उमेदवारहरुको प्रतिबद्धता : ‘चुनाव लगत्तै पातीचौर–क्याङ सडक कालोपत्रे’



पर्वत।
आगामी संघीय संसदको प्रतिनिधीसभा तथा सात वटै प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् ।

नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदी गाउँपालिका वडा नं. ४ क्याङ र वडा नं. ५ बाजुङमा सम्पन्न भएको छ । क्याङको लेसपार, खुईजरी, क्याङ र बाजुङको पाखाथर र बाउसेमा चुनावी सभा र कोणसभा सम्पन्न भएको छ ।
स्थानीयवासीले एमाले उम्ेमदवारहरुसँग पातीचौर–बाजुङ– क्याङ सडक कालोपत्रेका लागि माग गरेका छन् । दुईवटै वडाका बासिन्दाले यो सडक खण्डको तत्काल कालोपत्रेका लागि प्रमुख माग राखेका छन् ।

त्यसैगरी युवाहरुले खेलमैदान, महिलाहरुले आयआर्जनका लागि सिपमुलक तालिम तथा विभिन्न बस्ती जोड्ने सडकको स्तोरन्नतीको माग समेत गरेका छन् ।

मतदाताहरुको मागलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य पदम गिरीले पातीचौरदेखि क्याङ लेसपार सम्मको सडक कालोपत्रेका लागि सर्वेक्षण भैसकेको र आरसिआईपी मार्फत योजना अघि बढेको बताउनुभयो ।

काँग्रेस नेतृत्वको सरकार आएपछि उक्त सडकको बजेट कटौती भएको बताउँदै आफूले निर्वाचन जितेर गएलगत्तै यसै वर्षदेखि सडक कालोपत्रेको काम सुचारु हुने प्रतिवद्धता उम्मेदवार गिरीको छ ।

विगत पाँच वर्षमा जिल्लामा १ सय ११८ किलोमिटर सडक कालोपत्रे गर्ने, ११ सय घरमा टिनको छाना हाल्ने लगायत चौतर्फि क्षेत्रमा कामहरु गरेको स्मरण गर्दै कतिपय योजनाहरु कोभिड–१९ का कारणले पूर्णता हुन नपाएको र कतिपय योजनाहरु पछिल्लो देउवा सरकारले बजेट कटौती गरिदिँदा रोकिएको बताउनुभयो ।

नेकपा एमालेको सरकार आएपछि दिन दोगुना रात चौगुनाको दरले विकास निर्माणका काम अघि बढ्ने उहाँको भनाई रहेको छ ।

त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले ग्रामीण क्षेत्रमा आवश्यक संरचनाहरुको निर्माण गरी पलायन भएका नागरिकलाई गाउँ फर्काउनका लागि आफूले विशेष योजनासहित अघि बढ्ने बताउनुभयो । तपाईहरुले जिताएर पठाउनुहोस्, मतदाताका सवै आवश्यकता र मागहरु एक एक गरी पूरा गर्नेछौँ । आफू भाषण भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले भोट दिएर नागरिकले सेवा दिन मौका दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्