ओली,सिटौलासहित २० उम्मेदवारले मतदान गर्न नपाउने



भद्रपुर ।

मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाबाट उम्मेदवार बन्नुभएका केपी ओली, कृष्णप्रसाद सिटौला,अग्नी खरेल लगायत २० जना उम्मेदवारले आफैलाइ मत हाल्न नपाउने हुनुभएको छ । झापाका ५ ओटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि १९२ मध्ये प्रतिनिधिसभा तर्फका २० जना उम्मेदवारले आफूलाइ नर्वाचन चिन्ह्मा मत दिन नपाउने हुनुभएको हो । उम्मेदवारको मतदाता नामावली जुन क्षेत्रमा छ त्यही क्षेत्रबाट मात्र मत खसाल्न पाउने निर्वाचन आयोगले नियम वनाएपछि झापाबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मत दिन नपाउने हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्क अनुसार राम सुफल कामती , महेन्द्र खायमली , रेशमा चेम्जुङ , त्रिनारायण राजवंशी, कृष्ण गोपाल छुस्यवाग, श्यामबहादुर लिम्बू , अकलबहादुर तामाङ् , राजकुमार तामाङ् लामा ,गजेन्द्र लिम्बू , नन्दराज राई ,मनोरथ राजवंशी , बिक्रम कासिछुवा, अग्नी खरेल ,कृष्णप्रसाद सिटौला , सानबहादुर मेचे , के.पी शर्मा ओली , दिपककुमार पाठक , राजन चुडाल , रामचन्द्र वानियाँ र दिलिप धिमालले आफुलाइ मतदान गर्न नपाउने हुनुभएको हो ।

उम्मेदवारको विवरण अनुसार झापा १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएका एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले आफुलाइ मतदान गर्न नपाउने हुनुभएको छ । खरेलको मतदाता नामावली क्षेत्र नम्बर २ मा रहेकोले उम्मेदवारी दिएको क्षेत्रबाट मतदान गर्न नपाउने हुनुभएको हो । क्षेत्र नम्बर २ बाट मङगोल नेसनल अर्गनाइजेशन नेपालका अकलबहादुर तामाङ् , २ बाट नै नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायमली , स्वतन्त्रका राजकुमार तामाङ् लामा ,जनता समाजवादी पार्टीका रामसुफल कामती , २ बाटै उम्मेदवार दिनुभएकी राष्ट्रिय सङ्घीय लोकतान्त्रिक मञ्चकी रेश्मा चेम्जुङ र लोकतान्त्रिक समाजवादीका त्रिनारायण राजवंशीले आफुलाइ मतदान गर्न पाउनु हुनेछैन ।

तामाङ्को नामावली क्षेत्र नम्बर १ मा छ भने खायमलीको मतदाता नामावली भक्तपुर ८ मा रहेको छ । त्यसैगरी तामाङ्ग लामाको मतदाता नामावली बुढानिलकण्ठ ११ काठमाडौँमा छ । यता लोकतान्त्रिक समाजवादीका राजवंशीको मतदाता नामावली क्षेत्र नम्बर ४ मा रहेकाले उम्मेदवारी दिएको क्षेत्रबाट मत दान गर्न नपाउने हुनुभएको हो । त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाल मजदुर किसान पार्टीका कृष्ण गोपाल छुसियावागको भक्तपुर ८ मा , राष्ट्रिय जनमुक्तिका गजेन्द्र लिम्बुको आठराई त्रिवेणी गाँउपालिका ५ ताप्लेजुङमा रहेको छ ।

क्षेत्र नम्बर ३ बाट उम्मेदवार दिनुभएका मङगोल नेसनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बुको झापा १ मा नामावली रहेको छ भने सत्तारुढ दल तथा नेपाली काँङ्ग्रेस गठबन्धनबाट उम्मेदवारी दिनुभएका कृष्णप्रसाद सिटौलाले पनि आफुलाइ मतदान गर्न पाउनु हुनेछैन । नेता सिटौलाको मतदाता नामावली क्षेत्र नम्बर १ भद्रपुर १० मा रहेको छ । त्यस्तै मनोरथ राजवंशीको क्षेत्र नम्बर २ मा नामावली रहेको छ । राजवंशीले प्रतिनिधिसभा सदस्य पदका लागि क्षेत्र नम्बर ३ बाट स्वतन्त्रको तर्र्फबाट उम्मेदवारी दिनुभएको छ ।

उता क्षेत्र नम्बर ४ बाट उम्मेदवार दिनुभएका मंगोल नेसनल अर्गनाइजेसनका दिलिप धिमालको क्षेत्र नम्बर १ मा , स्वतन्त्रबाट उम्मेदवारी दिनुुभएका नन्दराज राईको ईटहरी उपमहानगरपालिका २ सुनसरी र नेपाल मजदुर किसान पार्टीका विक्रम कासीछुवाको भक्तपुर नगरपालिका ९ मा नामावली रहेकोले उहाँहरु पनि उम्मेदवार दिएको निर्वाचन क्षेत्रबाट मतदान गर्नबाट बञ्चित हुनुभएको छ ।

यता एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलीको सुर्य विनायक नगरपालिका २ भक्तपुरमा नामावली रहेको छ । ओलीले प्रतिनिधिसभा सदस्य पदका लागि क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ । ओलीले आफ्नो मत आफुलाई दिन पाउनुहुने छैन ।

त्यसैगरी स्वतन्त्रबाट उम्मेदवार दिनुभएका दिपककुमार पाठकको नागार्जुन नगरपालिका ५ काठमाडाँैमा नामावली रहेको छ भने उहाँले क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । ५ बाट नै नेसनलिस्ट पिपल्स पार्टीका राजन चुुडालले पनि आफुलाइ मतदान गर्न पाउनु हुने छैन । चुडालको झापा २ मा नामावली रहेको छ ।

झापा नेसनलिस्ट पिपल्स पार्टीका रामचन्द्र वानियाँको पनि क्षेत्र नम्बर २ मा नामावली रहेको छ । उहाँले क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ । सानबहादुर मेचेको क्षेत्र नम्बर १ मा नामावली छ भने उहाँले क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी दिनुभएको छ ।

झापामा पुरुष ३ लाख ३१ हजार ४४ , महिला मतदाता ३ लाख ३२ हजार २ सय ५९ र ९ जना तेस्रो लिङ्गी गरी जम्मा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो ।

जिल्लाका १५ ओटा स्थानीय तहमा रहेका २ ओटा अस्थायी मतदान स्थलसहित २ सय ८७ ओटा निर्वाचन स्थलमध्ये ९५ ओटा मतदानस्थललाई अति सम्वेदनशील, १ सय ४४ ओटा मतदानस्थललाई सम्वेदनशील र ४६ ओटा मतदान स्थललाई सामान्य गरेर वर्गीकरण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । त्यसैगरी मतदान केन्द्र तर्फ सामान्य १ सय १४, सम्वेदनशील ३ सय ८१ र अति सम्वेदनशील २ सय ७१ ओटा रहेका छन् । अस्थायी मतदान स्थलमा मेची रङ्गशाला भद्रपुर र झापा कारागार तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्