एमाले अब उत्पादन संघर्षमा : पूर्वमन्त्री बास्कोटा



काभ्रे।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले मुलुकको सम्वृद्धिका लागि नेकपा एमालेले उत्पादन संर्घष आगामी निर्वाचन पछि बन्ने एमाले नेतृत्वको सरकारले शुरु गर्ने बताउनु भएको छ ।

नेकपा एमाले धुलिखेल नगर कमिटीको आयोजनामा आयोजित नगर स्तरीय कार्यकर्ता भेला तथा चुनावी तयारी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार समेत रहेका बास्कोटाले देशको सम्वृद्धिका लागि नेकपा एमालेका उम्मेदवार र नेकपा एमालेको निर्वाचन चिन्हमा मतवृद्धि गर्न आब्हान गर्नु भयो । ‘गठवन्धन देशको सम्वृद्धि र विकासका लागि गठन भएको होईन, यो त केवल नेकपा एमालेलाई पराजय गरेर सत्तामा पुग्ने उदेश्य मात्रै हो’–पोलिटब्यूरो सदस्य बास्कोटाले भन्नुभयो–‘गठवन्धनले एमालेको पक्षमा उर्लिएको भेल छेक्न सक्दैन । ‘राष्ट्रियताको पक्षमा एमाले अजिंगारको पहाड हो’– बास्कोटाले भन्नुभयो–‘गंगटो जस्तो गठवन्धनले मुलुकको हित गर्दैन । भारतले तुईन काटेर नेपाली युवा मारिँदा, विस्फोटक पदार्थ पड्काएर बालक मारिँदा चुँ समेत नगर्ने गठवन्धन सरकार र दलहरु नेपालको हितमा छैनन ।’

बास्कोटाले पटक पटक सत्ता निकट गठवन्धन दलका उम्मेदवार तथा कार्यकर्ताहरुले बिना आधार प्रमाणित हुन नसकेको विषयमा आरोप लगाउँदै बद्ख्वाई गरेको भन्दै अप्रमाणीत विषयलाई उचालेर निर्वाचन जित्ने सपना नदेख्न चेतावनी दिनु भएको छ । ‘मेरो अप्रमाणीत विषयलाई उछाल्नु अघि उम्मेदवारी दर्ताको समयमा उजुरी किन नगरेको ?’–बास्कोटाले भन्नुभयो–‘पार्टी कार्यकर्ताको लेबी उठाएर हिनामिना गरेको उजुरी सार्वजनिक भएको दिन कार्यकर्ताबाटै लखेटिने अवस्था आउन नदिन प्रमाण नभएका विषयमा नबोल्न अनुरोध गर्दछु ।’

पोलिटब्यूरो सदस्य बास्कोटाले काँग्रेसका पछि लागेर कम्युनिष्ट पार्टीहरुले समाजबाद ल्याउने नारा काशि जाने कुत्तिको बाटो भएको बताउनु भयो । ‘प्रचण्ड गोर्खा निर्वाचन क्षेत्रमा पुगेर रिल्याक्स महसुस गरिरहनु भएको छ । अर्काे पटक काशि गएर शान्ति प्राप्ती गर्नु हुन्छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘प्रचण्ड र माधव नेपालले कम्युनिष्ट आन्दोलनको विर्सजन गरेका छन् । पार्टी फुटाँउदा लगेको सिट समेत गुमाएर गठवन्धन गरेकाले नेकपा एस र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी ठुलो बनाउन नभई विर्सजन गर्ने बाटोमा लागेका छन् ।’

कार्यक्रममा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार रेशम लामा, प्रदेश सभाका उम्मेदवारहरु चन्द्र लामा, कुमार खकुरेल, समानुपातिक उम्मेदवार रुकमणी रसाईली, एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु, धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत, उपाध्यक्ष निरोज खड्का, सचिव विष्णु धिताल लगायतले आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत तयार गर्न सबै कार्यकर्ताहरु खटिन निर्देशन दिएका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्