‘गठबन्धनले हामीलाई अपमान ग-यो’



मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न दल गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । अधिकांश स्थानमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धन गरेर चुनाव सहभागी भएका छन् ।

उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म रामेछापको माहोल पनि यस्तै रहनेमा रामेछापका मतदाताहरू ढुक्क थिए । तर, रामेछापमा नेकपा (एस)ले गठबन्धनविरुद्ध उम्मेदवारी दर्ता गरेपछि गठबन्धन दलहरू बीचको असन्तुष्टि बाहिरिएको थियो । रामेछापमा नेकपा (एस) ले प्रतिनिधिसभाका लागि देवशंकर पौडेल, प्रदेशसभा ‘क’ का लागि रमेशकुमार बस्नेत र ‘ख’ का लागि झम्कबहादुर कँडेलको उम्मेदवारी दर्ता गराएको थियो ।

गठबन्धनको दलको निर्णय तथा नेकपा (एसको सकुलरअनुसार अन्तरिक रूपमा प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को उम्मेदवारी निस्क्रिय गराएको थियो । भने प्रदेशसभा ‘क’ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । तर पनी कानुनीरूपमा उनीहरूको उम्मेदवारी कायमै छ ।यसै बारेमा नेकपा (एस) रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतसँग नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका लागि रामेछाप जिल्ला संवाददाता शंकर बरुवालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

रामेछापमा नेकपा (एस) गठबन्धनबाहिर छ, किन होला ?

नेकपा (एस) रामेछापले गठबन्धनभित्र एउटा निर्वाचनको क्षेत्रको टिकट दाबी गरेको थियो । अन्तिम घडीमा माओवादी केन्द्रका साथीहरूले पाएको प्रतिनिधिसभाको टिकट फिर्ता गर्नुभयो र कांग्रेसलाई दिएर आफूहरूलाई प्रदेशसभाका दुवै सिट दिन माथिल्लो निकायमा दबाब दिनुभयो । त्यसै गरी, संघमा नेपाली कांग्रेसले लिए माओवादीले प्रदेशका दुवै सिटको टिकट लिने गरी उहाँहरूको छलफल भयो ।

उहाँहरूले गठबन्धन र संविधानको रक्षा गर्न आफ्नो पार्टी नेकपा एमालेभित्र विद्रोह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी नेकपा (एस)लाई नजरअन्दाज गर्नुभयो । त्यस कारण उहाँहरूको मात्र गठबन्धन भयो । त्यो अपमानपूर्ण गठबन्धनविरुद्ध नेकपा एस रामेछापले आफ्नो उम्मेदवारी दिएको हो ।

रामेछापमा सन्दर्भमा प्रदेशसभा ‘क’ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । आफ्नो मतको रक्षाका लागि हामी प्रतिस्पर्धामा छौं । गठबन्धनको निर्णयअनुसार हामीले प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को उम्मेदवारी भने पार्टीले निस्क्रिय गराएको छ ।

एकतिर गठबन्धन अर्कोतिर एमाले, यिनीहरूलाई उछिन्दै तपाई विजय हुने आधार के हो ?

पहिलो कुरा रामेछापमा गठबन्धनभित्र तीव्र असन्तुष्टि छ । गठबन्धनभित्र रहेका उम्मेदवारहरु हिजो संसद् र अन्य पदमा रहेका साथीहरू हुनुहुन्छ । उहाँहरूप्रति पनि जनताको तीव्र असन्तुष्टि छ ।जिल्ला विकास समिति र मन्थली नगरपालिकाको प्रमुखका रूपमा रहँदा गरेको कामका कारण मैले जनताको उच्च सम्मान प्राप्त गरेको छु । एमालेका उम्मेदवार, माओवादी केन्द्र र कांग्रेस गठबन्धनका उम्मेदवारप्रति रामिछापेली जनता सन्तुष्ट नरहेका कारण यो निर्वाचनमा विजय हासिल गर्छाैं भन्ने हामीलाइृ दृढ विश्वास छ ।

तपाईँहरूको उम्मेदवारीप्रति रामिछापेली जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

गठबन्धनको भावन अनुसार गठबन्धन नभएका कारण हामीलाई सबैले आशावादी नजरले हेर्नुभएको छ । हामी कसैलाई पनि गाली नगरी चुनावी प्रचारमा लागेका छौं । हामी मित्रतापूण प्रतिस्पर्थामा छौं । हामीले जनतालाई राम्रो र योग्य उम्मेदवारलाई मतदान गर्नुहोस् भनेका छौं । अहिलेसम्म हामीले लिखुतामाकोशी र गोकुलगंगा गाउँपालिकामा प्रचार–प्रसार सकेर उमाकुण्ड गाउँपालिकामा शुरु गरेका छौं । हामी पुगेको ठाउँमा उत्साहजनक प्रतिक्रिया पाएका छौं ।

तपाईं निर्वाचित हुनुभयो भने ५ वर्षमा रामेछाप कस्तो बनाउने योजना छ ?

हामीले धेरै नचाहिने कुरा गरेका छैनौं । रामेछापको दिगो विकास अवधारण ल्याएका छांै । पूर्वाधारमा लिखु कोरिडोर, खिम्ती कोरिडोर र सेलेघाटदेखि सालु, धोबी, भित्रिखानी हुँदै बाम्ती गुम्देलसम्मको सडकलाई पहिलो प्राथमिकतामा राखेका छौं । सामुदायिक शिक्षाका लागि अर्को महत्वपूर्ण एजेन्डा अघि सारेका छौं । जनताको स्वास्थ्य सुविधाका हामीले रामेछापको बम्ती र धोबीमा सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ भनेका छौं । उपचारका लागि काठमाडौं जानुपर्ने परिपाटिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो एजेन्डा रहेको छ । स्थानीयस्तरमै रोजगारीको सिर्जना गरेर जनताको आर्थिक समृद्धिसहित नेपाललाई मध्य आय भएको मुलुक बनाउनका लागि हामीले विभिन्न एजेन्डा अघि सारेका छौं ।

नेकपा माले, राजवादी, माओवादी केन्द्र, एमाले हुँदै अहिले तपाईं यहाँसम्म आइपुग्नुभएको छ । तपार्ईं अवसरवादी हो कि क्रान्तिकारी ?

मैले विभन्न कम्युनिस्ट पार्टीहरूको घटकमा बसेर काम गरेको छु । ‘सुखी नेपाली समृद्ध नेपाल’को निर्माण गर्ने जुन सपना हामीले बोकेका थियौं । ती सोचहरूलाई कार्यान्वयन गर्नका निम्ति मैले विभिन्न समयमा संगठनभित्र आन्तरिक विद्रोह गरेको मात्र हो ।

-गठबन्धन र संविधानको रक्षा गर्न आफ्नो पार्टी नेकपा एमालेभित्र विद्रोह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी नेकपा (एस) माथि नजरअन्दाज भयो । त्यस कारण उहाँहरूको मात्र गठबन्धन भयो । त्यो अपमानपूर्ण गठबन्धनविरुद्ध हामीले रामेछापमा आफ्नो उम्मेदवारी दिएको हौं ।

-पूर्वाधारमा लिखु कोरिडोर, खिम्ती कोरिडोर र सेलेघाटदेखि सालु, धोबी, भित्रिखानी हुँदै बाम्ती गुम्देलसम्मको सडकलाई पहिलो प्राथमिकतामा राखेका छौं । सामुदायिक शिक्षाका लागि अर्को महत्वपूर्ण एजेन्डा अघि सारेका छौं । जनताको स्वास्थ्य सुविधाका हामीले रामेछापको बम्ती र धोबीमा सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ भनेका छौं ।

प्रतिक्रिया दिनुहोस्