुग्ने आधारहरु के–के हुन् त । त्यो आधार कुन पार्टीले अघि सारेको छ । त्यो हेर्ने हो भने समाजवादमा पुग्नका लागि नेकपा एमालेले आफ्नो स्पष्ट भिजन ल्याएको छ ।
मुलुकलाई अघि बढाउन नेकपा एमालेले अघि सारेको भिजन अरू कुनै पार्टीेले ल्याउन सकेका छैनन् । पार्टीको विकल्प खोज्नु भनेको पानीको भुल्का जस्तै हो, जो एकपटक यसो देखा पर्दछ, त्यसपछि आफैं विलीन भएर जान्छ । यो मुलुक चलाउने भनेको दलहरुले नै हो । यहाँ क–कसले के भन्छ भनेर त्यसको पछि लाग्नुको कुनै तुक छैन ।

अन्त्यमा केही भन्नु छ ?

म वागमती प्रदेशको नेकपा एमालेको इन्र्चाज भएकाले सिंगो प्रदेशको विकासका लागि एमालेले अघि सारेका कार्यक्रमलाई पूरा गराउनुपर्ने भएकाले त्यसलाई पूरा गर्न पनि जनतालाई यसपटकको निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु । नेकपा एमालेको सरकारले ल्याएका योजनाहरु पछिल्लो समयमा आएर कटौती भएको छ । त्यसलाई पूरा गर्न पनि वागमती प्रदेशमा नेकपा एमालेको सरकार चाहिएको छ । म जनतालाई विनम्रताका साथ भन्छु– यसपटकको संघीय तथा प्रदेश निर्वाचनमा विगतमा घोषणा भएका तर पूरा गर्न नसकिएका कामलाई पूरा गर्न पनि एमालेलाई जिताउन आग्रह गर्दछु ।

१-हिजो शुरू भएका योजना सम्पन्न गर्न र वागमतीलाई सात प्रदेशमध्ये उत्कृष्ट बनाउन नै मैले पुनः उम्मेदवारी दिएको हुँ ।

२-पार्टीको विकल्प खोज्नु भनेको पानीको भुल्का जस्तै हो, जो एकपटक यसो देखा पर्दछ, त्यसपछि आफैं विलीन भएर जान्छ । यो मुलुक चलाउने भनेको दलहरुले नै हो । यहाँ क–कसले के भन्छन् भनेर पछि लाग्नुको कुनै तुक छैन ।

प्रतिक्रिया दिनुहोस्