आत्मीयता बढाउने तिहार, यस्तो छ पूजा विधि



काठमाडाैं  ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट भइ सम्बन्धमा आएको चिसोपन हटाएर मिलन गराउने पर्वका रूपमा लिइन्छ। अर्कातिर दाजुभाइ दिदीबहिनीबीचको सम्बन्धलाई अझ दीगो बनाउने माध्यमका रूपमा लिइन्छ।

यमपञ्चकको पाँचौं दिन पर्छ भाइटीका। दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको पान(सुपारी आदि दिएर भाइटीकाको निम्ता दिन्छन्। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान, विभीषण, पर्शुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो र सयपत्रीको माला चाहिन्छ। त्यसैगरि रोटी र मीठा-मीठा परिकार पनि तयार गरिन्छ। सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्