मतदाता आकर्षित गर्न उम्मेदवारहरू नै हानाथापमा



हेटौंडा । 

निर्वाचन नजिकिएसँगै गाउँ पसेका मकवानपुरका उम्मेदवारहरुले मतदातालाई आकर्षित गर्न थरिथरिका प्रतिबद्धता अगाडि सारेका छन् । कतिपय सभाहरुमा त पक्ष र विपक्षबीच चर्को व्यङ्ग्य पनि सुनिएका छन् ।

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार तथा एमाले वागमती प्रदेश उपसचिव महेशकुमार बर्तौलाले मकवानपुरको घर्तीखोलाबाट, डाँडाबासहुँदै डाँडाखर्क, भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–१, डाँडाखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सोही सडक खण्डको गोगने–कालीकाटार खण्ड जोड्ने सडक पनि स्तरोन्नति गरिने बताउनुभयो । कैलाश क्षेत्रमा माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा वर्षाका कारण समस्या रहेको बताउँदै उहाँले पालिकास्तरीय एक आवासीय विद्यालय निर्माण गरिने बताउनुभएको छ ।

मन्त्रीका लागि आफ्नै घरमा आगो

कैलाश गाउँपालिका–५, गोगनेमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता बर्तौलाले एक थान मन्त्रीका लागि आफ्नै घरमा आगो लगाउनेहरुबाट विश्वास गर्न नसकिने टिप्पणी गर्नुभयो । प्रतिस्पर्धी विरोध खतिवडाप्रति कटक्ष गर्दै उहाँले भन्नुभयो– ‘मान्छेहरु कति स्वार्थी र पदको लोभी हुन्छन् भन्ने उदाहरण यहाँकै निवर्तमान सांसदको छ । उहाँले एकथान मन्त्री पाउने आशमा आफ्नै घरमा आगो लगाउनुभयो । अब यहाँका जनताले उहाँबाट के आश गर्ने ?’

आफू एकथान सांसद्को फुली लगाउनमात्र उम्मेदवार नबनेको भन्दै बर्तौलाले आफ्नो उम्मेदवारी जनताको सेवाका लागि भएको बताउनुभयो । उहाँले २०औं वर्षबाट यहाँ जितेकाहरुले जनतालाई आशमात्र देखाएर हिँडेकाले यसपटक युवालाई विश्वास गर्न अनुरोध गर्नुभयो । आफू निर्वाचित भए देशभरका सबै स्थानीय तहमा कम्तीमा २ सय जना अट्ने छात्रावास निर्माण गरिने बर्तौलाको कथन छ ।

जनताले अब परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने भन्दै उहाँले मकवानपुर–२ को विकासका लागि एमालेको विकल्प नरहेको भनाइ राख्नुभयो । आफू युवामात्र नभएको र गणतन्त्रका लागि जेल गएको व्यक्तिसमेत भएकाले अबको राजनीतिमा युवाको हस्तक्षेप जरुरी रहेको उहाँको दाबी छ ।कार्यक्रममा एमालेका क्षेत्र नम्बर २ को ‘ख’ का उम्मेदवार लालबहादुर थापाले एमालेले निर्वाचन जितेपछि हाल पाउँदै गरेको ४ हजार सामाजिक सुरक्षाभत्ता बढाएर ५ हजार पु¥याइने बताउनुभयो । ‘सुखी नेपाली–समृद्ध नेपाल’ निर्माण गर्न भूमिका खेल्ने उहाँको कथन छ ।

एमालेको झुटको खेती

उता, नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र–२ ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसीएल र नेकपा (एकीकृत समाजवादी) को युथफोर्सको मनहरीको रजैयामा भएको संयुक्त भेलामा नेता बानियाँले मुलुकको व्यवस्था परिवर्तन भइसकेको र अब युवाको नेतृत्वमा विकास निर्माण र जनताको अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताउँदै केपी ओली नेतृत्वको एमालेले झुटको खेती र सपनामात्र बाँड्ने काम गरेको आरोप लगाउनुभयो ।

एमालेका युवाले सामाजिक सञ्जालमा भ्रामक र झुटको खेती गरेको बताउँदै नेता बानियाँले यस्ता झुट र भ्रामक कुरा फैलाउनेलाई सामाजिक सञ्जालबाटै सत्यतथ्य कुरा शान्तिपूर्ण तरिकाबाट चिर्न निर्देशन दिनुभएको थियो ।ओली नेतृत्वको एमालेले ४ वर्ष केन्द्र र प्रदेशको नेतृत्व गर्दा पानीजहाज, रेल र चुलोमा ग्यास ल्याउने जस्ता झुटो आश्वासन तथा भ्रष्टाचारमा लिप्त अनेकांै प्रमाण सार्वजनिक भएको बताउँदै नेता बानियाँले यस्तो भ्रामक प्रचारलाई चिर्न युवाको भूमिका प्रमुख हुने बताउनुभयो । लोकतान्त्रिक–वाम गठबन्धन हुँदाखानेलाई हुनेखाने बनाउने, हुनेखानेलाई गरिखाने बनाउने अभियानमा लागेकाले आममतदातामा गएर बुझाउन आग्रह गर्दै उम्मेदवार बानियाँले प्रत्येक मतदाताको घर–घरमा गएर मतदान शिक्षा दिनु जरुरी रहेको धारणा व्यक्त गर्नुभउको थियो ।

मिटरब्याजमा पैसा लगाउने उम्मेदवार

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका तर्फबाट उम्मेदवार दीपकबहादुर सिंहप्रति लक्षित गर्दै लोकतान्त्रिक–वाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले मिटरब्याजमा पैसा लगाउने केही उम्मेदवार भ्रष्टाचार गर्दिनँ भन्दै मत मागिरहेको भन्दै आश्चर्य लागेको बताउनुभएको छ ।हेटौंडा–८ मा भएको चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै उहाँले मिटरब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई रुवाउनेहरुले भ्रष्टाचार गर्दिनँ भन्नु हास्यास्पद भएको बताउनुभएको हो । ‘हामी घर–घरमा शिक्षा र सहकारीको अभियान लिएर सर्वसाधारणको आर्थिक अवस्था उकास्न लागिरहँदा यहाँ मिटरब्याजमा पैसा लगाउनेहरु भ्रष्टाचार गर्दिनँ भन्दै जनताको पुगिरहेका छन्’, उहाँले भन्नुभयो– ‘नेपालको परिवर्तन एवं लोकतन्त्र र गणतन्त्रका लागि लड्दै गर्दा बारुद बर्साउनेहरु पनि हाल हामीसँग चुनाव लड्न आइरहेका छन् । नेपाली जनताले अब सही र गलत छुट्याउने समय आएको छ ।’

विकास गर्न नसके राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका वरिष्ठ नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार राजन मैनालीले आफूलाई जनताले मत दिएर जिताएपछि ३ वर्षमा मकवानपुरको विकास गर्न नसके राजीनामा दिने बताउनुभएको छ ।हेटौंडा उपमहानगरपालिका–११ मा कार्यकर्ता परिचयात्मक कार्यक्रममा उहाँले सो बताउनुभएको हो । आफू स्वार्थका लागि राजनीतिमा नआएकाले यसपटक मत दिन मैनालीले मतदातालाई आग्रह पनि गर्नुभयो । मैनाली देशमा राजासहितको हिन्दू राज्य स्थापना, संघीयता खारेजी, गाँजालाई वैधानिकतालगायत एजेन्डासहित चुनावी अभियानमा हुनुहुन्छ ।

सबै पालिकामा समन्वय प्रतिनिधि

लोकतान्त्रिक–वाम गठबन्धन जिल्लास्तरीय निर्वाचन परिचालन एवं समन्वय समिति मकवानपुरले निर्वाचन केन्द्रित चुनाव प्रचार–प्रसारमा सहयोग पु-याउने उद्देश्यले सबै पालिकामा समन्वय प्रतिनिधि परिचालन गर्ने भएको छ ।समितिको आइतबार बसको बैठकले जिल्लाका १० वटै पालिका समन्वय प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला सदस्य एवं पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले बताउनुभयो । समन्वय समिति संयोजक एवं नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको सभाध्यक्षतामा बसेको बैठकले समन्वय प्रतिनिधि पठाउँदा गठबन्धनआवद्ध दलका जिल्लास्तरीय नेता पठाउने निर्णय पनि गरेको उहाँको कथन छ । बैठकले गठबन्धन दल आवद्ध दलहरुका उम्मेदवारहरुका तर्फबाट संयुक्त अपिल प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्